‘पाहुनालाई मिठोमसिनो खुवाउन नसक्दा साह्रै दुःख लाग्छ’

असार १५, २०८२

शेरबहादुर पौडेल

”It is very sad to not be able to feed the guests deliciously”

उदयपुर — उमेर ८० पुग्न लागेर के गर्नु, खप्परमा सुख भन्ने कुरा लेखेकै रहेनछ । हातमुख जोर्न केही न केही काम गर्नैपर्छ । कटारी नगरपालिका–६, सोमबारेमा बसोबास छ । दुई वर्षदेखि मदन भण्डारी लोकमार्गअन्तर्गत सडकछेउ छाप्रोमा पसल थापेर गुजारा चलाइरहेको छु ।

छप्रोमा चाउचाउ, बिस्कुट, चुरोट, पानी, कुरमुरे, चकलेट, सेम्पु यस्तै सामान छन् । लोकमार्ग हुँदै यात्रा गर्नेले घरीघरी गाडी रोकेर सामान खरिद गरिदिन्छन् । यसैले यसो गुजारा चलाएको छु ।

परिवारमा मसहित श्रीमती, छोरा–बुहारी र एउटा नाति छ । छोरो तीन वर्ष मलेसियामा मजदुरी गरेर फर्कियो । उसैको कमाइले सानो घर बनायौं । अहिले त्यही घरमा बस्छौं ।

छोरोले धेरै पढेलेखेको छैन, उसले पनि सामान्य ज्याला मजदुरी गर्ने हो । विदेशमा पनि त्यही गर्‍यो, अहिले स्वदेशमा पनि त्यही काम गर्दैछ । सडकमा काम गर्छ, अलिअलि पैसा कमाएर ल्याउँछ, तर त्यतिले घरखर्च टर्दैन । उमेरले ७५ भन्नेले त मलाई डाँडामाथिको घाम भन्छन्, तर छोराको भर परेर मात्र गुजारा चल्दैन । बुहारी घरकै काम गर्छिन्, उनी पनि सामान्य पढेलेखेकी मात्र हुन् ।

फेरि छोरी मान्छेलाई काम गर्न कहाँ पठाउनू ? नातिलाई पढाउनै पर्‍यो । हामीले पढ्न पाइएन, छोरालाई पढाउन सकिएन । तर नातिलाई त अनपढ बनाउनु भएन । नातिकै भविष्यका लागि छोराले दिनरात मिहिनेत गरिरहेको छ । तर, उसको कमाइले घरखर्च धान्नै मुस्किल छ । बुढेसकाल भनेर नहुँदो रहेछ, बाँच्नका लागि संघर्ष गर्नैपर्ने रहेछ । चर्को घाममा खलखली पसिना आउँछ, हातगोडा दुख्छ, तालु सुक्छ, आँखा तिरमिराउँछन्, तैपनि यो उमेरमा दुःख गर्नुपरेको छ । 

मेरो नाति सरकारी स्कुलमा कक्षा ८ मा पढ्छ । सरकारी स्कुलमा भन्दा बोर्डिङमा पढाइ राम्रो हुन्छ भन्छन् । सरकारी स्कुलमा अंग्रेजी खासै राम्रो पढाइ हुँदैन भनेर गाउँका धेरैले छोराछोरीलाई निजी स्कुलमा पढाएका छन् । हामीलाई नि नातिलाई बोर्डिङमा पढाउन त मन छ नि, तर पैसा नै रहेछ ठूलो कुरा ।

बिहान ७ बजेदेखि ११ बजेसम्म र दिउँसो ३ बजेदेखि ७ बजेसम्म यही छाप्रोमा बस्छु, दिनको ४/५ सयसम्म आम्दानी हुन्छ । त्यति पनि हाम्रा लागि त ठूलो आम्दानी हो । गर्मी महिना भएको हुनाले यात्रुहरू फ्रिजको चियो पानी खोज्छन्, तर यो छाप्रोमा कहाँबाट जोड्नु फ्रिज ? खानकै लागि त जसोतसो गुजारा चलेको छ तर आवश्यकता यतिले के पूरा हुन्थ्यो ? कहिलेकाहीँ माछामासु खान, चप्पल जुत्ता फेर्न, २/३ महिनामा एकसरो कपडा फेर्न, घरमा भाँडा वर्तन, टेबल कुर्सी जोड्न मन लाग्छ, तर कमाएको पैसा त खानामै सकिन्छ । 

सबैभन्दा बढी खानपानमै खर्च हुन्छ । एक रोपनी जतिमा बुहारीले तरकारी लगाएकी छिन् । करेसाबारीमा फलेको तरकारीले सधैं त के पुग्थ्यो ? चामल किन्ने गरेका छौं । उमेर बढ्दै जाँदा रोग पनि बढ्ने रहेछ । बिराम पर्दा ओखतिमूलो गर्नै पर्‍यो । नाति र बुहारी राम्रा लुगा, जुत्ता–चप्पल लगाउन रहर गर्छन् । २/३ महिनामा एकजोर फेर्छन् । छोराले कमाएर जसोतसो उनीहरूको रहर पुर्‍याएको छ । नातिको पढाइका लागि कापी–कलम, स्कुल ड्रेस, जुत्ता–चप्पलमा खर्च हुन्छ । अहिलेसम्म खाजा खाने पैसा दिन सकिएको छैन । 

छोरा र मेरो गरेर सरदर महिनाको २०/२५ हजार जति कमाइ हुन्छ । एकनास कमाइ हुँदैन । कहिले पानी पर्छ, छाप्रोबाट पानी चुहिन्छ, त्यो दिन व्यापार नै गर्न पाइन्न । जसोतसो घरखर्च त चलेको छ तर पर्याप्त छैन । ऋणदान गरेर भए पनि जसोतसो घरखर्च चलाइरहेका छौं । नाति माछामासु खाइरहन खोज्छ तर पैसाले पुग्दैन, के गर्नु ? महिनामा २/४ चोटि घरमा मासु पाक्छ, अरू बेला त त्यस्तै हो । 

आफू त जसोतसो खाइन्छ, घरमा पाहुनापाछा आउँदा मिठो मसिनो खुवाउन सकिएन भने चाहिँ साह्रै दुःख लाग्छ । सुत्ने कोठा नि राम्रा छैनन् । परिवार त जसोतसो बसेका छौं । गर्मीका लागि एउटा पंखासम्म राखिएको छ, त्यो पनि दिउँसो त चलाउनु र नचलाउनु उस्तै हुन्छ गर्मीले । पाहुना आउँदा चाहिँ छुट्टै सुत्ने कोठा नहुँदा साह्रै अप्ठयारो लाग्छ । बेड पनि त्यति राम्रो किन्न सकिएको छैन । दुईवटा सामान्य खाट छन् । आफूहरूलाई चाहिँ काम चलेको छ । 

प्रस्तुति : राकेश नेपाली

शेरबहादुर

Link copied successfully