सुगेन्द महतोले नवलपरासीको बर्दघाटबाट बैतडीको सडकसम्मको संघर्षपूर्ण यात्रा गर्दै परिवारलाई आर्थिक सहारा दिएका छन्।
What you should know
बैतडी — मेरो मूल घर नवलपरासीको बर्दघाट हो । अहिले म ६० वर्षको भएँ । मलाई यही बैतडी गोठलापानी सडक चउराइको छेउमा बसेको २२ वर्ष भयो । यसै सडक छेउमा बसेर बर्दघाटमा रहेको मेरो परिवार पालेको छु ।
दिनभरि यही सडक किनारामा बसी जडीबुटी–सिन्दूर, चन्दन बेच्ने मेरो दैनिकी नै हो । यही मेरो घरखर्चको आयस्रोत पनि बनेको छ । म औंठाछाप हुँ । घरको अवस्थाले मैले पढ्न पाइनँ । मेरो बुबा साहुकोमा गोरु जोत्ने हुनाले हामीलाई साहुले अनाज दिन्थे । त्यहीबाट बुबाले घरको गुजारा चलाउनु हुन्थ्यो ।
म तीन भाइमा घरको कान्छो हुँ । मैले सानैदेखि अर्काको घर बनाउनेदेखि विकास निर्माणको काममा मजदुरी गरेँ । मैले एक दिन एक जनालाई हाम्रो गाउँमा झोलामा ल्याएको बीउविजन बेच्दै गरेको देखेँ । उनी हाम्रो गाउँका थिएनन् । कुन ठाउँका हौं भनेर मैले उनको घर पनि सोधिनँ । मैले केबल उनलाई यसबाट कमाइ कति हुन्छ र कहाँबाट किनेर ल्याउाछौ भनेर सोधेँ ।
उनको कुरा सुनेपछि मलाई पनि मजदुरी भन्दा पनि गाउँ घुम्दै बीउबिजन बेच्न मन लाग्यो । मैले मजदुरी गरेर बचत गरेको केही रुपैयाँले बजार गएर बीउबिजन पाइने पसलबाट विभिन्न प्रकारका तरकारीका बीउ किनेँ । आफ्नै गाउँमा बेच्न लाज लाग्ने भएकाले छिमेकी गाउँतिर बेच्न थालेँ । यसबाट दिनमा राम्रै कमाइ हुन थाल्यो । म सिजन अनुसारका तरकारीका बीउमात्र बेच्ने गर्थें ।
बीउ किन्न बजार जाँदा मैले एक जनालाई मजस्तै बीउ नभएर जडीबुटी बेच्दै गरेको देखेँ । उनको नजिक गएँ र उनले बोकेका जडीबुटीबारे सोधेँ । बिचरा उनलाई के थाहा यो किन्ने नभएर मेरो आइडिया चोर्ने मान्छे हो भन्ने कुरा । उनलाई मैले उनले किनेर ल्याउने ठाउँदेखि बेच्ने गरेका सहर, गाउँसम्म सबै सोधपुछ गरेँ ।
घर फर्केर सोचेँ । बीउसँगै जडीबुटी पनि बेचे झन् फाइदा होला । त्यही दोस्रो दिनबाट जडीबुटीको व्यापार पनि सुरु गरेँ । गाउँमा भन्दा पनि बजारतिर जडीबुटीको व्यापार राम्रो होला भनेर बर्दघाट छोडेर पश्चिमतिर लागेँ । मैले एक वर्ष कैलालीको अत्तरिया बसपार्क र छेउछाउका गाउँमा जडीबुटी बेचेँ । यतातिर आएपछि मैले जडीबुटी, बीउबिजनसँगै सबै प्रकारको रंग (सिन्दूर) पनि बेच्न सुरु गरेँ । यसबाट राम्रै कमाइ छ । धेरै प्रगति त केही हुँदैन, घरखर्चसम्म राम्रै चल्छ ।
एक वर्ष डडेल्धुरा बसपार्कमा पनि बेचेँ । अर्को वर्ष बैतडी आएको हुँ । अब त मलाई यता आफ्नै घरजस्तो लाग्छ । म यताको गाउँतिर पनि बेच्न जान्छु । यता धेरै जात्रा (मेला) लाग्ने गर्छ । वर्षमा एघार पटक जात्रा हुन्छ । म यी सबै जात्रामा बेच्न जान्छु । बाँकी दिन यही सडक (गोठालापानी बजारको चौराइ) छेउमा बसेर बेच्छु । दिनमा आठ–नौ सयको बिक्री हुन्छ । जात्रामा बेच्न गएको दिन एकै दिनमा १५ सयदेखि २ हजारसम्म कमाइ हुन्छ ।
मेरा ६ छोरी, एक छोरा र श्रीमती छन् । छोरी सबैको बिहे भइसक्यो । आफूले नपढेको हुनाले पढाइको महत्त्व बुझेको छु । त्यसैले छोराछोरीलाई पढाएँ । अहिले छोरो १२ कक्षामा पढ्छ । बर्दघाटमा आधा कट्ठा जमिनमा घर बनाएको छु । यो सबै मैले यही जडीबुटी र बीउबिजन बेचेरै कमाएको हो ।
मसँग जडीबुटीमा गानन, मलेटी, डोलु, कालोनुन, फिटकरी र काली नरायन छ । रंगमा सिन्दूर र चन्दन छ । बीउविजन त विभिन्न प्रकारका छन् । यी जडीबुटी खाएर धेरै प्रकारका बिराम भएका मान्छे ठिक भएका छन् । तिनै मान्छेले गर्दा मेरो प्रचार भएको छ । म मेरो काममा सन्तुष्ट छु । आर्थिक अभावले गर्दा ठूलो सटर भाडामा लिन सक्दिनँ । त्यसैले यही चौराइको एक छेउमा बसेको हुँ ।
घामपानीबाट यही छाताले ओत दिएको छ । राती बास बस्न एक कोठा भाडामा लिएको छु । त्यसैको भाडा तिर्न नि धौ धौ पर्छ– कहिलेकाहीँ त । यहाँका मान्छे राम्रा छन् । अहिलेसम्म मलाई कुनै असहयोग गरेका छैनन् । चोटपटक लागी दुखेको, ग्यास्टिक भएको, पेट दुखेको, रुघाखोकी लागेको र बाउबादमा यो मैले बेच्ने जडीबुटीले काम गर्छ । मैले आफ्नो यो कामलाई सेवा पनि सम्झेको छु ।
म यो जडीबुटी दार्चुलाको हिमाली क्षेत्रबाट र रंग भारतको पटना बजारबाट ल्याउने गरेको छु । कसैसँग माग्नु परेको छैन । सानो भए पनि नगदमै व्यापार हुन्छ । उधारो हुँदैन । छोरो कमाउने भएपछि अवश्य पनि उसले ‘सडक किनारमा धूलोधूवाँ खेपेर अब व्यापार गर्न सक्नुहुन्न बाबा !’ भन्छ होला । त्यतिबेला मात्रै यो व्यापार छोड्छु होला ।
प्रस्तुति : मोहन चन्द
