‘छोराछोरीका लागि कापी-कलम किन्ने पैसा नहुँदा भाग्य सम्झिएर छाती पिटेर रुन्छु’

नगर प्रहरीको आँखा छलेर सडक पेटीमा मकै पोल्छु

असार ३, २०८२

अनिता देवी

”When I don't have money to buy a pen and paper for my children, I beat my chest and cry because of my luck”

पोखरा — भोको पेट र आवश्यकताले फरक देश नभन्दो रहेछ । १६ वर्षअघि श्रीमान‍्को साथ लागेर नेपाल आएकी हुँ । मेरो जन्मघर भारत हो । तर, सानै उमेरमा कामको खोजीमा नेपाल आएकाले अहिले त मलाई मेरो घर नै नेपाल हो जस्तो लाग्न थालेको छ । बरू भारत माइती देश जस्तो लाग्छ ।

यति रमणीय देशमा ठूलो सपना बोकेर आएका थियौं । परिश्रम गरेर आरामले जिन्दगी कटाउने सोचेर मलाई यहाँ ल्याउने श्रीमान् बिरामी परेपछि सपना र चाहना अलपत्र परे । उहाँको पेट दुख्ने समस्या छ । के रोग लागेको हो मलाई थाहा छैन । अलि राम्रो अस्पताल लगेर जचाउन पनि मसित पैसा छैन । त्यसैले पीडा सहेर बस्नु परेको छ । लामो समयदेखि घरखर्च चलाउनुका साथै श्रीमान् र दुई सन्तानको रेखदेख गर्ने जिम्मेवारी मेरै काँधमा छ । 

पढाइलेखाइ नभएकी मलाई परदेशमा रोजगारी कसले दिन्थ्यो र ? त्यही भएर अहिले मकै पोलेर घरखर्च चलाइरहेकी छु । यसभन्दा अगाडि तरकारीको पसल पनि चलाएका थियौं । त्यही बेला श्रीमान् बिमारले थलिएपछि तरकारी किन्ने पैसा नभएपछि पसल छोड्न बाध्य भयौं । थोरै लगानीमा दुई/चार पैसा हात पर्ने भएपछि मकै बेच्न थालेँ । चार महिनादेखि यसैबाट गुजारा चलाइरहेकी छु । थोरै लगानी अनि थोरै स्थान चाहिने भनेर नहुँदो रहेछ । 

सडकमा बसेर व्यापार गर्नुपर्छ । सहरका घरछेउमा मकै पोल्न पाइँदैन । घर कालो हुन्छ भनेर घरबेटीले गाली गर्छन् । खुला सडक रोजेर घामपानी सहनुपर्छ । त्यहाँ पनि कहाँ सुख छ र ? नगर प्रहरी र कर्मचारीले खेद्छन् । सडकपेटीमा बसेको देखेपछि नगर प्रहरीले सामान उठाएर लैजान्छन् । 

मेरा सासु–ससुरा भारतमै हुनुहुन्छ । अहिले पोखरामा एक छोरा, एक छोरी र श्रीमान् मात्र बस्छौं । मेरा माइतीहरू पनि भारतमै छन् । तर, दुःखमा साथ दिने कोही नहुने रहेछ । त्यसैले माइतीको सम्झना गर्न पनि मन लाग्दैन । आफन्त टन्नै छन् । भएर पनि के गर्नु, दुःखमा कसैले साथ नदिने रहेछन् । मलाई फेरि नगरपालिकाको आँखा छल्नै ठिक्क छ । हरिया र पोलेका मकैका घोगा लुकेर बेच्नुपर्ने बाध्यता छ । हामी निमुखालाई गरिखान पनि सहज छैन । 

पोखराको पृथ्वीचोकमा रहेको तरकारी मण्डीबाट एउटा घोगाको १३/१४ रुपैयाँ तिरेर दिनहुँ ४०/४५ वटा मकै ल्याउँछु । त्यसरी ल्याएका मकै प्रतिघोगा ४० रुपैयाँमा बिक्री गर्छु । सधैं सबै मकै बिक्री हुन्छन् भन्ने छैन । सबै मकै बिक्री भएका दिन दिनमा ६ देखि ७ सय रुपैयाँसम्म आम्दानी हुन्छ । यही आम्दानीले दाल, चामल, हरियो तरकारी, नुन, तेल र मरमसला किन्छु ।

दिनभरि मकै बेचेर अलिकति कमाइ भएपछि साँझ भान्सामा सकिएका कुरा किनेर घर फर्किन्छु । मकै पोलेको आम्दानीले वर्षमा एकजोर नयाँ लुगा किनेर लाउन पनि समस्या छ । छोराछोरीले माछा–मासु खान खोज्छन् । तर, उनीहरूले चाहना गरेको बेला किनेर खुवाउन पनि सक्दिनँ ।

पोखराजस्तो महँगो सहरमा बसेका छौं । यहाँको महँगाइको कुरा गरिसाध्यै छन् । जसोतसो अहिले दुई सन्तानलाई पोखरा–८ स्थित जनप्रिय माध्यमिक विद्यालयमा पढाइरहेकी छु । अहिले छोरा आठ र छोरी सात कक्षामा अध्ययन गरिरहेका छन् । सन्तानलाई धेरै पढाएर आफूले पाएको दुःखको भर्पाइ गर्ने हामी बुढाबुढीको सपना छ । आफूले काम गर्न नसकेपछि श्रीमान‍्ले छोराछोरीको पढाइलाई लिएर निकै चिन्ता गर्नुहुन्छ । आफूले अक्षरसम्म चिन्न पाइनँ । १४ वर्षमै बिहे भयो । १६ वर्षको उमेरमा श्रीमान‍्सँगै नेपाल आएँ । 

यहाँ आएदेखि अहिलेसम्म पोखरामै सुखदुःख गरेर बाँचिरहेका छौं । के के न गरौंला भनेर यहाँ आएको १६ वर्ष बिते पनि केही उपती गर्न सकिनँ । तर, छोराछोरी पढाउने रहर कुनै हालतमा नटुटोस् भनेर कर्म गरिरहेकी छु ।

छोराछोरीलाई क्याम्पस पढाएर जागिर खुवाउने रहरले आगोको राप भुल्ने गरेकी छु । तर, छोराछोरीका लागि कापी–कलम किन्ने पैसा नहुँदा भाग्य सम्झिएर छाती पिटेर रुनु सिवाय विकल्प पनि हुँदैन । त्यतिबेला मन ज्यादै खिन्न हुन्छ । कापी–कलम नभएका दिन छोराछोरी स्कुल जान मान्दैनन् । त्यस्तो बेला झन् पीडा हुन्छ ।

प्रस्तुति : प्रतीक्षा काफ्ले

अनिता

Link copied successfully