‘भूगोल र सैन्यले होइन, प्रविधिले मुलुक शक्तिशाली हुन थाले’

अन्तर्राष्ट्रिय प्रणालीले ठूलो राष्ट्रको पक्षमा काम गरेको पाइन्छ, अन्तर्राष्ट्रिय संस्थाहरू जहाँ फाइदा हुन्छ, त्यहाँ मात्र बोल्छन् 

असार १५, २०८२

राजेश मिश्र, दीपक केसी, दुर्गा खनाल

”The country became powerful not by geography and military, but by technology”

इतिहासका विरासतदेखिका घटनाक्रमका कारण विवादमा रुमल्लिइरहेका मुलुकहरू पछिल्ला वर्षहरूमा युद्धकै तहमा उत्रिएका छन् । रुस–युक्रेन युद्ध, इजरायल–प्यालेस्टाइन–लेबनान–इरान युद्ध, भारत–पाकिस्तान युद्धलगायतमा निहत्था हजारौं नागरिकले ज्यान गुमाएका छन् ।

यी सबै युद्धहरूमा विश्वका शक्तिशाली मुलुकहरू जोडिएका कारण अन्तर्राष्ट्रिय संघसंस्थाहरूले नागरिकहरूको पक्षमा गर्नुपर्ने आफ्नो न्यूनतम भूमिका पनि निर्वाह गर्न सकेका छैनन् । यसै सन्दर्भमा पछिल्ला ठूला युद्ध, युद्धका कारण विश्व व्यवस्थामा आउँदै गरेको परिवर्तन र नेपालजस्ता मुलुकमाथि पर्ने असरलगायत विषयमा अन्तर्राष्ट्रिय मामिलाका जानकार चन्द्रदेव भट्टसँग कान्तिपुरका दुर्गा खनालराजेश मिश्रले गरेको कुराकानी : 

अहिले संसारका विभिन्न मुलुकहरूको द्वन्द्व युद्धको तहमा उक्लिएको छ । पछिल्लो समय इरान र इजरायल, रुस–युक्रेनका ठूला लडाइँ भए । यसलाई विश्व व्यवस्था नै परिवर्तन भइरहेको र कतिपयले त यो तेस्रो विश्वयुद्धकै सुरुवातका रूपमा पनि हेरेका छन् नि ? 

अहिले संसारभर विभिन्न ठाउँमा देखिएका द्वन्द्वहरू युद्धका रूपमा परिणत हुँदै छन् । तर प्रत्येक क्षेत्रमा देखिएका द्वन्द्व र युद्धका आ–आफ्नै विशेषता छन् । वैश्विक तहमा अमेरिका र चीनबीच एक प्रकारको द्वन्द्व छ । अमेरिकाको अरू देशहरूसँग पनि सम्बन्ध सुमधुर छैन । पछिल्ला दिनमा इजरायल र इरानबीच युद्ध भएर अहिले विरामको अवस्था छ । तर त्यो युद्धविराम पनि कति दिन रहन्छ भन्ने निश्चित छैन । किनकि इरान र इजरायल वा अरब देशहरूबीचको द्वन्द्व ऐतिहासिक छ । ऐतिहासिक द्वन्द्वको समाधान साधारण कूटनीतिक माध्यमबाट हुँदैन । हिजोका दिनमा त्यस्ता धेरै अभ्यास गरिए । त्यसैले यसको मूल जरोमै पुग्नुपर्छ । 

ऐतिहासिक द्वन्द्वका मुख्य कारणचाहिँ धर्म, भूगोल, आर्थिक अवस्था वा सामाजिक संरचना के हुन् ?

इतिहासलाई नियालेर हेर्‍यौं भने धर्म युद्धको केन्द्रमा देखिन्छ । धर्मले उब्जाएको अर्को समस्या भूगोल पनि हो । सुरुको द्वन्द्वचाहिँ यहुदी र क्रिश्चियनहरूबीच देखिन्छ । किनकि यहुदीहरूले क्रिश्चियनहरूलाई स्वीकार गर्दैनथे । यहुदीहरू ‘एक ईश्वरवादी’ अर्थात् एउटै धर्म र भगवान् मान्ने गर्छन् । त्यतिबेलाको रोमन साम्राज्यले चाहिँ धेरै भगवान्हरू मान्ने गर्दथ्यो । त्यसले गर्दा ऐतिहासिक रूपमै यहुदीहरू संसारभरबाट लखेटिए । तर पछि कालान्तरमा यहुदी र क्रिश्चियनहरू बीचमा एक किसिमको सम्झौता भयो ।

