‘अलकत्रा पकाउँदा धुवाँको मुस्लो पेटसम्म पुग्छ’

सडक पिच गर्न जानेपछि साथीभाइसँग गाउँबाट अलि पर, अलि पर गर्दा गर्दै देशका धेरै जिल्लामा पुगेर काम गरिसकेँ

जेष्ठ ३१, २०८२

चनवन पासवान

”When alkatra is cooked, the smoke reaches the stomach”

रुकुम पूर्व — म फिरन्ते कामदार हुँ । जता ज्यालादारी मिल्छ, उतै मेरो ठेगान हुन्छ । अहिले ६२ वर्षको भएँ । तर, हातपाउ खियाउन छाडेको छैन । मेरो घर बाराको गढीमाई नगरपालिका–४, सवैयाटारी हो । थपक्क घर बसेर बालबच्चासित रमाउन पाएको छैन । उनीहरूलाई खानपान जोहो गर्न सडक निर्माणस्थलमा पिच गर्ने काम गर्छु । यही कामबाट आर्जन भएको दुई/चार पैसा घर पठाएपछि परिवारको पेट भरिन्छ ।

यस्तो काम थाल्ने बेला त्यही २०–२२ वर्षको थिएँ । ४० वर्षभन्दा बढी समयदेखि यही काम गरिरहेको छु । गाउँमा भर्खर सडक निर्माणको क्रम सुरु भएका बेला साथीभाइसित काम गर्न थालेँ । सडक पिच गर्न जानेपछि साथीभाइसँग गाउँबाट अलि पर, अलि पर गर्दा गर्दै देशका धेरै जिल्लामा पुगेर काम गरिसकेँ । देशका धेरै सडकमा मेरो मिहिनेत खर्च भएको छ । पसिना बगेका छन् ।

हाम्रो २३ जनाको समूह छ । कालोपत्रका लागि तयार सडकमा गिट्टी फिँजार्ने, सडक बढार्ने, अलकत्रा पकाउनेदेखि अलकत्रा छर्कने लगायत काम गर्छौं । तातो–चिसोको प्रवाह हुँदैन । कहिले जीउ ठिहिर्‍याउने चिसो हुन्छ त कहिले खलखली पसिना बग्ने गर्मी । तर काम गर्नैपर्छ । धूलो उड्छ, अलकत्रा पकाउँदा भतभती पोल्छ अनि धूवाँको मुस्लो मुखबाट भित्रैसम्म पस्छ । जीउलाई त सास्ती छ । तर भगवानको कृपाले अहिलेसम्म गम्भीर बिराम लागेको छैन । 

हामी ठेकेदारको सम्पर्कबाट यहाँ आएका हौं । दिनभरि काम गरेको ७ सय रुपैयाँ ज्याला मिल्छ । महिनाभरि काम गर्‍यो भने २१ हजार कमाइ हुन्छ । दुःख–बिराम पर्दा कहिलेकसो एक–दुई दिन तलमाथि हुन्छ । महिनाको यही कमाइले मेरो घरखर्च चलेको छ । मसँगै जहान अनि २२ र २३ वर्षका दुई छोरा र २१ वर्षकी एक छोरी छिन् । उनीहरूले बिहेबारी गरिसके । जेठो छोरा गाउँमै ट्याक्टर चलाउँछ, अनि कान्छो छोराको मासु पसल छ । छोराहरूको कमाइ उनीहरूलाई ठिक्क हुन्छ । मेरो कमाइले बुढाबुढीको खर्च चलाइरहेका छौं । 

सबैभन्दा धेरै खर्च खानपानमा हुन्छ । दाल, चामल, तरकारी र नुन–तेल आदि गरेर महिनामा ९ हजारजति खर्च भैजान्छ । छोराको बिहेका बेला बैंकबाट कर्जा लिएका थियौं, त्यसको किस्ता महिनाको ७ हजार पर्छ । अनि बाँकी कपडामा २ हजारजति अनि खाजा–नास्तामा १ हजारजति खर्च हुन्छ ।

अनि अलिअलि बचेको पैसाले औषधीमूलो गर्ने हो । काम गरेको गरै, पसिना बगाएको बगायै गरे पनि खल्ती सधैं रित्तै हुन्छ । अब त यस्तैमा बानी परिसक्यो । मेरा रहर त खासै छैनन् । बुढिया अलि बिरामी छे । उसको राम्रो इलाज गर्न सकेको छैन । पैसा कमाएर उसको राम्रो जाँच गरौंला भनेको पनि यस्तै भैराछ । 

१० धुर जमिनमा एउटा कच्ची घर छ । पैसा भए त अलि जग्गा थप्न हुन्थ्यो । यो त सपना नै भयो । जे होस् यति भए पनि ज्यान पालिएकै छ । म त यसैमा खुसी छु । चाडबाड आउँछन्, बिभिन्न बेला घरमा आफन्त भेला हुन्छन्, त्यस्तो बेला एक जनाको कमाइले पुर्‍याउन हम्मे पर्छ । चरीमासु खान दशबार सोच्नुपर्छ । हामी त काम खोज्दै–खोज्दै नेपालका पूर्वदेखि पश्चिमसम्म पुगेका कैयौं अनुभव छन् । पोखरा, काठमाडौं, तेह्रथुम, इटहरीदेखि जनकपुर, वीरगन्ज आदि विभिन्न ठाउँमा पुगेर काम गरेका छौं । 

अहिले यो मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुम पूर्वमा छौं । हाम्रो सामूहिक बसाइ छ । गाउँकै चेलीहरू पनि काम गर्न आएका छन् । उनीहरू खाना पकाउँछन्, हामी अरु काम गर्छौं । यहाँको खान र बस्नको व्यवस्था चाहिँ ठेकदार आफैंले गरेका छन् । अरु ठाउँ जाँदा पनि यसरी नै व्यवस्था गरेका हुन्छन् ।

एक महिनाका लागि यहाँ (रुकुम पूर्व) आएको आज १३ दिन बित्यो । अब बाँकी दिन काम गरेर यहाँबाट घर जाने अनि केही दिन घरमा बसेर दमकतिर काम छ, त्यहाँ जाने योजना छ । घर–परिवार त मौका परेका बेला मात्रै भेटिन्छन् । अरु बेला त काम, काम । के गर्ने यसरी काम नगरे खान पुग्दैन ।

प्रस्ततिः महेश केसी

चनवन

Link copied successfully