भ्रष्टाचार मौलाएकाले घुसबिना केही काम नहुने रहेछ
तिलोत्तमा — गुल्मीको पहाडमा जन्मिएपछि नजिकको पढाइ र रोजगारीको गन्तव्य भनेकै रूपन्देहीको बुटवल हो । ११ वर्षअघि पढाइका सिलसिलामा बुटवल झरेको थिएँ । अहिले समाजशास्त्रमा स्नाकोत्तर अध्ययन गरिरहेको छु । पढाइ सकेर मुलुकमै केही गरौंला भन्ने सोच त मनमा आइरहन्छ । तर, यहाँ अडिने वातावरण छैन । साथीसंगी विदेशिएको देख्दा मेरो गन्तव्य पनि उतै हो कि जस्तो लाग्छ ।
केही समय देवदहको खैरेनीमा दिदीको घरमा बसेर बुटवल बहुमुखी क्याम्पसमा स्नातक पढेँ । देवदहबाट आउजाउ गरे पनि गाडी भाडा र खाजा खर्च चाहिन्थ्यो । खर्चको जोहो गर्न भनेर रेडियोमा काम गर्दा महिनाको ६ हजार पारिश्रमिक पाउँथेँ । त्यसले खाजा खर्च पुग्थ्यो । तर, महँगी बढेपछि त्यति कमाइले खर्च धानेन ।
बुवा–आमाले खेतीपाती गर्नुहुन्छ । उहाँहरूसित पैसा मागेर पढाइ पूरा गर्ने अवस्था छैन । आफैंले कमाएर पढ्नु पर्ने भएपछि दिदीको घरबाट बसाइँ सरेर बुटवलमा दाइ–भाउजूसँग बस्न थालेँ । बुटवल आएपछि चार वर्ष फोटो स्टुडियोमा काम गरेँ । फोटो स्टुडियोमा काम गर्दागर्दै ग्राफिक डिजाइनको अनलाइन कक्षा लिन थालेँ । अहिले म ग्राफिक डिजाइनरका रूपमा कार्यरत छु । मिलेसम्म बिहान क्याम्पस जान्छु । कक्षा लिन नभ्याएका बेला साथीहरूसँग सोधेर अध्ययन गर्छु ।
बुटवलको बसाइ पनि लामो रहेन । अहिले तिलोत्तमा नगरपालिकामा बस्न थालेको छु । बिहान १० बजेदेखि काम सुरु हुन्छ । साइकल चढेर बुटवलमा काम गर्न जान्छु । बस चढेर जानु पर्दा एकतर्फी भाडा ४० रुपैयाँजति लाग्छ । अहिले महिनाको १५ हजार रुपैयाँ तलब छ । त्यही पैसा घर पठाउने, तरकारी, फलफूलदेखि खाजा र पढाइ खर्चका लागि छुट्याउने गरेको छु ।
कहिलेकाहीँ पैसा बचेका बेला लुगाफाटा किन्छु । नयाँ साइकल महँगो पर्ने भएकाले ८ हजार रुपैयाँमा ‘सेकेन्ड ह्यान्ड’ साइकल किनेको हुँ । त्यसले अहिले मजाले साथ दिइरहेको छ । व्यापार गर्न मन थियो । तर, पैसा चाहिने भएपछि सपना साँचेर मात्र कहाँ हुने रहेछ र ! कम्तीमा ५ लाख रुपैयाँ सुरुमा चाहिन्छ, त्यति पैसा कहाँबाट ल्याउनु । प्रहरीमा भर्नाका लागि आवेदन दिएँ, उत्तीर्ण भइएला भन्ने सोचेँ । तर आफ्ना मान्छे ठूला पदमा चाहिने रहेछ पास हुन । त्यता फेल भइयो ।
लोकसेवाको तयारी गरेँ । तीनपटक पहिलो पेपरमा नाम निकालेँ । अर्को दिने बेलामा मिहिनेत नै पुगेन । मिहिनेत गर्न कोठामा बसेर निरन्तर पढ्नु पर्छ । मलाई काम नगरी उपाय छैन । कामबाट आएर बेलुका कतिबेला गएर पढ्ने ! कामले लखतरान होइन्छ । सुत्न पनि पर्यो । यस्ता कुराले मन भारी हुन्छ । कहिलेकाहीँ त दिक्क लागेर आउँछ । एक्लै खुब रुन मन लाग्छ, तर रोएर समस्या टर्ने होइन भन्ने बुझेपछि रुन पनि छोड्दिन्छु !
पढाइमा लगनशील, अनुशासित विद्यार्थी भएर १२ कक्षामा छात्रवृत्तिसमेत पाएको थिएँ । त्यसपछि यता आएँ । पैसाको मोह, खर्चको जोहो । मैले पैसा कमाएर ७० हजारको एउटा ल्यापटप चाहिँ सम्पत्तिका नाममा जोडेको छु । त्यसबाहेक अरू केही गर्न सक्ने त कमाइ नै छैन । अब विदेश जानुको विकल्प छैन भन्ने अन्तिम निर्णयमा पुगेको छु । कमायो खर्च पुग्दैन । कमाइभन्दा बढी खर्च छ । भविष्य सुनिश्चित छैन । पैसा यति धेरै कमाउन मन छ कि यतिले पुग्छ होला भन्ने लागोस् । हामीजस्तो युवामा बढेको वितृष्णा मेटाउन कुनै सरकारले केही काम गरेनन्, गर्दैनन् । भ्रष्टाचार मौलाएको देशमा बिना घुस केही नहुने रहेछ जस्तो लाग्न थाल्यो ।
यस्तो देशमा बसेर केही गर्छु भन्नेले पहिला पैसा ठीक्क पारेर कुनै कामका लागि गुहार माग्न जानुपर्छ । काम मागेर वा व्यवसाय गरेर पनि के गर्ने ? लगानी उठ्दैन । सबैको अवस्था नाजुक बनिरहेको छ । देशको माया लाग्ने, यहीँ बस्न मन लाग्ने त सपना हो अब । विदेश छ, कमाउन पाइन्छ, उतै रमाउन पनि पाइन्छ । यही विचार उत्तम छ अब ।
प्रस्तुति : सन्जु पौडेल