सुरुको द्वन्द्व केही मत्थर भयो । तर पछि अर्को द्वन्द्व आयो यहुदी, क्रिश्चियन र इस्लामको बीचमा । तीनवटाको द्वन्द्वचाहिँ भगवान् कस्तो भन्नेमा थियो । कसको भगवान्को प्रभुत्व हुने भन्ने विषयमा द्वन्द्व थियो । रोचक कुरा के छ भने तीनवटैमा ‘अब्राहमिक’ धर्म हुन्छ । अब्राहमिक धर्मको उद्गमस्थल एउटै हो । समस्या त्यसलाई व्याख्या कसरी गर्ने ? बुझ्ने कसरी ? तेरो भगवान् ठूलो कि मेरो ? तेरो शास्त्र ठूलो कि मेरो शास्त्र ठूलो ? भन्नेबाट सुरु भयो ।

त्यही विवादले लडाइँको अवस्था आयो । यहुदीहरूको ‘तोरा’, क्रिश्चियनहरूको ‘बाइबल’ र इस्लामहरूको ‘कुरान’ तीनवटाले नै आफ्नो इष्टदेवताको अलग किसिमको व्याख्या गरेका छन् । बुझ्ने तरिका नै फरक छ । उनीहरूको एउटै उद्गमस्थल भए पनि त्यसलाई व्याख्या गर्ने कुरा फरक छ । तीनवटै धर्मको विषयमा भगवान्को मुद्दालाई लिएर सुरुको दिनदेखि नै झगडा भइरहेको छ । त्यो झगडा आजसम्म रहँदै आएको छ ।

धर्मको झगडा पछि भूमिको झगडाका रूपमा परिणत हुन्छ । ‘प्रोमिस्ड ल्यान्ड’ का रूपमा इजरायलको ‘जेरुसेलम’ लाई लिइन्छ । यहुदीहरू ‘चुजन पिपल’ हुन् । ‘चुजन ल्यान्ड’ र ‘चुजन पिपल’ को बीचमा लामो समयसम्म झगडा हुन्छ । त्यही झगडाको रूप अहिले देखिएको हो । सुरुका दिनमा क्रिश्चियन र यहुदीहरूबीच द्वन्द्व थियो । दोस्रोमा इस्लाम पनि आयो । त्यसपछि अरब र इजरायलबीच द्वन्द्व भयो । इरान पर्सियन सभ्यता थियो । इजरायल र यहुदीहरूको चाहिँ फरक सभ्यता हो । जब इरानमा इस्लामको प्रवेश भयो त्यसपछि समस्या सुरु भयो ।

”The country became powerful not by geography and military, but by technology”

इस्लामको प्रवेश भएपछि त्यसले इजरायलसँग द्वन्द्व बढायो । इस्लामभित्र पनि सिया र सुन्नी समुदायको समस्या छ । इरान सिया हो । अनि अरू मुस्लिम देशहरू सुन्नी छन् । सिया र सुन्नीबीच महोम्मदलाई कसरी बुझ्ने र कुरानलाई कसरी व्याख्या गर्ने भन्नेबारे फरक धारणा छ । सियाहरूले मोहम्मदको ज्वाइँ अलीलाई उत्तराधिकारीका रूपमा मान्छन् । भगवान् अल्लाहको प्रतिनिधि मान्छन् । सुन्नीले अबु बकारलाई मान्छन् । त्यहाँ पनि समस्या छ । अरब–इजरायलको द्वन्द्व भनेको सभ्यताको द्वन्द्व पनि हो । अब्राहमिक भगवान्लाई बुझ्ने पनि समस्या हो ।

अब्राहमिक धर्महरूमा भगवान्हरूको बीचमा जहिले पनि संघर्ष रहिरहन्छ । त्यो संघर्ष आजको दिनसम्म समाधान भएको छैन । जसले गर्दा इरानले आज इजरायलको अस्तित्वलाई स्विकार्दैन । आयोतोल्लाह खोमेनीले त इजरायललाई ‘क्यान्सरको ट्युमर’ हो यसलाई फाल्नुपर्छ भनेका छन् ।

त्यसैले यो एउटा लामो समयदेखिको द्वन्द्व हो । धर्मको द्वन्द्वचाहिँ पछि भीडमा परिणत हुन्छ । ‘चुजन पिपल’ को ‘प्रोमिस्ड ल्यान्ड’ जेरुसेलमचाहिँ क्रिश्चियनहरूका लागि जिसस क्राइस्ट जन्मेको ठाउँ हो । यहुदीहरूका लागि अब्राहमिकको बासस्थान र इस्लामका लागि मोहम्मद त्यहीँबाट स्वर्ग गएको भनिन्छ । यही कारण त्यो जमिनमा कसको प्रभुत्व रहने भन्ने विवादमा लामो समय बित्यो । त्यसैले संयुक्त राष्ट्रसंघले जेरुसेलमलाई ‘अन्तर्राष्ट्रिय एडमिनिस्ट्रेसन’ मा राखेको छ । 

