‘थाप्लोमा नाम्लो नराखे जीवन धान्न गाह्रो छ’

आम्दानी भनेकै कहिलेकाहीं ज्याला मजदुरी पाउँदा हुने हो

असार २, २०८२

तेन्जिङ लामा

”It's hard to survive without keeping a name in Thaplo”

गोरखा — पेट पाल्नका लागि दुःख गर्दैमा दिन बितेका छन् । यस क्षेत्रमा धान खेती हुँदैन । दुई हल मेलोको बारी छ । भएको बारी बाँझो राखेको छैन । वर्षमा एक बालीमात्रै खेती हुने भएकाले वर्ष बिराएर गहुँ, जौ, करु, मकै लगाउने गरेको छु । यही खेती पनि जोगाउन बडो मुस्किल छ ।

भालु, बाँदर, मृग, झारल, घोरल, नाउर लगायतका वन्यजन्तुले बाली सखाप पार्छन् । यस्तो समस्या थपिएको १० वर्षजति भयो । मकै भित्र्याउने बेला बारीमै बास बस्नुपर्छ । जंगली जनावरबाट जोगाउन सके वर्षमा ५० डोको मकै भित्र्याउँछु । ४० स्याउका बोट हुर्कंदै छन् । ६ वटा गाई छन् । मलका लागि गाई पालेको हो । कहिलेकाहीं दुध खान पनि काम लागेको छ । 

गोरखाको उत्तरी भेगमा पर्ने चुमनुव्री–५ बिहीमा जन्मिएको हुँ । उमेर ४८ वर्षको भएँ । आम्दानीको बाटो छैन । बारीको खेतीले कसै गरे पनि वर्ष दिन खान पुग्दैन । नुन, तेल, चामल हरेक कुरा किनेर खाने हो ।

धान खेती नहुने भएकाले खच्चडले बोकाएर ल्याएको चामल किन्दा एक बोराको चार हजार पर्छ । कहिले बजारको कहिले खाद्यको चामल किन्ने गरेको छु । खाद्यको चामलको ढुवानी भाडा नलाग्दा अलिक सस्तो पर्छ । चिनी एक मानाको एक सय रुपैयाँ पर्छ । ढुवानी महँगो हुँदा भाउ बढी पर्ने हो । यो हिमाली भेग भएकाले दुःख बढी छ । पैसा पाउनै गाह्रो हुन्छ । दुःख गरेको पैसा चामल किन्यो, तेल किन्यो, चिनी किन्यो त्यसैमा ठिक्क हुन्छ । 

खाने खर्च जुटाउनै धेरै खर्च हुन्छ । मैले एक कक्षा पनि पढ्न पाइनँ । नपढेको मान्छेले जागिर पाउने कुरा पनि भएन । खाने खर्च जुटाउँदैमा यतिका वर्ष बित्यो, पैसा नभएर कमाउन विदेश जाने त सोच पनि बनाइनँ । तीन छोरी, एक छोरालाई सेराङ गुम्वामा पढाएको छु । उनीहरू त्यहीँ (आवासीय सुविधा सहित) बसेर पढ्छन् । घरमा बुढाबुढी छौं । कहिले ढेंडो, कहिले चामलको भात त कहिले खोले खाएर गुजारा गर्छौं । दुई जना भए पनि महिनाको १० हजार त कम्तीमा खर्च भइहाल्छ ।

पेटका लागि दुःख छ । दुई दिन परको सामागाउँ पुगेर पनि ढुङ्गा बोक्ने, फलेक चिर्ने, दाउरा बटुल्ने काम गर्छु । कहिले झलुङ्गे पुलको लठ्ठा तान्ने काममा जान्छु । यो काम गर्दा दिनको एक हजार ज्याला मिल्छ ।

पहिले खुट्टाले हिँड्दा गोरखा बजार पुग्नै चार दिन लाग्थ्यो । मेरो गाउँ बिहीबाट अहिले गोरखा बजार पुग्न दुई दिन लाग्छ । तीन वर्षयता पाङसिङसम्म गाडी चल्दा यो सुविधा पाएका हौं । अहिले एक दिन पैदल र एक दिन गाडीमा हिँडेपछि दुई दिनमा गोरखा बजार पुगिन्छ । गाडी आइपुगेको पाङसिङसम्म अहिले पनि म भारी बोक्न जान्छु । खच्चडले बोक्न नमिल्ने सामग्रीहरू मान्छेले नै बोक्नुपर्छ ।

मनास्लु क्षेत्र आएका पर्यटक, लामा गुरुहरू वा पाहुनाको सामान बोक्ने काम पाउँदा खुसी लाग्छ । उहाँहरूले सामान हेरेर दुई हजार/चार हजारसम्म दिनुहुन्छ । आम्दानी भनेकै कहिलेकाहीं ज्याला मजदुरी पाउँदा हुने हो । यही काम पनि सधैं पाइँदैन । काम पाएका बेला यही पैसाले चामल, नुन, तेल, एकसरो लुगा किन्न पुगेको छ । 

ढुङ्गाको गारो, काठको फलेकले छाएको घर छ । ठूलो बिरामी केही छैन । कहिलेकाही पेट दुख्छ त कहिलेकसो दाँत दुख्छ । बिरामी हुँदा बिहीको हेल्थपोस्ट जान्छु । हेल्थपोस्टमा उपचार गरेको पैसा पर्दैन ।

दुर्गमको ठाउँ भएकाले होला, जन्मिएदेखि नै दुःख झेलेका छौं । गाउँमा विद्यालय नहुँदा पढ्न पाइएन । जहा जाँदा पनि हिँडेरै पुग्नुपर्थ्यो । जे सामान ल्याउन पनि बोकेर ल्याउनुपर्ने । पहिले सानो हाुदा त ढेंडो मकै मात्र खान्थ्यौं । पहिले चामल किनेर खान्छु भन्दा पनि पाउन गाह्रो थियो ।

खच्चड आएर चामल किनेर खान पाएका छौं । पाङसिङसम्म गाडी नआउँदा त नागरिकताको फोटो खिच्न पनि चार दिने हिँडेर गोरखा बजार पुगेको अझै सम्झनामै छ । मलाई मात्र होइन, यहाँका सबै मान्छेलाई दुःख छ । थाप्लोमा नाम्लो नराखे त आम्दानी नै हुँदैन । यो ठाउँमा दुखमात्र छ, सुख कहिले आउने थाहै छैन ।

प्रस्तुति: हरिराम उप्रेती

तेन्जिङ लामा

Link copied successfully