कहिलेकसो चिया–नास्ता खान, नयाँ कपडा लगाउन मन लाग्छ तर यी रहर पूरा गर्न पनि महिनौंदेखि सोच्नुपर्छ ।
काठमाडौँ — म सडक सफाइ गर्ने मान्छे हुँ । सडक सफाइ अर्थात् हेरचाह र मर्मत गर्ने । अहिले रुकुम पश्चिमस्थित जिल्ला सदरमुकाममा पर्ने मध्यपहाडी लोकमार्गअन्तर्गत पीपलनेटादेखि ठाराढंगासम्म ६ किलोमिटरमा सडकको मर्मत तथा सफाइको काम गरिरहेको छु ।
हामी दुई जना छौं । यतै डेरा गरेर बसेका छौं । एक जनाको भागमा ३ किलोमिटर सडक हो । तर एक्लै काम गर्न गाह्रो हुन्छ भनेर दुई जनाले मिलेर काम गर्छौं । नालाहरूमा फोहोर जम्मा हुँदा त्यो फोहोर फाल्ने अनि सडकलाई दुरुस्त राख्ने जिम्मेवारी हाम्रो हो ।
अरु खण्डमा भन्दा बजार क्षेत्रको सडक धेरै फोहोर हुन्छ । यसकारण काम गर्न गाह्रो छ । हातमा लगाउने पन्जा र मास्क पनि हामिसँग छैनन् । आफ्नो काम हो भनेर जे–जसरी हुन्छ, गरिरहेका छौं । यस्तै छ ।
म अहिले ४६ वर्षको भएँ । मेरो घर रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नं. २ स्यालामा पर्छ । मेरो मासिक तलब २४ हजार रुपैयाँ आउँछ । यसैले आफूसँगै परिवार पाल्नु परेको छ । मेरा ३ छोरी र एक छोरा छन् । ठूली छोरीको बिहे भयो । बाँकी तीनमध्ये दुई जना काठमाडौंमा र एक जना गाउँमै पढाइ गर्दैछन् । उनीहरूको खर्च व्यवस्थापनले नै म थला परेको छु ।
काठमाडौंमा रहेका छोराछोरीलाई महिनामा चोखो १० हजार रुपैयाँ पठाउनुपर्छ । बाँकी बचेको मध्ये महिनामा त्यही ५ हजारजति घरमा श्रीमतीलाई पठाउँछु । म यता खानेबस्नेमा त्यही ५ हजारजति खर्च हुन्छ । बचेको ३–४ हजारले औषधीमूलो, कपडा–लत्ता र अरू रहर पूरा गर्नुपर्छ ।
रहर त मेरा खास छैनन् । तैपनि कहिलेकसो चिया–नास्ता खाने, नयाँ कपडा लगाउने मन लाग्छ तर यी रहर पूरा गर्न पनि महिनौंदेखि सोच्नुपर्छ । दिनभरि काममा घोटिँदा पनि आएको आम्दानीले जिन्दगी चलाउन मुस्किल छ । तर अब त बानी परिसक्यो । किनभने यस्तो हुन थालेको धेरै भयो ।
म पहिला ६ वर्ष साउदीमा बसेर काम गरेँ । फर्केर आएपछि केही वर्ष सल्यानतिर सडक निर्माणको काम गरेँ । त्यसपछिका केही वर्ष सडकमै काम गर्न सिन्धुपाल्चोक गएँ । अनि दुई वर्ष भयो सडक विभागबाट नियुक्ति लिएर यसरी काम गर्न थालेको । अहिले त महिना मरेपछि ढ्याक्क स्यालरी आउँछ । आएको दिन मन गदगद हुन्छ । तर २४ घण्टा पनि आफ्नो पासमा त्यो तलब रहन पाउन्न । दोस्रो दिन फेरि उही पहिलेकै अवस्थामा आइन्छ ।
यो कमाइ हेर्दा यस्तो लाग्छ, मेरो आम्दानीले त कुखुरा पाल्नसम्म पुग्ला । तर यहाँ हात्ती पाल्नु परिरहेको छ । के भन्ने, कसलाई भन्ने ! आफ्ना सुख–दुःख एक मनले आफैंलाई सुनाउने अनि अर्को मनले ‘यस्तै हो पिर नगर’ भनेर धाप मार्ने गर्छु । चित्त बुझाउँछु ।
दशैंका बेला चार दिनजति बाहेक अरु बेला हामीलाई बिदा हुन्न । अरु बेला आकस्मिक पर्दा आफ्नो भागको काम साथीलाई जिम्मा दिने अनि उसलाई पर्दा आफूले हेरिदिने गरी घर जान पाइन्छ । पछिल्लोपल्ट चैते दशैंमा घर गाको थेँ । त्यसपछि गको छैन ।
खर्चपर्चको कुरा नगरौं । आम्दानीले नपुगेर ऋण लिनुपर्छ । त्यो ऋण पो कहिले तिर्ने हो भनेर पिर लाग्छ । छोराछोरीले कमाएर तिर्लान् भन्ने आश छ । नकाम गरेर लगाएको ऋण पनि त हैन । उनीहरूकै लागि हो, लिएको तिर्लान् नि !
आधा उमेर पनि ढल्कियो । जहान–छोराछोरी छाडेर काम खोज्दै हिँडेको वर्षौं भयो । भगवान्को कृपा भयो भने स–परिवारसँगै बस्ने रहर छ । तर, कहिले पूरा होला र ! कमाइ भन्ने त यस्तै रहेछ, मान्छेलाई जति भए पनि पुग्दैन रच । सन्तोष लिन सक्नुपर्छ, खाएको आङमा लाग्छ, सुत्ने बेला निद लाग्छ । यस्तै सोचेर म सकेसम्म मन बुझाउने कोसिस गर्छु ।
प्रस्तुति : महेश केसी