अटोमन साम्राज्यको पतनपछि इजरायल १९४८ मा राष्ट्रका रूपमा जन्मेको हो । लामो समयदेखि इजरायलीहरू युरोपमा दमनमा परेका थिए । सुरुका दिनमा रोमन साम्राज्य र यहुदीहरूबीच द्वन्द्व भएको थियो । त्यो द्वन्द्वले गर्दा धेरै त्यो ‘प्रोमिस्ड ल्यान्ड’ बाट युरोपमा आए । युरोपमा आएपछि उनीहरूको बासस्थान थिएन । त्यो बासस्थानको ग्यारेन्टीचाहिँ १९१७ को वालफोर घोषणाले गर्‍यो । इजरायलीहरूको राज्यको ग्यारेन्टी हुनेबित्तिकै छरिएर रहेका यहुदीहरू त्यहाँ जान थाले । बसाइँ सर्नेहरूको संख्या बढेपछि दुई समुदायका बीच मनमुटाव भयो । १९४८ मा इजरायल छुट्टै देशका रूपमा आएपछि अरब र इजरायलबीच पहिलो लडाइँ नै भयो । १९४८ देिख त्यो समस्या समाधानका लागि धेरै पहलकदमी भए । तर पार लागेन, धेरै पटक युद्ध भइरह्यो । अझै जारी छ ।

१९४८ मा बनेको देश इजरायल लगातार धेरै युद्ध लडिरहेको छ । तर उसको शक्ति बढिरहेको छ, आर्थिक स्थिति पनि राम्रै छ । इजरायलमा अमेरिकाको प्रवेशले यो सम्भव भएको हो ? अमेरिका इजरायलमा किन र कसरी प्रवेश गर्दै आएको छ ?

अमेरिकाको प्रवेशको पछाडिको मुख्य कारण पश्चिम एसियामा रणनीतिक सन्तुलनका लागि हो । इजरायल अमेरिकाको रणनीतिक सन्तुलनका लागि महत्त्वपूर्ण देश हो । अमेरिकाको इजरायलसँगको संलग्नता र विश्वसनीय सामीप्यताचाहिँ सन् १९६७ को युद्धमा इजरायलले अरबको लडाइँमा अभूतपूर्व सफलता पाएपछि बढेको हो । दोस्रो कुरा संसारभर यहुदीहरूको लबी अमेरिकादेखि पश्चिमा मुलुकहरूमा एकदमै राम्रो छ ।

संसारका सबैभन्दा ठूला व्यापारिक घरानाहरूमा यहुदीहरू अगाडि आउँछन् । त्यसैले अमेरिकाले इजरायलमाथि सुरुदेखि नै आर्थिक, प्राविधिक सहयोग गरेको छ । तेल मुख्य स्रोत र आर्थिक अवस्था मजबुत भएपछि अमेरिकाको दृष्टि झन् बढ्दै गएको हो । सन् १९७० पछि आजको दिनसम्म संसारको विश्व राजनीतिक–अर्थव्यवस्थामा तेलको वर्चस्व छ । त्यो वर्चस्व हुन्जेलसम्म अमेरिकाको चासो रहिरहन्छ । दोस्रो रणनीतिक सन्तुलन र तेस्रो धार्मिक कारण हो । किनकि यहुदी र क्रिस्चियनहरूको बीचमा जुन तहको भिन्नता थियो त्यो आजको दिनमा छैन । वैश्विक युद्ध अमेरिकाले लडिरहेको छ । 

”The country became powerful not by geography and military, but by technology”

मध्यपूर्वलगायत मुलुकमा भएका ठूला युद्धले नेपाल जस्ता मुलुकहरूका लागि कस्तो असर पर्छ ?

मध्यपूर्वमा जे भइरहेको छ, त्यसको असरचाहिँ दक्षिण एसियाका धेरै राष्ट्रहरूमा पर्छ । किनकि त्यससँग जीवनको सवाल जोडिएको छ । नेपालको पनि अर्थतन्त्रको ठूलो हिस्साचाहिँ पश्चिम एसियाबाट नै आउँछ । हाम्रो अर्थतन्त्र चलायमान हुने कुरा त्यहाँको अर्थतन्त्रमा निर्भर छ । त्यहाँ कुनै असर पर्‍यो भने त्यो हामीकहाँ आइपुग्छ । त्यहाँ द्वन्द्व भयो र मान्छेहरू निस्कनुपर्ने अवस्था आयो भने त्यसको प्रत्यक्ष असर नेपालमा पर्छ । त्यस्तै पूर्वी अफ्रिका जस्ता देशहरूमा पनि त्यहाँको अवस्थाले असर गर्छ । हाम्रो देशको त लगभग कुल आप्रवासी जनसंख्याको ८० प्रतिशत जनसंख्या त्यहाँ छ । त्यसैले त्यहाँ कुनै अस्थिरता हुनेबित्तिकै हाम्रोमा असर पर्छ । 

