कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१
एमाले महाधिवेशन

‘नेतृत्वमा जाने आकांक्षालाई सुझबुझपूर्ण ढंगले टुंगोमा पुर्‍याउँछौं’

चितवन — एमालेको दसौं महाधिवेशन चितवनमा चलिरहेको छ । नेतृत्व छनोटका लागि नेताहरूबीच आन्तरिक बैठक चलिरहेका छन् । आकांक्षीहरूको संख्या ठूलो भएकाले नेताहरूको व्यवस्थापन गर्न सकस परिरहेको छ ।

‘नेतृत्वमा जाने आकांक्षालाई सुझबुझपूर्ण ढंगले टुंगोमा पुर्‍याउँछौं’

यसै सन्दर्भमा चितवनमा रहेका एमाले महासचिव ईश्वर पोखरेलसँग गंगा बीसी, मणि दाहाल र बबिता शर्माले गरेको कुराकानी

तपाईँ दुई पटक महासचिव भइसक्नु भयो, १०औं महाविधेशनसम्म आइपुग्दा कसरी विश्लेषण गर्नुहुन्छ ?

म दुई कार्यकाल महासचिव भएँ, आठौं र नवौं महाधिवेशन । विगतमा तीन आधारमा महासचिव बनेको हुँ । एउटा पार्टीभित्र काम आवश्यकता, देशभरका कार्यकर्ताको चाहनाले तेस्रो परिस्थितिमा जिम्मेवारी लिनु पर्‍यो । नवौं महाधिवेशनको बीचमा पार्टी एमाले माओवादीको एकतापछि नेकपा बन्यो । म सचिवालयमा रहे । त्यसबेलाको परिस्थितिको उपजको रुपमा लिन्छु । कतिपय पैदा भएका प्रश्नहरूको उत्तर भविष्यले दिन्छ । नेकपा एमाले फेरि पुनर्जिवित भयो । २०७५ जेठ २ गत म महासचिव हुँदाको अवस्थामा पुगे । यो अवस्था आयो, मैले रुचिपूर्वक हेरेको छु । घटना कसरी विकासित भए हेरिरहेको छु ।

नवौं महाधिवेशनपछि पार्टी बन्ने र भत्कने अवस्था आयो । के नवौं महाविधेशनको कार्यदिशा सही थियो ?

नवौं महाधिवेशनको राजनीतिक कार्यदिशा सही थियो । त्यही कार्यदिशा अनुसार अघि बढेका छौं । त्यही कार्यदिशाद्वारा निर्देशित हाम्रा कार्यक्रम र कार्यनीतिक श्रृंखला बढायौं । १० औं राष्ट्रिय महाधिवशेनमा आइपुग्दा पार्टी अध्यक्षको तर्फबाट प्रस्तुत भएको राजनीतिक प्रतिवेदन विगतका सबै कुराको वस्तुनिष्ठ समीक्षा गर्ने कोसिस गरेका छौं । अब त्यो समीक्षाबाट निर्देशित विषय कसरी अघि बढाउने विषयमा हाम्रा केही निष्कर्ष छन् । यो महाविधेशनमा मुलतः नेतृत्व चयन हुने हो । नेतृत्व चयन भइरहँदा विधान महाधिवेशनबाट पारित राजनीतिक विचार संगठनात्मक सिद्धान्त पास गर्‍यौं । त्यहीद्वारा निर्देशित भएर नेतृत्व चयन गर्छौं ।

पार्टी विभाजनपछि कमजोर भएको एमालेलाई यो महाधिवेशनले के उर्जा देला ?

