अन्तर्वार्ता

'नक्कली शरणार्थी बनाउने गिरोहमाथिको अनुसन्धान रोकिन्न'

आवश्यक परेमा गृहकै कर्मचारीमाथि पनि छानबिन हुन्छ
अनुसन्धान नटुंगिइकन शरणार्थी परिचयपत्र दिने वा शरणार्थीबारे अरु सरकारी निर्णय अब हुनेछैनन् ।
देवेन्द्र भट्टराई

काठमाडौँ — भुटानी शरणार्थी समस्या समाधानबारेमा गृह मन्त्रालयले गठन गरेको कार्यदलको प्रतिवेदनमा फर्जी नाम थप्दै नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहको सूचना बाहिर आएपछि गृह मन्त्रालयले यसबारेको अनुसन्धानलाई थप तीव्रता दिने भएको छ । 

'नक्कली शरणार्थी बनाउने गिरोहमाथिको अनुसन्धान रोकिन्न'

२०७६ जेठमा पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा ‘भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालिन समाधानको उपायहरु पहिल्याउन गठित कार्यदल’ले बुझाएको प्रतिवेदन सार्वजनिक नभएकै अवस्थामा यही गोप्य प्रतिवेदनको सुझाव र सिफारिसमाथि संशय बढेर अर्को चरणको अध्ययन सुरु हुने स्थिति आएको छ । कार्यदलले २०७६ कात्तिकमै गृह मन्त्रालयमा बुझाइएको भए पनि अझै पनि सार्वजनिक गरिएको छैन । यो कार्यदलमा पन्थीसहित सदस्यमा विज्ञ गणेशबहादुर केसी र गृहका शाखा अधिकृत (तत्कालीन) दीपकप्रसाद न्यौपाने सदस्यसचिव तोकिएका थिए ।

गोप्य भनिएको प्रतिवेदनमा फर्जी अनुसूची थपेर नेपालीलाई भुटानी शरणार्थीका रुपमा अमेरिका पठाइने प्रपञ्च अघि बढिरहेको असहज स्थितिबीच गृह मन्त्रालयले शरणार्थीलाई परिचयपत्र दिनेसहितका सबै प्रकारका गतिविधिमा रोक लगाउने भएको छ । गृहसचिव विनोदप्रकाश सिंहले बुधबार कान्तिपुरसँग सिंहदरबारमा कुराकानी गर्दै ‘अहिले बाहिर आएको गिरोहबारेको अनुसन्धान नटुंगिन्जेल शरणार्थीबारे कुनै निर्णय गृहले नगर्ने’ बताएका छन् ।

कुराकानीको अंश :

आफैंले गठन गरेको शरणार्थी समस्या समाधानसम्बन्धी कार्यदलको प्रतिवेदनका कारण अहिले मानव तस्करीको तहमा चलखेल बढेको स्थिति छ । आफ्नै कार्यदल र आफ्नै प्रतिवेदनमाथि शंका–आशंकाको स्थिति किन उब्जियो ?

शिविरमा केही आधिकारिक शरणार्थीको नाम दर्तामा छुट भएको र शरणार्थी समस्या समाधानमा दीर्घकालीन उपाय पहिल्याउन गठित कार्यदलको प्रतिवेदनभित्र परेका नामहरूमाथि सुरुदेखि नै आशंका रहेको स्थिति रहेछ । शरणार्थी नाममा छुट दर्ताको गुनासो फेरि पनि आउन सक्ने स्थिति देखियो । त्यही भएर तत्कालै परिचयपत्र दिने वा त्यसलाई प्रामाणिक मान्ने आधार रहेन । यसकारण त्यो कार्यदलको प्रतिवेदनका सुझाव तथा त्यसकै सन्दर्भमा छानबिन गर्ने भनेर झापाका सहायक जिल्ला अधिकारीको संयोजकत्वमा समिति बनाएर प्रतिवेदन अध्ययन/छानबिन अघि बढाइएको हो । तर, यसमा पनि भनेजस्तो तदारुकता देखिएको छैन ।

