‘५ सय लगानी गरेर दिनकै ३ हजारजति कमाउँछु’

मलाई पनि किन हो किन, छिमेकीको जस्तै तला थपेर ठूलो घर बनाउने इच्छा छ

जेष्ठ २७, २०८२

आदित्य गुप्ता 

”By investing 500, I earn as much as 3 thousand a day”

तिलोत्तमा — कक्षा ७ मा पढ्ने बेलादेखि बुवासँगै फुल्कीको ठेला पछ्याउन थालेको हुँ । बुवाले फुल्कीमा मटर र मसला भरेर ग्राहकलाई दिएको हेर्दा हेर्दै आफैंले अड्कलेर दिन सिकेँ । तराईमा फुल्की र टिकिया धेरै मन पराउँछन् । त्यसैले यही व्यापारबाट अहिले घरखर्च धानिरहेको छु ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–१०, महिलावारमा मेरो बसोबास छ । कक्षा १२ सम्म अध्ययन गरेको छु । मेरो व्यापारमा आमाबुवाको पनि सहयोग छ ।

यसरी गुजारा गर्न थालेको पनि ६ वर्ष भयो । त्यसभन्दा अगाडि बुवाले ठेलामा फुल्की, चाउमिन र मःम बनाएर बिक्री गर्नुहुन्थ्यो । केही समयअघि बुवाको फोक्सोमा समस्या देखिएपछि पीडा थपियो । त्यसपछिे बुवालाई घरमै आराम गर्न पठाएर आफैंले व्यापार चलाइरहेको छु । 

व्यापारमा दिनको ५ सय रुपैयाँ लगानी हुन्छ । त्यति लगानी गरेर दिनकै ३ हजार रुपैयाँजति कमाउँछु । तर, सबै बचत हुँदैन । बुवाको औषधि, घरका लागि चाहिने दाल, चामल, मरमसलामा पनि खर्च हुन्छ । 

मैले थाई खाना पकाउन जानेको छु । लुम्बिनी सांस्कृतिक नगरपालिकाभित्र रहेका अधिकांश होटलमा काम गरिसकेको छु । मैले त्यस अवधीमा महिनामा २५ हजारसम्म पारिश्रमिक पाएको थिएँ । बुवा बिरामी परेपछि जागिर छाडेँ । त्यसपछि बुलाले थालेको व्यवसाय सम्हालेर अघि बढिरहेको छु ।

बुवा नै मेरो गुरु हो । बिहानदेखि बेलुकासम्म बुवाले गर्ने काम हेरेर सिकेँ । मलाई सम्झना आउँछ, बिहानै उठेर आमाबुवाले मैदा मुछ्ने, बेल्ने, फुराउने, धेरै चाङ बनाएर राख्ने गर्नुहुन्थ्यो । चुलामा आलु र मटर पकाएर खनाउने, चटनी, मःम तयार गर्दा आफूलाई थकाई लागिहाल्छ । तर बुवा–आमाको इच्छा, आफ्नो चाहना पूरा गर्नुछ, काम त रोकिन्न भनेर लाग्छु । 

मैले व्यवसाय गर्न थालेपछि घरमा इन्टरनेट जोडेँ, फ्रिज र कुलर किनेँ । समान जोड्नु पनि सम्पत्ति कमाउनु हो जस्तो लाग्छ । तर जिम्मेवारी बहन गर्नुर्पर्ने कुरा धेरै छन् । त्यही कुरा मनमा खेलिरहन्छन् । बुवा बिरामी नभइदिएको भए मिलेर धेरै कमाइ गरिन्थ्यो होला । त्यसरी कमाएको पैसाले अरु व्यवसाय पनि गरिन्थ्यो होला ।

मासिक खर्च मात्रै हेर्ने हो भने भाइको विद्यालय फिस, बुवाको औषधी, घरको रासनपानी सबै कुरा किन्ने हो । हामीलाई महिनामा ५० हजार जति चाहिन्छ । जेनतेन पुर्‍याइरहेको छु । भविष्य के हुने हो, केही थाहा छैन । मलाई भोलिको दिनका लागि कमाउनु छ भन्ने भएको छ । मलाई सानै उमेरदेखि व्यावहारिक बन्न पर्‍यो ।

सिकँइ त धेरै भयो, तर साथीभाइजस्तो रमाइलो जिन्दगी जिउन पाइएन । अब फेरि जिन्दगी नयाँ मोडमा पुगेको छ । २२ वर्षको उमेरमै म विदेशिनुपर्ने बाध्यता आइलागेको छ । डेढ महिनापछि कुवेत जाँदैछु । म पैसा जोगाड गर्न र घरको काम मिलाउन बाँकी छ ।

म विदेशिएपछि परिवारलाई पैसा पठाएर सहयोग त गर्नेछु, तर यहाँ बसेर बुवाआमाको रेखदेख गर्न नपाउँदा म पीडामा रहनेछु । बाल्यकालदेखि नै पैसाको अभावले चाहेजति खर्च गर्न र सामान किन्न पाइएन । मलाई पनि किन हो किन, छिमेकीको जस्तै तला थपेर ठूलो घर बनाउने इच्छा छ । सबैको ठूलो घर छ, मेरो सानो । 

यो कुराले पनि मनमा खड्किरहन्छ । हाम्रो घर हेरेर मान्छेले हेपेजस्तो लाग्छ । किन किन मान्छेले घुमाएर आफूलाई प्याच्च भनेजस्तो लाग्छ । जीवनमा एउटा कुरा एकदमै मनमा गडेको छ । मैले क्याफे खोल्न चाहेको थिएँ । ऋण लिनका लागि बैंक पनि धाएँ । मेरा लागि ऋण प्रवाह गर्न धितो पुगेन । त्यही दिन मेरो सपना टुट्यो ।

वास्तवमा नेपालमै केही गर्छु, आमाबुवा हेर्छु भन्ने मेरो सोच थियो । तर त्यो साेच सोचमै थन्कियो । त्यसैले विदेशका लागि आवेदन दिएँ । भिसा आयो । क्याफे खोल्न पाएको भए मैले थाई परिकार, फुल्की, चाट पनि व्यवस्थित तरिकाले बिक्री गर्थें । ठेला र पसलको भिन्नता पनि त्यही हो । ठेला भन्ने बित्तिकै मानिसले गरिब भएर भन्छन्, क्याफे भएको भए पसल छ भन्थे ।

हरेक दिन बुनेका सपना टुट्दै जाने देशमा म जन्मिएको रहेछु भनेर आफूलाई धिक्कारेका दिन पनि मसँग ताजा स्मरणमा छन् । तर के गर्नु, परिवार, आफू, आफ्नो भविष्य, सबै सम्झँदा विदेशिएरै भए पनि कमाउनु बाहेकको विकल्प छैन । मलाई मेरा साथीले जस्तै पैसा कमाएर खुसी हुने रहर छ ।

प्रस्तुति : सन्जु पौडेल

आदित्य गुप्ता 

Link copied successfully