वस्तुलाई कसरी हेर्ने अहम् प्रश्न छ । गतिमा सबै कुरा बुझ्नुपर्छ । हाम्रो अग्रगति र प्रगति जुन उचाइमा पुगेको छ, त्यहीअनुसार सामना गर्दै पनि आएका छौं । पार्टी जीवनमा यस्तो भएको छ । हामी अघि बढ्यौं फेरि चुनौती आए । हाम्रो एमालेको जीवन चुनौतीको सामना गर्दै अघि बढेको जीवन हो । लिडरसिप भएका साथीबाट चुनौती आए फेस गर्‍यौं । पछिल्लो कालमा एमाले लोभलाग्दो शक्ति बन्दै थियो, एमालेले विभाजन भोग्नु पर्‍यो । विगतमा ४० भन्दा प्रतिशत जनप्रतिनिधि विभाजनको पक्षमा लाग्नु भयो । सबैलाई सामना गर्दै यहाँसम्म आइपुग्यौं । हिजो काम गरेका केही साथीहरू एमालेबाट चोइटिएर जानुभयो । व्यक्तिगत रुपमा म उहाँहरूलाई केही पनि भन्दिनँ । जीवनयात्रामा एमालेले जे भोगेको यो नयाँ च्याप्टर हो । यसलाई सामाना गर्न हामीसँग तीन हतियार छन्: पहिलो सुस्पष्ट विचार, दोस्रो हाम्रो व्यवस्थित संगठानात्मक प्रणाली, तेस्रो जनतामा लोकप्रियता स्थापित नेतृत्व प्रणाली ।

यो महाधिवेशनले कस्तो नेतृत्व चयन गर्दैछ ?

हामीहरू जुन राजनीतिक कार्यदिशा पारित गरेका छौं, यो कार्यदिशालाई बोक्ने, कार्यान्वयन गर्ने योग्य नेताहरूको पंक्ति एमालेमा हुनुहुन्छ । योग्यतम नेताहरू महाधिवेशनले छान्छ । अर्को कुरा पार्टीमा नेतृत्वको आकांक्षा हुनु सामान्य कुरा हो । हामीसँग के सामर्थ्य छ भने यो प्रकट भएको आकांक्षालाई सुझबुझपूर्ण ढंगले टुंगोमा पुर्‍याउँछौं ।

तपाईँको आफ्नो आकांक्षाचाहिँ के छ ?

यसमा अप्ठ्यारो कुरा केही छैन । म दुईपटक महासचिव भए । म रहने व्यवस्था विधानमा छैन । मैले पार्टीमा लाग्दा बुझेको कुरा के हो भने मेरो योग्यता धेरैथोरै हुनसक्छ । तर, देश र पार्टीका लागि उपयोगी बन्नुपर्छ । अहिले कुन जिम्मेवारी हुँदा काम प्रभावकारी हुन्छ, त्यही अनुसार अघि बढ्छु ।

तपाईँको जिम्मेवारी लिनेबारे अध्यक्ष केपी शर्मा ओलीसँग कुनै सल्लाह भएको छ ?

सरसल्लाहबाट जे जिम्मेवारी आउँछ, त्यो लिनुपर्छ भन्ने सामान्य कुरा भएको छ । हाम्रो मोटामोटी सल्लाह भएको छ ।

सहमतिबाट नेतृत्व चयन हुने सम्भावना कति छ ?

आम देशभरका कार्यकर्ता साथीहरू सहमतिका साथ जानुपर्छ भन्ने भावना व्यक्त गरिरहनु भएको छ । हामी त्यो कोसिस गर्छौं । लोकतान्त्रिक अभ्यास भन्ने वित्तिकै कतिपय मानिसहरूले प्यानल बनाउने, बक्सा थाप्ने, कसैले जित्ने, कसैले हार्ने परिणाम घोषणा गर्ने खाललाई मात्रै बुझ्नु हुँदैन । एउटा उन्नत समझदारीका साथ हामीले एउटा सहमति कायम गर्‍यौं भने त्यो पनि लोकतान्त्रिक प्रणालीलाई स्वीकार गरेकै हुन्छ । सहमति भएन भने प्रतिस्पर्धा गर्ने कुरामा पनि सहमति गर्छौं र सहमतिका साथ अगाडि बढ्छौं ।

अध्यक्षसँग मोटामोटी छलफल भएको भन्नु भयो । उहाँले कता संकेत गर्नुभएको छ, वरिष्ठ उपाध्यक्षमा कि उपाध्यक्षमा ?

यसमा संकेत गर्नु भएको छ भन्ने भन्दा पनि सल्लाह गरेर हामी एउटा निष्कर्षमा पुग्नुपर्छ भन्ने हो । मैले धेरै ठाउँका साथीहरूको भावना के बुझेको छु भने तपाईं वरिष्ठ उपाध्यक्ष उठ्नु पर्छ भन्ने छ । उहाँहरूले मलाई पनि र अध्यक्षलाई यो कुरा भन्नु भएको छ, मैले सुनेको छु ।

प्रकाशित : मंसिर ११, २०७८ १३:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?