अहिले इरान र इजरायलबीच १२ दिन युद्ध चल्यो । अमेरिकाले आफैं इरानलाई हान्यो । तर जब इरानले कतारको अमेरिकी सैन्य अखडामा हान्यो । त्यसपछि अमेरिकाले यद्धविरामको अग्रसरता किन लियो ? 

इरानले कतारमा आक्रमण गरेपछि अमेरिकनहरूलाई पनि ठूलै झस्का दियो । अर्को कुरा त्यो क्षेत्र साँच्चै युद्धमै होमियो भने त अमेरिकी स्वार्थमा पनि ठूलो धक्का लाग्छ । केही अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको भ्रमण गरी ठूलै गिफ्ट लगेर गएका थिए । अमेरिका पनि केही हदसम्म त्यो क्षेत्रमा परनिर्भर छ । अमेरिका रुस र युक्रेन युद्धमा अप्रत्यक्ष सामेल छ । चीन र अमेरिकाबीच ‘व्यापार युद्ध’ चलिरहेकै छ ।

त्यसैले धेरैतिर ‘वार फ्रन्ट’ खोल्दा समस्या हुन्छ । अमेरिकाको इरानसँग भएका आणविक संयन्त्रहरूमा क्षति पुर्‍याउने प्रमुख प्राथमिकता थियो । तर कति क्षति पुग्यो पुष्टि हुन सकेको छैन । पछिल्लो समय अमेरिकाले हमला गर्नुअघि नै इरानले हतियार व्यवस्थापन गरिसकेको भन्ने सूचना पनि छ । यदि इरानले साँच्चै युद्ध अघि बढायो भने त त्यसको ठूलो घाटा अमेरिकालाई पनि हुन्छ । यदि इरानले हर्मुज बन्दरगाहलाई बन्द गरिदयो भने विश्वको लगभग ३० प्रतिशत तेल त्यहीँबाट पास हुन्छ । त्यसको असर देखिन सक्छ ।  

जहाँ युद्ध त्यहाँ अमेरिका यो चाहिँ कसरी र किन भइरहेको छ ?

हो, यो रोचक कुरा छ । अमेरिका पछिल्लो डेढ सय वर्षदेखिको सुपर पावर हो । १८७६ देखि यति लामो समयसम्म कुनै पनि देशले सुपर पावरको त्यो मुकुट पहिरिएको छैन । अमेरिका मात्रै त्यस्तो देश हो । कुनै पनि राष्ट्रले आफ्नो प्रभाव कम भएको देख्न चाहँदैन । विशेष गरी १९४५ पछिका सबै युद्धमा अमेरिका संलग्न भएको देखिन्छ । शीतयुद्धको समयमा ‘प्रोक्सी वार’ धेरै थियो । 

युद्धलगायत विषयमा अरूले गरेको कामको विश्वव्यापी आलोचना हुन्छ । तीव्र क्रिया, प्रतिक्रिया र प्रश्नहरू उठाइन्छ । तर, अमेरिकाले अर्को देशमा गएर बमै खसाल्दा पनि अन्तर्राष्ट्रिय संस्थाहरू बोल्दैनन् किन ? 

आजका दिनसम्म पनि अन्तर्राष्ट्रिय संस्थाहरू, प्रणाली, ग्लोबल पोलिटिकल वा आर्थिक आर्टिटेक्टहरू जसले स्थापना गरेको उसैको पक्षमा देखिँदै आएका छन् । मानवअधिकारको विषय पनि त्यस्तै देखिएको छ । जसले गर्दा वैश्विक असन्तुष्टि पनि उब्जिएको छ । गाजाकै विषय हेर्नुस् न । त्यहाँ सर्वसाधारण मानिस मारिएका छन् ।

