विशेष महाधिवेशनमा सँगै जान कोइराला र थापा सहमत 

कोइरालाको विशालनगरस्थित सम्पर्क कार्यालयमा भएको छलफलमा विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने अगुवा नेताहरु गुरु घिमिरे, देवराज चालिसेसहितका नेताहरुको उपस्थिति थियो ।

मंसिर २, २०८२

कुलचन्द्र न्यौपाने

Koirala and Thapa agree to attend special general convention together

What you should know

काठमाडौँ — कांग्रेस नेता शेखर कोइराला र महामन्त्री गगन थापा विशेष महाधिवेशनकै पक्षमा उभिने भएका छन् । निर्वाचन अगाडि नियमित महाधिवेशनको तालिका ल्याउन दबाव दिँदै आएका तर विशेष महाधिवेशनको पक्षमा खुलेका थिएनन् । मंगलबार कोइराला र थापाबीच यस विषयमा लामो छलफल भएको थियो । 

कोइरालाको विशालनगरस्थित सम्पर्क कार्यालयमा भएको छलफलमा विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने अगुवा नेताहरु गुरु घिमिरे, देवराज चालिसेसहितका नेताहरुको उपस्थिति थियो । 

‘महाधिवेशनको मुद्दामा कोइराला र महामन्त्री थापाबीच एउटै एजेन्डाका साथ अघि बढ्ने समझदारी भएको छ । दुई नेताबीच अब किन्त, परन्तु कुनै पनि रुपमा फरक धारणा छैन,’ बैठकमा सहभागी नेता चालिसेले बताए । 

कोइरालाले मुख्य रुपमा दुई सरोकार त्यस अवसरमा राखेका छन् । पुस मसान्तभित्रै नियमित महाधिवेशन गर्ने अठोटसहित संस्थापनपक्ष तयार भएर कार्यतालिकाको प्रस्ताव गर्न तयार भएमा त्यसैमा जानुपर्ने सुझाव उनको छ । अर्को नियमित महाधिवेशन नगर्ने तालिका मात्रै ल्याउन खोज्ने अवस्था विद्यमान रहेमा विशेष महाधिवेशन निर्विकल्प हुने उनको भनाइ थियो । 

विशेष महाधिवेशन बोलाउँदा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर प्रमाणीकरण गर्ने काम नगरी केन्द्रीय कार्यसमिति आफैंले बोलाउने निर्णय लिनुपर्नेमा दिशामा जोड दिनुपर्ने बताएका थिए । ‘नियमित नगर्ने हो भने विशेष गरेर भए पनि निर्वाचन अगाडि महाधिवेशन गर्नुपर्छ भन्नेमा मात्रै होइन, संस्थापनपक्षले त्यसका लागि अवरोध गरेमा कसरी अघि बढ्ने भन्नेबारेमा समेत दुवै नेताबीच समझदारीका साथ अघि बढ्ने कुराकानी भएका छन,’ चालिसेले भने,‘अब नियमित महाधिवेशन हुने संभावना कम छ, विशेषमा जानुपर्छ भन्नेमा शेखर दाइ प्रस्ट देखिनुहुन्छ ।’ 

महामन्त्री थापाले भने संस्थापनपक्षका  पूर्व पदाधिकारीसहितका केही नेताहरु नियमित र विशेष महाधिवेशनसमेत रोक्ने प्रयत्नमा लागेको बताउँदै त्यसका सामना गरेर अघि बढ्नुपर्ने धारणा राखेका थिए । थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि आवश्यक गृहकार्य‍समेत गरिरहेका छन् । 

१४ औं महाधिवेशनका ५४ प्रतिशत प्रतिनिधिहरुले हस्ताक्षरसहित असोज २८ गते नै विशेष महाविधेशनको माग राखेर पार्टी केन्द्रीय कार्यालय सानेपामा निवेदन दिइसकेका छन् । विधानअनुसार चालिस प्रतिशत हस्ताक्षरसहित माग भएमा त्यसको ९० दिनभित्र विशेष महाविधेशन बोलाउनुपर्ने बाध्यात्मक व्यवस्था छ । विशेष महाधिवेशन माग भएको पुस २८ गते नब्बे दिन पुग्छ । 

यता संस्थापनपक्षका खासगरी पूर्वपदाधिकारीहरु केन्द्रीय कार्यसमितिको बहुमतबाट निर्वाचन अगाडि नियमित र विशेष दुवै महाधिवेशन अस्वीकार गरेर अघि बढ्नुपर्ने रणनीतिमा अझै लागिरहेका छन् । आवश्यक रणनीति बनाउनका लागि उनीहरुले बुधबार पुनः संस्थापनपक्षको भेला बोलाएका छन् । 

सभापति शेरबहादुर देउवाले भने मंगलबार पनि मध्यमार्गी समाधानको बाटो खोज्न नेताहरुसँग संवाद गरिरहेका छन् । उनले दोस्रो र तेस्रो तहका नेताहरुसँग छुट्टाछुट्टै बोलाएर धारणा बुझिरहेका छन् । संस्थापनपक्षीय नेता ज्ञानेन्द्रबहादुर कार्की कुनै मध्यमार्गी बाटो खोजेर महाधिवेशनसम्बन्धी विवाद हल गर्ने प्रयत्न भइरहेको बताए । ‘पार्टीका बृहत्तरहितका लागि हामीले कुनै न कुनै बाटोबाट समाधानको उपाय खोज्नुपर्छ, अहिलेको चुनौतीपूर्ण घडिमा कांग्रेसलाई एकढिक्का बनाएर जानुपर्छ,’ उनले भने । 

कार्कीले केन्द्रीय कार्यसमिति बैठकमा नेतृत्व चयनलाई नियमित महाधिवेशनको जिम्मा लगाएर नीतिकेन्द्रित विशेष महाधिवेशन बोलाउन सकिने विकल्पसमेत अघि सारेका थिए ।

कुलचन्द्र कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदीय मामिला र दलहरूको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully