खेतीपातीको भरमा परिवार पालिन हम्मे–हम्मे भएपछि १४ वर्षको उमेरमै कमाउन भनेर साथीभाइसँगै कालापहाड गएँ
सल्यान — कालिमाटी गाउँपालिका–५, बालुवा मेरो घर हो । बाल्यकाल अभावमै बित्यो । म सानै छँदादेखि बुवा–आमाले मरिमेटी काम गरेको देखेको थिएँ । उहाँहरूले दुःखले खेतीपाती गरेको देख्दा केही गर्नुपर्छ भन्ने लाग्थ्यो । ५/६ वर्षको उमेरदेखि त्यही सोचिरहन्थेँ । त्यसैले पढाइमा भन्दा कामकाजमा बाबुआमालाई सघाउँदै समय बिताएँ ।
प्राथमिक तहभन्दा माथि पढ्न परिवारको आर्थिक अवस्थाले पनि सम्भव भएन । खेतीपातीको भरमा पाँच/छ जनाको परिवार पालिन पनि हम्मे–हम्मे भयो । त्यसपछि १४ वर्षको उमेरमै कमाउन भन्दै साथीभाइसँगै भारतको कालापहाड गएँ ।
कामको खोजीमा भारतका विभिन्न सहर चहारेँ । जहाँ गए पनि कडा मिहिनेतकै काम मिल्थ्यो । दुःख भुलेर काम गर्दा पनि सोचे अनुसार कमाउन सकिनँ । भारतमा दुःख मात्र भयो । त्यहाँ चार/पाँच वर्ष बसेर फर्किएँ ।
कालापहाडबाट घर फर्किएपछि विवाह गरेँ । बिहेपछि जिम्मेवारी थपियो । जागिर खानलाई आफूले पढेको थिइनँ । केही उद्यम गरौं भने पनि पैसाको अभाव भयो । केही सीप नलागेपछि मैले पनि कृषि पेसा अपनाएँ । आफनै जग्गामा धान, मकै, गहुँ उत्पादन गरे पनि ८ महिनाभन्दा बढी खान पुग्दैन ।
थप चार महिनाका लागि खर्चको जोहो गर्न केही न केही गर्नैपर्छ । केही सीप नलागेपछि दुई हजारमा माछा मार्ने जाल किनेँ । त्यहीँ जाल बोकेर नजिकैको शारदा नदीमा माछा मार्न जान्छु । अहिले त्यही माछा मारेर परिवारका लागि घरखर्च जुटाउँदै आएको छु ।
अहिले म ५७ वर्षको भएँ । मेरो ६ जनाको परिवार छ । परिवारको खर्च जुटाउनु ७/८ रोपनी जग्गामा खेतीपाती गर्छु । माटोमा देखिएको अम्लियपनाले जति मिहिनेत गरे पनि पहिला जस्तो अन्नपात उत्पादन हुँदैन । चिसो र गर्मी नभनी बिहानै जाल बोकेर घरबाट निस्कन्छु र माछा मार्छु । सधैं जालमा माछा पर्दैनन् । माछा नपरेका दिन निराश भएर घर फर्किन्छु । यस्तो बेला भगवानसित कामना गर्नुबाहेक विकल्प हुँदैन ।
वर्षातका बेला माछा मार्न जाँदा पटक–पटक ज्यान जोखिममा परेको छ । तैपनि परिवार पाल्ने जिम्मेवारीले गर्दा माछा मार्न छाडिनँ । विगतमा बिहानैदेखि बेलुकीसम्म माछा मार्दा दुई/तीन किलो जम्मा हुन्थ्यो । विकास निर्माणका लागि खटिएका निर्माण कम्पनीका डोजर, स्काभेटरले खोलाजन्य बस्तु उत्खनन गर्दा र सडक निर्माणका क्रममा खसेका ढुंगामाटोले ताल पुरिएका कारण शारदामा माछा मासिदै गएका छन् ।
शारदामा पहिलाजस्तो माछा पाउन छाडिसकेकाले अहिले दिनभरि जाल खेलेर आधादेखि एक किलो मार्न मुस्किल हुन्छ । जे भए पनि घरमै दिनभरि बसेर समय बिताउनुभन्दा माछा मार्नु बेस भन्ठानेर यतातिर लागेको हुँ । अहिले माछा मारेर दैनिक ४/५ सय हात परिरहेको छ । बेरोजगार भए पनि माछा मारेर कमाएको पैसाले छोराछारी पढाएको छु ।
माछा मारेर आएको पैसाबाट नुन, तेल किन्न सजिलो भएको छ भने अन्य सानातिना सामग्री किन्नका लागि खर्च यसबाटै जुटेको छ । जागिर खाउँ भने न पढाइ छ, न त उमेर नै । उमेरले नेटो काटिसकेकाले पहिला जस्तो मजदुरी गर्न पनि सक्दिनँ । आय आर्जनको माध्यम माछा मार्ने भन्दा अरू केही छैन । त्यसलै माछा मार्छु । कहिलेकाही बाहिरबाट घुम्न आएकाले माछा किनेर लग्छन् । प्रायःजसो स्थानीय खरिदकर्तालाई माछा बेच्छु ।
पहिला शारदामा जताततै प्रसस्त माछा पाउँथे । एक/दुई किलो माछा त दुई/तीन घन्टामै मार्न सकिन्थ्यो । अहिले एक किलो माछा मार्न दिनभरि चहार्नु पर्छ । यसले केही समस्या निम्त्याएको छ ।
सम्बन्धित निकायले खोलामै मेसिन प्रयोग गरेर गिट्टी–बालुवा उत्खननमा रोक लगाउन सकेको छैन । त्यति मात्र नभई आम्दानी बढाउने भन्दै स्थानीय तहले नै गिट्टी–बालुवा उत्खनन गर्न टेन्डर आह्वान गर्दा माछा हराउँदै गएका छन् । यसरी बेरोजगारको पेटमा लात हान्ने काम स्थानीय तहले गरेको देख्दा दुःख पनि लाग्छ ।
प्रस्तुति : विप्लव महर्जन