त्यहाँ जुन प्रकारको पहलकदमी अन्तर्राष्ट्रिय संस्था र संरचनाहरूले लिनुपर्ने हो त्यो भएको छैन । त्यहाँ भइरहेको घटनाको विरोधमा बलियो आवाज र लबिइङ छैन । कर्मकाण्डीबाहेक कता–कता अन्तर्राष्ट्रिय प्रणालीले अझै पनि ठूलो राष्ट्रको पक्षमा काम गरेको पाइन्छ । त्यही भएर पछिल्लो दिनमा यो ‘स्ट्रक्चर’ नै परिवर्तन गर्नुपर्छ भन्ने आवाज पनि उठ्न थालेको छ । अहिलेको ‘स्ट्रक्चर’ लाई बढी लोकतान्त्रिक बनाउन आवाज उठिरहेको छ । चिनियाँ र विशेष गरी ग्लोबल साउथबाट त्यस्तो कुरा आएको छ । अन्तर्राष्ट्रिय संस्थाहरू जहाँ फाइदा हुन्छ, त्यहाँ मात्र बोल्ने, अरू बेला नबोल्ने धेरै ठाउँमा देखिएको छ ।  

”The country became powerful not by geography and military, but by technology”

परम्परागत युद्ध र अहिलेको युद्धमा हतियार प्रयोगको हिसाबले कस्तो देखियो ? 

अब परम्परागत युद्धको स्वरूप बदलियो । विगतमा जसको सैनिक संख्या ठूलो थियो, त्यसले युद्ध जित्थ्यो । पछिल्लो दिनमा सैनिकको संख्याले खासै असर पार्ने भएन । किनकि, सैनिकहरू प्रत्यक्ष संघर्षमा गएको देखिँदैन । पछिल्ला युद्धमा ठूलो भूमिका प्रविधिको रह््यो । अब जुन देशको प्रविधिमा वर्चस्व छ, त्यो देशको भूगोल सानो भए पनि युद्धचाहिँ उसले जित्ने अवस्था आयो । अहिलेका युद्धमा धेरै देशहरूले भविष्यका लागि हतियारहरूको ‘टेस्ट’ मात्र गरे । भारत, रुस र चीनले पाकिस्तानमार्फत आफ्नो प्रविधिलाई टेस्ट गरे । त्यसैले भोलिको युद्ध भनेको मान्छे लड्ने भन्दा पनि आधुनिक हतियार र ड्रोनहरूको हुने भयो । प्रविधि जसको छ, ऊ शक्तिशाली हुन्छ । 

सधैं अमेरिकासँग रहँदै आएको युरोपियन युनियन पछिल्ला युद्धका समयमा चाहिँ किन निष्क्रिय छ ? 

पछिल्लो समय युरोपियन युनियन आफैं आन्तरिक रूपमा कमजोर भएको छ । त्यहाँ आर्थिक मन्दी पनि छ । आन्तरिक राजनीतिक समस्याहरू छन् । युरोपियनहरूले हिजोको दिनमा लोकतन्त्र र मानवअधिकारका लागि जुन रूपमा वकालत गर्थे अहिले त्यो विषय उनीहरूले आफूभित्रै हेर्नुपर्ने स्थितिमा छन् । उनीहरूको अर्थतन्त्र जुन हिसाबले बढ्नुपर्ने हो, त्यो भएको छैन । अर्को सबैभन्दा ठूलो, लामो समयदेखि उनीहरू सुरक्षा मामिलामा अमेरिकामाथि निर्भर भए । तर, जतिबेला युरोपलाई सुरक्षा वा सहयोग गर्नुपर्ने हो, त्यो बेला अमेरिकाले त्यही तहको प्रतिबद्धता दिन सकेको देखिँदैन ।

त्यही भएर पनि पछिल्लो दिनमा अमेरिका र युरोपबीचको सम्बन्धमा दरार देखिन्छ । युरोपले जुन रूपमा प्रविधिमा आफूलाई अगाडि बढाउनुपर्ने हो, त्यो गर्न सकेको छैन । नवप्रवर्तन गर्न नसक्दा ऊ आफैं समस्यामा छ । अर्कोतिर युरोपको छेउमा रुस–युक्रेन युद्ध भइरहेको छ । जसले गर्दा युरोपलाई चुनौती छ । पश्चिम एसियामा जसरी अस्थिरता कायम रह्यो, त्यसको परिणाम पनि युरोपले भोग्नुपर्‍यो । शरणार्थी समस्या युरोपले भोग्नुपरेको छ । सिरिया, लिबिया, लेबनान वा इराक सबैतिरका शरणार्थी युरोप पुगेका छन् । त्यसले युरोपको आन्तरिक राजनीतिमा असर पुग्यो । त्यही भएर उनीहरूको अहिलेको प्राथमिकता आन्तरिक व्यवस्थापन नै देखिएको छ ।  

”The country became powerful not by geography and military, but by technology”

पछिल्ला युद्धहरू चलिरहँदा अर्को शक्तिशाली मुलुक चीनचाहिँ के गरिरहेको छ ? 

