'अर्थतन्त्र र वित्तीय क्षेत्रमा सुधार ल्याउने गरी काम गर्न सक्ने आत्मविश्वास छ'
काठमाडौँ — सरकारले अर्थशास्त्री विश्व पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई गभर्नरमा नियुक्त गरेको हो । गभर्नरमा नियुक्त पौडेलले अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । उनी राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका थिए ।
पछिल्लो समय अर्थतन्त्र र वित्तीय क्षेत्र पनि अप्ठेरो अवस्थामा छ । समग्र अर्थतन्त्रमा सुधार ल्याउन गभर्नरको भूमिका धेरै हुन्छ । गभर्नर नियुक्तिलगतै विश्व पौडेलसँग विविध विषयमा कान्तिपुरका यज्ञ बञ्जाडेले गरेको संक्षिप्त कुराकानी :
सरकारमा रहेका दलबीच लामो खिचातानीपछि राष्ट्र बैंकको गभर्नर नियुक्त हुनु भएको छ । वित्तीय क्षेत्र सुधारका प्राथमिकता के-के हुन् ?
सबैभन्दा पहिले राष्ट्र बैंकको सुपरिवेक्षण क्षमता अभिवृद्धि गर्छु । नियम कम, सुपरिवेक्षण बढी हुनुपर्छ भन्ने मेरो मान्यता हो । नियम बढी गर्दा धेरै अन्योल पनि हुन्छ । बैंकहरूमा केही न केही समस्या देखिएका छन् । ती समस्या प्रभावकारी सुपरीवेक्षणमार्फत समाधान गर्न सकिन्छ । मेरो ध्यान यसमै रहन्छ ।
राष्ट्र बैंकबाहिरबाट गभर्नर बन्नु भएको छ । तपाईंसँगै प्रतिस्पर्धामै रहेकाहरूलाई पनि समन्वय गरेर काम लिनुपर्ने अवस्था छ । यसलाई कसरी हेर्नु भएको छ ?
गभर्नरमा कुनै प्रतिस्पर्धा भएको थियो जस्तो मलाई लाग्दैन । आवेदन दिएर गभर्नर छनोट भएको पनि होइन । सरकारले जसलाई उपयुक्त देख्छ उसैलाई जिम्मेवारी दिएको हो । यसकारण म कोसँग प्रतिस्पर्धामा थिएँ भन्ने मलाई नै थाहा छैन । यदि प्रतिस्पर्धा नै भने पनि अब त्यो सकियो । सधैं प्रतिस्पर्धा भन्ने हुँदैन । मैले कसैलाई काखापाखा गर्दिनँ । सबैलाई समेटेर अघि बढ्छु । हिजोसम्म जो-जो गभर्नरको आकांक्षी भए पनि अब सकियो । भोलिदेखि म सबैको अभिभावक (नेतृत्व) हो । सोहीअनुरूप मेरा गतिविधि हुनेछन् ।
अहिले अर्थतन्त्र र वित्तीय क्षेत्रको अवस्था जटिल छ । यो जिम्मेवारीलाई कसरी लिनुभएको छ ?
म राष्ट्र बैंकसँग परिचित नै छु । मेरा धेरै विद्यार्थीहरू त्यहाँ कार्यरत हुनुहुन्छ । योजना आयोगमा रहँदा पनि राष्ट्र बैंकलाई नजिकबाट हेरिरहेको थिएँ । यसकारण यसलाई मैले समस्याका रूपमा लिएको छैन । स्थिति अप्ठेरो हो, तर त्यसमा सुधार गर्दै जाने आत्मविश्वास छ । यसमा सबैको सहयोग आवश्यक पर्छ ।
तपाईंले अर्थतन्त्र र मुलुकको आर्थिक परिसूचकहरूलाई नजिकबाट नियालिरहनु भएको छ । अर्थतन्त्रमा परेका गाँठो फुकाउन तपाईंको भूमिका के हुन्छ ?
राष्ट्र बैंकले जारी गरेका विद्यमान नीति-नियममा उद्योगी/व्यवसायी मात्र नभएर समग्र निजी क्षेत्रका केही गुनासा छन् । यस सम्बन्धमा तथ्यपरक रूपमा संवाद, अध्ययन अनुसन्धानमार्फत समस्याको निकास खोज्ने प्रयास गर्नेछु । म ‘हिप सुटर’ जस्तो आउँदाआउँदै गोली पड्काउने होइन । अर्थतन्त्र हो, सामान्य गल्ती गरेमा सबैले दु:ख पाउँछन् । त्यो अवस्था आउन दिन्नँ ।
अन्त्यमा के भन्नुहुन्छ ?
पाँच वर्षको कार्यकालमा मेरो दुई वटा कुरा याद गर्नुहोला । एउटा संवादमा आधारित प्रशासन र अर्को पारदर्शिता ।
