सडक पिच गर्न जानेपछि साथीभाइसँग गाउँबाट अलि पर, अलि पर गर्दा गर्दै देशका धेरै जिल्लामा पुगेर काम गरिसकेँ
रुकुम पूर्व — म फिरन्ते कामदार हुँ । जता ज्यालादारी मिल्छ, उतै मेरो ठेगान हुन्छ । अहिले ६२ वर्षको भएँ । तर, हातपाउ खियाउन छाडेको छैन । मेरो घर बाराको गढीमाई नगरपालिका–४, सवैयाटारी हो । थपक्क घर बसेर बालबच्चासित रमाउन पाएको छैन । उनीहरूलाई खानपान जोहो गर्न सडक निर्माणस्थलमा पिच गर्ने काम गर्छु । यही कामबाट आर्जन भएको दुई/चार पैसा घर पठाएपछि परिवारको पेट भरिन्छ ।
यस्तो काम थाल्ने बेला त्यही २०–२२ वर्षको थिएँ । ४० वर्षभन्दा बढी समयदेखि यही काम गरिरहेको छु । गाउँमा भर्खर सडक निर्माणको क्रम सुरु भएका बेला साथीभाइसित काम गर्न थालेँ । सडक पिच गर्न जानेपछि साथीभाइसँग गाउँबाट अलि पर, अलि पर गर्दा गर्दै देशका धेरै जिल्लामा पुगेर काम गरिसकेँ । देशका धेरै सडकमा मेरो मिहिनेत खर्च भएको छ । पसिना बगेका छन् ।
हाम्रो २३ जनाको समूह छ । कालोपत्रका लागि तयार सडकमा गिट्टी फिँजार्ने, सडक बढार्ने, अलकत्रा पकाउनेदेखि अलकत्रा छर्कने लगायत काम गर्छौं । तातो–चिसोको प्रवाह हुँदैन । कहिले जीउ ठिहिर्याउने चिसो हुन्छ त कहिले खलखली पसिना बग्ने गर्मी । तर काम गर्नैपर्छ । धूलो उड्छ, अलकत्रा पकाउँदा भतभती पोल्छ अनि धूवाँको मुस्लो मुखबाट भित्रैसम्म पस्छ । जीउलाई त सास्ती छ । तर भगवानको कृपाले अहिलेसम्म गम्भीर बिराम लागेको छैन ।
हामी ठेकेदारको सम्पर्कबाट यहाँ आएका हौं । दिनभरि काम गरेको ७ सय रुपैयाँ ज्याला मिल्छ । महिनाभरि काम गर्यो भने २१ हजार कमाइ हुन्छ । दुःख–बिराम पर्दा कहिलेकसो एक–दुई दिन तलमाथि हुन्छ । महिनाको यही कमाइले मेरो घरखर्च चलेको छ । मसँगै जहान अनि २२ र २३ वर्षका दुई छोरा र २१ वर्षकी एक छोरी छिन् । उनीहरूले बिहेबारी गरिसके । जेठो छोरा गाउँमै ट्याक्टर चलाउँछ, अनि कान्छो छोराको मासु पसल छ । छोराहरूको कमाइ उनीहरूलाई ठिक्क हुन्छ । मेरो कमाइले बुढाबुढीको खर्च चलाइरहेका छौं ।
सबैभन्दा धेरै खर्च खानपानमा हुन्छ । दाल, चामल, तरकारी र नुन–तेल आदि गरेर महिनामा ९ हजारजति खर्च भैजान्छ । छोराको बिहेका बेला बैंकबाट कर्जा लिएका थियौं, त्यसको किस्ता महिनाको ७ हजार पर्छ । अनि बाँकी कपडामा २ हजारजति अनि खाजा–नास्तामा १ हजारजति खर्च हुन्छ ।
अनि अलिअलि बचेको पैसाले औषधीमूलो गर्ने हो । काम गरेको गरै, पसिना बगाएको बगायै गरे पनि खल्ती सधैं रित्तै हुन्छ । अब त यस्तैमा बानी परिसक्यो । मेरा रहर त खासै छैनन् । बुढिया अलि बिरामी छे । उसको राम्रो इलाज गर्न सकेको छैन । पैसा कमाएर उसको राम्रो जाँच गरौंला भनेको पनि यस्तै भैराछ ।
१० धुर जमिनमा एउटा कच्ची घर छ । पैसा भए त अलि जग्गा थप्न हुन्थ्यो । यो त सपना नै भयो । जे होस् यति भए पनि ज्यान पालिएकै छ । म त यसैमा खुसी छु । चाडबाड आउँछन्, बिभिन्न बेला घरमा आफन्त भेला हुन्छन्, त्यस्तो बेला एक जनाको कमाइले पुर्याउन हम्मे पर्छ । चरीमासु खान दशबार सोच्नुपर्छ । हामी त काम खोज्दै–खोज्दै नेपालका पूर्वदेखि पश्चिमसम्म पुगेका कैयौं अनुभव छन् । पोखरा, काठमाडौं, तेह्रथुम, इटहरीदेखि जनकपुर, वीरगन्ज आदि विभिन्न ठाउँमा पुगेर काम गरेका छौं ।
अहिले यो मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुम पूर्वमा छौं । हाम्रो सामूहिक बसाइ छ । गाउँकै चेलीहरू पनि काम गर्न आएका छन् । उनीहरू खाना पकाउँछन्, हामी अरु काम गर्छौं । यहाँको खान र बस्नको व्यवस्था चाहिँ ठेकदार आफैंले गरेका छन् । अरु ठाउँ जाँदा पनि यसरी नै व्यवस्था गरेका हुन्छन् ।
एक महिनाका लागि यहाँ (रुकुम पूर्व) आएको आज १३ दिन बित्यो । अब बाँकी दिन काम गरेर यहाँबाट घर जाने अनि केही दिन घरमा बसेर दमकतिर काम छ, त्यहाँ जाने योजना छ । घर–परिवार त मौका परेका बेला मात्रै भेटिन्छन् । अरु बेला त काम, काम । के गर्ने यसरी काम नगरे खान पुग्दैन ।
प्रस्ततिः महेश केसी