चीन आर्थिक रूपमा उदाइरहेको छ । वैश्विक घटनाक्रममा उसले प्रत्यक्ष रूपमा आफूले हस्तक्षेप गरेको देखिँदैन । तर उसले यही अवस्थामा विश्व व्यवस्था अगाडि बढ्न सक्दैन भन्ने सन्देश भने दिइरहेको छ । पश्चिम एसियाका सबैजसो देशसँग चीनले आफ्नो सम्बन्ध सुधार गरेको छ । इरानसँगै उसले २५ वर्षे रणनीतिक साझेदारी गरेको छ । उसको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ बीआरआई परियोजनामा धेरै देशहरू जोडिन पुगेका छन् । उसको प्राथमिकता युद्ध देखिँदैन । अन्तर्राष्ट्रिस्तरमा उसले शान्तिकै वकालत गरेको छ । आफ्नो राजनीतिक र आर्थिक स्वार्थलाई परिपूर्ति गर्न चीनले आफूलाई फरक हिसाबले उभ्याइरहेको छ । उसले आफ्नो सम्बन्ध दक्षिणपूर्वी एसिया र अफ्रिकामा पनि बढाएको छ ।

अन्तर्राष्ट्रिय तनावहरूमा कतार जस्ता साना देशहरूले मध्यस्थता गरिरहेका छन् । तर चीनले यो मामिलामा कुनै भूमिका खेल्न सक्दैनथ्यो ? 

चीनले अन्तर्राष्ट्रिय तहमा राजनीतिक तथा कूटनीतिक समझदारी मध्यस्थतामा ठूलो भूमिका निर्वाह गरेको देखिन्न । तर उसले ‘ब्याकडोर डिप्लोमेसी’ को माध्यमबाट आफ्नो भूमिका खेलिरहेको छ । अमेरिकाको सिधा हस्तक्षेप हुन्छ । तर चीनले कूटनीतिक माध्यमबाट द्वन्द्वलाई न्यूनीकरण गर्न भूमिका खेलिरहेको हुन्छ । ऐतिहासिक रूपमै हेर्दा पनि चीनले अरूको मामिलामा हस्तक्षेप गरेको पाइँदैन । उसले युद्धलाई प्रोत्साहित गर्दैन । राजनीतिक स्थायित्वकै विषयमा उसले कुरा गरेको हुन्छ । चीन शान्त कूटनीतिमा विश्वास गर्छ । भोलिको दिनमा आर्थिक रूपले अझ बलियो भइसकेपछि उसले पनि आफ्नो भूमिका बढाउला । 

वैश्विक रूपमा भइरहेका एकपछि अर्को तनावपूर्ण घटनाले हामीलाई आर्थिकबाहेक अरू कस्तो असर परिरहेको छ ? 

विश्वमा भइरहेका राजनीतिक, आर्थिक घटनाक्रम र प्रविधिले ल्याउने समस्याले सबैलाई असर गर्छ । ‘ग्लोबल इकोनमिक अर्डर’ मात्रै होइन कि ‘ग्लोबल सोसल अर्डर’ पनि एकअर्कोसँग जोडिएको हुन्छ । यो अवस्थामा संसारको कुनै कुनामा हुने घटनाको असर हामीलाई पनि पर्छ । काम, पढ्न र बसोबासका लागि हाम्रा मानिसहरू संसारभर छरिएका छन् । त्यसलाई असर गर्ने नै भयो । अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा जाने लक्ष्यमा हामी छौं ।

त्यसलाई पनि ठूलो असर गर्छ । द्वन्द्वहरूले अन्तर्राष्ट्रिय विकास साझेदारीलाई प्रभावित गर्छ । विश्वव्यापीकरणले एक किसिमको आर्थिक अवसर ल्याइरहेको थियो । अहिले त्यो खुम्चिँदै गएको छ । अमेरिकामा नयाँ नेतृत्व आइसकेपछि त्यसले एउटा फरक किसिमको प्रभाव आर्थिक साझेदारीमा ल्याएको छ । हामीलाई बहुराष्ट्रिय संस्थाहरू बलियो चाहिन्छ । संयुक्त राष्ट्र बलियो हुनुपर्छ । तर, द्वन्द्वले बहुराष्ट्रिय संस्था कमजोर हुने र बहुशक्तिकेन्द्रहरू बलियो हुने देखाएको छ । बहुशक्तिकेन्द्रहरूले हामीलाई त्यति धेरै फाइदा हुँदैन । उनीहरूले आफ्नो शक्ति अभ्यास मात्रै गर्छन् । हामी जस्ता साना देश, जहाँ आर्थिक उन्नतिको आवश्यकता छ । त्यसैले बहुपक्षीय संस्था बलियो हुनुपर्छ । त्यसकारण वैश्विक तहमा अन्तर्राष्ट्रिय मञ्चहरूमा हामीले बहुपक्षीय संस्था स्थापनाको पक्षमा लबिइङ गर्नुपर्छ । 

”The country became powerful not by geography and military, but by technology”

अमेरिकामा ट्रम्पको दोस्रो कार्यकाल र उनको कार्यशैलीले अहिले विश्वलाई कहाँ लैजाँदै छ ?