यो सन्दर्भमा भनिहालौं– प्रहरीको अहिलेको अनुसन्धानझैं विगतमा पनि यसैगरी उजुरी परेको, केही व्यक्ति पक्राउ परेको र फेरि छाडिएको भन्ने पनि सुन्नमा आयो । त्यो स्थितिका कारण आशंका झनै बढेको थियो । त्यो कारणले पनि प्रतिवेदन(नामावली)को प्रमाणीकरण गर्ने व्यक्तिहरु अलिक हच्किए । अझै पनि केही शरणार्थी छुटमा परेका छन् भने तिनलाई पहिचान दिनुपर्ने कुरा बाँकी नै छ । यसकारण अहिले मन्त्रालयले शरणार्थी मामलाको अध्ययन (प्रतिवेदन)मा अध्ययन पनि हुन नसकेको र शरणार्थी प्रमाणीकरणका थप काममा केही काम पनि नगरिरहेको अवस्था छ, थाती रहेको स्थिति छ ।

२०७६ जेठ २ को मन्त्रीस्तरीय निर्णयले शरणार्थी समस्या समाधानबारे कार्यदल बनायो । यसले साउनमा काम सुरु गरेर ३ महिनामा प्रतिवेदन बुझायो । सरकारी संयन्त्रको विश्वास र पद्धतिको प्रतिवेदनमा सुरुमै किन विश्वास गरिएन र, लुकाएर राखियो ? अथवा यो प्रतिवेदन त्यहीबेला सार्वजनिक गरिएको भए आजको लफडा आउने थिएन कि ?

यसरी सामान्यीकरण नगरौं । सरकारले गठन गरेका कतिपय कार्यदलका कतिपय प्रतिवेदन सार्वजनिक हुँदैनन् । शायद यसभित्र (पन्थी कार्यदल प्रतिवेदन) रहेका नाम, नामावलीमा केही आशंका रहेको हुन सक्छ । यस्तो कार्यदलले दिएको सुझाव अन्तिम र आफैंमा ‘पर्फेक्ट’ भन्ने त हुँदैन । यस्तो कुरा सार्वजनिक हुँदा झन कन्फ्युजन बढाउँछ भन्ने भएर पनि प्रतिवेदन बाहिर नआएको हुन सक्छ । तर, तपाईंले भनेको पनि ठीकै हो– सार्वजनिक गरिएको भए सायद अहिले भइरहेको चलखेल नहुने थियो कि ? तर, यस्ता बदमासी, चलखेल गर्नेलाई यो नाम वा त्यो नामको कुरै रहन्न । मिलाइहाल्छन् नि ।

यो गोलमालबीच राष्ट्रसंघीय निकाय (यूएनएचसीआर) र शरणार्थी समन्वय इकाइ (नेपाल सरकार) समेतले प्रमाणित गरेका ४ सय २९ शरणार्थी त अन्यायमा परिरहने देखियो । न यिनले शरणार्थी परिचय पत्र पाएका छन्, न अरु जीवनयापनका अरु उपाय देखिएको छ । यो स्थितिलाई कसरी हेर्नुहुन्छ ?

एउटा कुरा के भइदियो भने, यदि तपाईंले भनेको ४ सय २९ नै पनि सही हो कि होइन भन्ने भएको छ । यो दर्ताका बेलामा कोही मान्छे शिविर बाहिर गएको छ भने त्यसको पनि दर्तामा परेको हुन सक्छ । जुनको नाम दर्ता भयो, त्यो त्यही भनेर कसरी विश्वास गर्ने ? यसकारण शरणार्थी नाममा एक जना पनि बाहिरको पर्नुभएन भन्ने हो । यसकारण अहिले जो ‘जेनुइन’ शरणार्थी छन्, तिनले केही समय धैर्य राखेर बस्नैपर्ने हुन्छ । अब सुरुमा यही ४ सय २९ कै ‘भेरिफाई’ गरिनेछ, त्यही ४ सय २९ भित्रको नाम र यथास्थिति प्रमाणित गर्नैपर्ने हुन्छ । बाहिरको एकै जना व्यक्ति पनि सूचीकृत नहोस् भन्ने आशयमा हामी थप अध्ययन र प्रमाणीकरणको क्रममा छौं ।

यसरी प्रतिवेदन आएदेखि नै त्यहाँ रहेका नाममाथि शंका रहेको अवस्थामा के अब त्यो कार्यदलमाथि नै अनुसन्धान हुन्छ ? अथवा, गृह मन्त्रालयकै संयन्त्र, कर्मचारीमाथि पनि अनुसन्धान होला ?

