‘हिउँ बेचेर कमाएको पैसाले घुम्ती व्यापारी बनेँ’

गाउँघरमा डुलेर साहू–महाजनसित १० हजार रुपैयाँ सापटी माग्दा कसैले पत्याएनन्

जेष्ठ २९, २०८२

धनकृष्ण आचार्य

I became a traveling salesman with the money I earned by selling snow.

जुम्ला — गुठीचौर गाउँपालिका–५, फोइगाउँमा ५२ वर्षअघि जन्मिएँ । बालखैबाट खान–लाउन समस्या झेल्नु परेकाले सुख के हो भन्ने कुरा अहिलेसम्म अनुभूति गर्न पाएको छैन । हुन त मानिसलाई जति धन भए पनि नपुग्दो रहेछ । मेरो त सम्पत्ति भनेकै छोराछोरी हुन् । सुखदुःखमा साथ दिने श्रीमती छन् । तैपनि दुःख गरेअनुसार परिवारका लागि स्थायी खुसी जोहो गर्न नसकेको कुराले कहिलेकसो मन्खत पनि लाग्छ । फेरि जिन्दगी यस्तै त हो भनेर चित्त बुझाउँछु ।

घरखर्च जुटाउन स्याउ, सुन्तला, आरु, ओखर, सागपात र हरिया तरकारीको घुम्ती व्यापार गर्दै आएको छु । यति गर्दा पनि बिहान–बेलुकीको छाक टार्न कठिन हुन्छ । २०५८ सालमा व्यापार गर्ने सोच पलायो । तर, योजनाले मात्र भएन, त्यसका लागि पैसा चाहिने भयो । गाउँघरमा डुलेर साहू–महाजनसित १० हजार रुपैयाँ सापटी माग्दा कसैले पत्याएनन् । आफूसँग अलिकति पनि पैसा नभएको अवस्थमा केही गर्न नसकिने रहेछ भन्ने मनस्थितिमा पुगेँ । रातभरि निद्रा लागेन । चैत–वैशाखको गर्मीमा पैसा कमाउने एक मात्र विकल्प पाटनको हिउँ देखेँ । कसैसित किन्नै नपर्ने हिउँ ल्याएर बेच्न सकेँ भने अलिकति पैसा कमाउन सकिन्छ कि भन्ने निष्कर्षमा पुगेँ । 

घरनजिकै सानो र ठूलो हाँक पाटन छन् । त्यहाँ जेठ–असारसम्म हिउँ जम्ने गर्छ । त्यहाँबाट चर्को घाममा पग्लिन नदिएर सदरमुकामसम्म हिउँ ल्याउन चुनौती थियो । त्यसका बावजुद एक बोरा हिउँ घरसम्म ल्याउन सफल भएँ । त्यही हिउँ भोलिपल्ट सदरमुकाम खलंगासम्म पुर्‍याए । दिनभर पाटनको हिउँ खाइदिनुपर्‍यो भन्दै डुल्दा राम्रै व्यापार भयो । हिउँ बेचेर हात परेको पैसा नै जीवनको पहिलो कमाइ थियो । पहिलो दिन ४ हजार रुपैयाँ कमाएँ । पहिले रुपैयाँ नहुँदा निदाइनँ । त्यसदिन कमाइ हात परेकाले निन्द्रा लागेन । गाउँघरमा चैत वैशाखको हिउँ खाए रोगब्याधी निको हुने विश्वास छ । 

हिउँ व्यापारले हौसला दिएपछि व्यापारका विकल्प पनि खोज्न थालेँ । हिउँ बटुल्न पाटन जाने बेला बाटोमा प्रशस्त साग देखेँ । एक दिन पाटनमा उम्रेको रुगा साग ५० मुठा संकलन गरेँ । ६० रुपैयाँ मुठाका दरले त्यो साग सदरमुकाम ल्याएर बेच्दा ३ हजार रुपैयाँ कमाएँ । अहिले म मौसमअनुसार पहाडका सुन्तलादेखि हिमालको स्याउ र नास्पाती एवं तराईको केरा बिक्री गर्छु । प्याज, टमाटर, आरु, ओखर बोकेर फिरन्ते व्यापार गर्छु । यसैबाट परिवारलाई लुगोफाटो, रोटीरोजी र बालबच्चाको पढाइ खर्च जुटाउन सकेको छु । नयाँ लुगा किन्ने भनेको त्यही दसैका बेला हो । नत्र फाटेका/पुराना लुगाले काम चलाउँछु । 

दुखियालाई सुख नफाप्ने रहेछ । २०७३ सालमा रूखबाट लड्दा मेरूदण्ड भाँचियो । जीवन र मरणको अवस्थामा पुगेँ । त्यस्तो अवस्थामा पनि आफ्नो स्वास्थ्यका बारेमा सोच्न सकिनँ । केही गरी उपचार सम्भव नभएर थलिएँ भने छोराछोरीले के खालान्, पढाइ लेखाइ के होला भन्ने सोचिरहेँ । मसँग उपचार गर्ने पैसा थिएन । जसोतसो अस्पतालमा एक वर्ष कटाउँदा कमाएको सबै रकम सकियो । पछि त चन्दा नै संकलन गर्नुपरेको थियो । हुन त कोही नहुनेको भगवान् हुन्छ भनिन्छ । सबैले चन्दास्वरूप उपचार खर्च दिए । अहिले हिँडडुल गर्ने अवस्थामा पुगेको छ । अहिले खलंगाको गल्लीमा स्याउ बिक्री गरिरहेको छु । अहिले त छोराछोरीको पठनपाठन र घरखर्च बढेको छ । महिनाको १५/२० हजार खर्च भइहाल्छ । 

पहिलेभन्दा अशक्त भए पनि पेट पाल्न र आङ ढाक्न बजार डुलिरहेको छु । भदौमा पाक्ने बेला आँप प्रतिकिलो ५० रुपैयाँमा पनि बिक्दैन । अहिले त प्रतिकिलो २ सयमा मजाले बिक्छ । दिनमा त्यही १५ किलोका दरले स्याउ बेच्छु । त्यसबाट महिनामा २० हजार हाराहारी कमाउँछु । जुम्ली स्याउको मूल्य त्यसभन्दा बढी पाइन्छ । डुलेर कमाएको रकमले छोरी प्राविधिक शिक्षा पढिरहेकी छिन् । उच्च शिक्षा अध्ययन गरिरहेको छोरा डिप्रेसनको सिकार भएको छ । अहिले पाटन अस्पतालमा छोराको मानसिक स्वास्थ्यको उपचार चलिरहेको छ । अहिलेसम्म उसको उपचारमा ५ लाख खर्च भइसक्यो । मसित पैसा छैन । बाउ–छोराको उपचार गर्दागर्दै ७ लाख ऋण पुगिसक्यो । यही स्याउ बेचेर तिरतार गरिरहेको छु । छोराको स्वास्थ्य छिटो सुधार होस् भनेर भगवान‍्सँग प्रार्थना गरिरहेको छु । 

प्रस्तुतिः डीबी बुढा

धनकृष्ण

Link copied successfully