ट्रम्पले सत्तामा आउनुभन्दा अगाडि जे प्रतिबद्धता गरेका थिए, त्यो हिसाबले अगाडि बढेको देखिँदैन । उनको विदेश नीतिमा ठूलो दुविधा र अस्थिरता छ । युद्ध नगर्ने भनेका थिए । तर युद्ध पश्चिम एसियासम्म जोडिन पुग्यो । एक महिनाभित्र रुस–युक्रेनको युद्ध रोक्ने घोषणा गरेका थिए । इजरायल–गाजाको युद्ध पनि अन्त्य गर्ने भनेका थिए । दुइटै आजको दिनसम्म भएको छैन । इरान जुन ढंगले आफूलाई परमाणु शक्तिसम्पन्न बनाउन खोज्दै छ । त्यसलाई व्यवस्थापन गर्ने अमेरिकाको पुरानै नीति हो । हिजो ‘सफ्ट पावर’ प्रवर्द्धन गर्ने अमेरिकाको नीतिलाई ट्रम्पले केही हदसम्म कमजोर पारेका छन् । विश्व राजनीतिले एक किसिमको स्थायित्व चाहिरहेको थियो । तर उनी नै अस्थिर भए । 

अन्तर्राष्ट्रियस्तरमा भइरहेका द्वन्द्वहरूमा नेपालले आफ्नो पोजिसन कस्तो देखाउनुपर्छ ? 

शान्तिको पक्षमा देखाउनुपर्छ । हामीले त्यही विषयमा बोल्नु जरुरी छ । पछिल्ला दिनमा लगभग ५० नेपाली आतंकवादको सिकार भएका छन् । गाजामा, इराकमा र अफगानिस्तानमा नेपालीहरू मारिएका छन् । अन्तर्राष्ट्रिय रूपमा भइरहेको इस्लामिक आतंकवादको सिकार नेपाल भइरहेको छ । त्यसका लागि नेपालले बोल्नैपर्छ । पछिल्लो पटक भारतको पहलगाममै एक जना नेपाली मारिए । इजरायलमा ७/८ हजार नेपाली छन् । इजरायलसँग हाम्रो लामो सम्बन्ध छ । र, स्वार्थहरू पनि जोडिएको छ । इजरायल र प्यालेस्टिनीका सम्बन्धमा नेपाली समाज ध्रुवीकृत छ । अन्याय कहाँ छ, त्यहाँ बोल्नुपर्छ ।  

संसारभरि छरिएका आफ्ना नागरिकको सुरक्षाका सवालमा नेपालको कूटनीतिक प्रयास कस्तो छ । गाजाको आक्रमणमा बेपत्ता विपिन जोशीको सामान्य अवस्था पनि अझैसम्म नेपालले थाहा पाउन सकेन । अरू समस्या आउँदा पनि विज्ञप्ति निकाल्नेबाहेक नेपालले अन्य कूटनीतिक प्रयास कति गरेको देख्नुहुन्छ ? 

विज्ञप्ति भनेको घटनाको तात्कालीन प्रतिक्रिया हो । दीर्घकालीन विदेश नीति दुइटा शब्दले परिभाषित गर्न सकिन्छ । एउटा भोकले, अर्को भयले । भोक भनेकै ‘डिजायर’ हो । । हाम्रो विदेश नीतिको ‘डिजायर’ के हो ? नेपालको आफ्नो राष्ट्रिय स्वार्थलाई हेर्ने हो । आर्थिक, सामाजिक, सांस्कृतिक रूपमा वा बाहिर रहेका डायस्पोरालाई कसरी डिफेन्ड गर्ने हो ? र, प्रगति कसरी गर्ने हो ? त्यस्तै, भय । हामीलाई थ्रेट कहाँ कहाँबाट आइरहेको छ ? जस्तै पश्चिम एसियामा द्वन्द्व भए पनि त्यसको असर हाम्रो अर्थतन्त्रमा पर्छ । कुनै लडाइँ वा नयाँ किसिमको प्रविधि वा अर्थतन्त्रको निर्माणले हामीलाई समस्या गर्छ । भोक र भयको बीचमा हामीले सन्तुलन ल्याउन सक्नुपर्छ । 

दक्षिण एसियामा पनि विभिन्न द्वन्द्व देखिएको छ । भारत–पाकिस्तानबीच स्थायी विवाद छ । भारत–बंगलादेश मिलेको देखिँदैन । अन्यत्र पनि समस्या छ । हामी कहाँ छौं ?