अहिलेको युगमा यसरी तयार भएको प्रतिवेदन कसरी बाहिरियो भन्ने स्थिति रहन्न । आजको इलेक्ट्रोनिक युगमा छिनछिनमा कुनै सामग्री झिक्न, तान्न वा सफ्टवेयरमा यताउता गर्न सकिने स्थिति छ नै, चाहेको खण्डमा । यस्ता छानबिन प्रतिवेदन छिनभरमै हातहातमा हुन सक्छ । औपचारिक रुपमा गृहले बाहिर ननिकालेको मात्रै हो, हाम्रो पद्धति–प्रणाली त यही हो । त्यसकारण प्रतिवेदनमा प्रत्यक्ष–परोक्ष जो संलग्न हुनुहुन्छ, उहाँहरुबाट गएको पनि हुन सक्छ । अर्कातिर, त्यसभित्र नक्कली नाम राखिएको जुन कुरा छ, अहिले पहिलो चरणमा प्रहरीले गरिरहेको अनुसन्धान पूरा हुन दिनुपर्छ । प्रहरीको अध्ययनले पनि यो नेक्सस, सम्पर्कबारेमा केही ल्याउनेछ नै ।

यति भनिरहँदा विगतका अरु कतिपय घटनाक्रम झैं यो ठूलो गिरोहबारेको अनुसन्धान रोक्ने काम त हुँदैन नि ?

निश्चयै हुँदैन । यति भन्न सकिन्छ, कुनै तहमा अनुसन्धान रोकिन्न ।

यो किन पनि सोधिएको हो भने अहिले पक्राउ परेका गिरोहका सदस्यबाट गृह मन्त्रालयकै उच्च पदस्थ कर्मचारी, यहाँ आउने राजनीतिक नेतृत्वलाई पनि आरोपित गरिएको छ । फेरि सधैं झैं गृहले ‘दबाब’ थेग्न नसक्ने हो कि ?

यो मलाई पनि जानकारीमा छ । तर, म जहाँ छु, जे स्थानमा छु–त्यही अनुसार भन्ने हो । मेरा पनि ‘लिमिटेसन’ छन् । तर, गृह मन्त्रालयको आशय र यहाँ जुनै मन्त्री आएपनि यो अनुसन्धानलाई रोकौं, अघि नबढाऔं भन्ने हुँदैन । मैले सुनेअनुसार केही वर्षअघि पनि अहिले नियन्त्रणमा आएका गिरोहका व्यक्तिहरु पक्राउ नपरेका होइनन् । तर, उनीहरु तत्कालै छाडिएका थिए भन्ने सुनिएकै हो । त्यो कुनै शक्ति केन्द्र वा त्यसको प्रभाव(दबाब) मै भएको थियो होला । फेरि पनि यसो नहोला भन्न सकिन्न । तर, अहिले यत्रो कुरा यति बाहिर आइसकेपछि अब यत्तिकै सामसुम हुन्छ भन्ने मलाई लाग्दैन । मलाई अब लाग्दैन कि यो तहको हिम्मत अब शायदै कसैले गर्ला । अनुसन्धानमा अख्तियारका प्रमुख आयुक्त, मन्त्री परेका हुन सक्छन्– यो कुनै अमुक व्यक्तिको कुरा होइन । तर, यसरी नाम आउनु एउटा कुरा हो, साँच्चै संलग्न हुनु अर्को कुरा हो । निष्पक्ष अनुसन्धानका लागि हामी सबैले सधैं सपोर्ट गर्नैपर्छ, यसमा गृह मन्त्रालयले समर्थन गर्छ नै । यो अनुसन्धानमा गृहकै कर्मचारी कोही परे पनि काम रोकिन्न, अनुसन्धान अघि बढ्छ । यत्ति हो, यो अनुसन्धान नटुंगिइकन शरणार्थी परिचयपत्र दिने वा शरणार्थीबारेका अरु सरकारी निर्णय अब हुने छैनन् ।

प्रकाशित : चैत्र १६, २०७९ १३:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?