यो क्षेत्रमा द्वन्द्व बढ्दै गएको छ । दक्षिण एसियामा जुन किसिमको भूराजनीतिको विकास भएको छ । त्यसको केन्द्रबिन्दुकै रूपमा इन्डो प्यासिफिक नीति आइरहेको छ । नेटोको ठाउँमा इन्डो प्यासिफिक ट्रिटी अर्गनाइजेसन ‘इप्टो’ ल्याउने कुरा सुनिन्छ । भारत–पाकिस्तानको द्वन्द्व र त्यसले पार्ने असरहरू छन् । त्यस्तै, बंगलादेशमा भएको राजनीतिक परिवर्तन पछाडि भारत र बंगलादेशको सम्बन्धमा उतारचढाव छ । त्यसको असर अन्यत्र पनि पर्दै छ । हामीलाई पनि परेको छ । दक्षिण एसियाको शान्तिका लागि सबैले मिलेर काम गर्नुपर्ने हो । तर, त्यो किसिमको वातावरण देखिँदैन ।  

चीनको बीआरआई फ्रेमवर्कलाई स्विकारेर हस्ताक्षर गरेपछि त्यसले नेपालमा कस्तो कूटनीतिक प्रभाव पारेको छ ? 

कुन देशसँग कस्तो किसिमको सम्झौता गर्ने नेपालको सार्वभौम अधिकार हो । हामीले चीनसँग बीआरआई सम्झौता नगर्दा पनि चीन र नेपालबीचको ‘इकोनोमिक इन्गेज्मेन्ट, पोलिटिकल इन्गेज्मेन्ट’ भइराखेकै हो । नेपालको चीनसँग, भारतसँग वा अरू कुनै देशसँगको ‘इकोनोमिक इन्गेज्मेन्ट’ लाई लिएर अरू राष्ट्रहरूले धेरै टाउको दुखाउनुपर्ने होइन । यो नितान्त हाम्रो विषय हो । कुनै पनि सहकार्यले हामीलाई त्यसले कति फाइदा गर्छ त्यो हेरिनुपर्छ । हामीले खोजेको आर्थिक समृद्धि हो । 

अहिले नेपालको दक्षिणी छिमेकीसँगको सम्बन्धलाई कसरी हेर्नुहुन्छ ? 

त्यति नराम्रो पनि छैन । तर राम्रो पनि छैन । हामीले अन्तर्राष्ट्रियस्तरमा जुन किसिमको ट्रस्ट निर्माण गर्न सक्नुपर्थ्यो । त्यसमा चुकिरहेका छौं । हामीप्रति विश्वास जगाउन सकिरहेका छैनौं । आन्तरिक राजनीतिक अस्थिरता वा नेतृत्वको स्पष्ट धारणा/अडान नहुँदा छिमेकीहरूसँगको सम्बन्ध जुन किसिमले बढ्नुपर्ने हो । त्यो भएको देखिँदैन ।  

”The country became powerful not by geography and military, but by technology”

अमेरिका र युरोपियन युनियनबाट आउने आर्थिक सहायता घट्दै गएका छन् । त्यसको विकल्प हाम्रा दुई छिमेकी हुन सक्छन् ? 

निश्चय पनि । अमेरिका वा पश्चिमाहरूको हिजोसम्म जुन किसिमको सहयोग आउँथ्यो । पछिल्लो राजनीतिक आयामले त्यसलाई निरूत्साहित गरेको छ । सहयोग कम भएको छ । त्यसको विकल्प छिमेकमा खोज्नुपर्छ । आर्थिक रूपले बलियो चीन र भारतसँग केही लेभलको इन्गेज्मेन्ट बढाउन सक्छौं । पहिलो हामी आफैं आर्थिक रूपमा कसरी सबल हुने, दोस्रो तत्काल आर्थिक लाभ कहाँबाट छ, त्यो हेर्नुपर्छ ।

राजेश दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कुटनीति, निर्वाचन प्रणाली र संघीयताका बिषयमा लेख्छन् ।

दीपक केसी कान्तिपुरका फोटोपत्रकार हुन् ।

दुर्गा खनाल कान्तिपुर दैनिकको अनलाइन पोर्टल ईकान्तिपुर डटकमका तत्कालिन सम्पादक हुन्।

Link copied successfully