‘पर्यटक डुलाएर महिनामा ३० हजार कमाउँछु’

होमस्टेमा आउने पाहुनालाई आफ्नै खेतमा उब्जनी भएको अर्गानिक उत्पादनबाट थारू परिकार पस्किँदा खुसी लाग्छ

जेष्ठ २६, २०८२

गोविन्द थारु

”I earn 30,000 per month by taking tourists”

बर्दिया — हाम्रो बस्तीसित जोडिएको बर्दिया निकुञ्ज प्राकृतिक सौन्दर्य, जैविक विविधता र दुर्लभ वन्यजन्तुका कारण विश्वमा चिनिएको छ । निकुञ्जमा रहेका पाटे बाघ, एक सिंङ्गे गैंडा, चितुवा, जरायो, चित्तल बाह्रसिङ्गे, जंगली हात्ती यहीँ खेतबारीमा चर्न आउँछन् । घर नजिकै कर्णालीको भँगालोमा घडियाल, मगर गोही देखिन्छन् । ती वन्यजन्तु र यहाँको प्राकृतिक अवलोकन गर्न धेरै विदेशी र स्वदेशी पर्यटक आउँछन् ।

त्यही आकर्षण देखेर मैले नेचर गाइडसँगै होमस्टे व्यवसाय संचालन गरेको हुँ । मधुवन नगरपालिका–१ डल्ला गाउँमा बसोबास छ । मेरो गाउँ होमस्टेका लागि देश/विदेशमा चर्चित छ । अहिले ३० वर्षको भएँ ।

सन् २०१२ मा एक जना विदेशी पाहुना हात्तीमा पीएचडी गर्ने क्रममा अध्ययनका लागि आउनु भएको थियो । त्यही बेला उहाँको सहयोगी भएर काम गर्ने अवसर जुट्यो । उहाँलाई डुलाउँदै थिएँ, राष्ट्रिय प्रकृति संरक्षण कोषमा कार्यरत दाइले मलाई जीपीएस चलाउन सिकाए ।

सोही अनुभवले सन् २०१३ मा बाघ गणनासम्बन्धी बाँकेमा तालिम लिने अवसर मिल्यो । त्यसपछि क्यामरा ट्रयाप गर्ने कामको सिलसिलामा बाँके, कैलाली, सुर्खेत, सल्यान, चितवनलगायत विभिन्न जिल्लामा गएर काम गर्ने मौका पाएँ । 

वन्यजन्तुको अध्ययनका लागि आउने पाहुनाको सहयोगीका रूपमा काम गर्दा गर्दै उहाँहरूलाई खाजा खुवाउने उद्देश्यले ५ वर्षअघि होमस्टे थारु खाजा घर संचालन गरेको थिएँ । त्यतिबेला खाजा घर संचालन गर्न बर्दिया राष्ट्रिय निकुञ्जले ५० हजार रुपैयाँ सहयोग गरेको थियो ।

एक वर्षपछि डल्लामा २४ नम्बर होमस्टे सुरु गरेँ, जुन कार्यका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषले ५० हजार दिएको थियो । होमस्टे सुरु गरेको पनि चार वर्ष भयो । आठ जनाको परिवार छ । परिवारका अन्य सदस्यले सघाउँदा होमस्टे चलाउन सहज भएको छ । अलि अलि आफ्नै खेत छ । 

आफ्नै खेतबारीको उत्पादनले वर्षभरि खाद्यान्न पुग्छ । होमस्टेमा आउने आन्तरिक तथा बाह्य पाहुनालाई आफ्नै खेतमा उब्जनी भएको अर्गानिक उत्पादनबाट तयार हुने स्थानीय थारु खानाका सम्पूर्ण परिकार पस्केर खुसी पार्छु ।

अनदी चामलको भात, रोटी, डिक्रीलगायतका परिकार पस्किँदा पाहुना लोभिदै अर्को पटक पुनः मेरो होमस्टेमा आइपुग्छन् । आफैं नेचर गाइड भएकाले जंगल वाक गराएर जंगलको राजा बाघ, गैंडा, हात्तीलगायत जंगली जनावर देखाउँदा पाहुनाहरू खुसी भएर फर्किन्छन् ।

वन्यजन्तुको संरक्षणमा टेवा पुर्‍याउँदा आफ्नै गाउँघरमा रोजगारी सिर्जना भएको छ । अनेकौं देशका पाहुनालाई आफ्नै आँगनमा स्वागत गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको छ । पाहुनाहरूको आवागमनले नेचर गाइड र होमस्टे व्यवसाय पनि सन्तोषजनक छ ।

गाउँका घरपिच्छे होमस्टे छन् । जसले गर्दा सबै जना स्वरोजगार बनेका छन् । यसले काम खोज्दै भौतारिनु परेको छैन । अहिले होमस्टेमा एसीसहितको सुविधा सम्पन्न कोठाको व्यवस्था गरेको छु । यसले पाहुनाहरूलाई गर्मीमा सहजता मिलेको छ ।

होमस्टे व्यवसायबाट महिनामा २० हजार र नेचर गाइडबाट १० हजार गरी ३० हजार आम्दानी गर्छु । पाहुनाको चाप बढ्यो भने बढी पनि कमाइ हुन्छ । नुन, तेल, दाल, मसला, लत्ता कपडामा खर्च हुन्छ । नेचर गाइडको लाइसेन्स नवीकरण गर्न निकुञ्जमा वार्षिक २ हजार बुझाउनुपर्छ । त्यसैगरी बिमाका लागि वार्षिक २ हजार खर्च हुन्छ ।

आफ्नै गाउँघरमा बसेर थोरै कमाएर पनि सन्तुष्टि मिलेको छ । घरमै बसेर गरेको व्यवसायबाट अरु केही गर्न नसके पनि साढे ३ कट्ठा जग्गा जोड्न सफल भएको छु । कर्ममा विश्वास गरी आफ्नै ठाउँमा बसेर यतिको गर्नु पनि मेरा लागि ठूलो सफलता हो । 

प्रस्तुति : रामप्रसाद चौहान

गोविन्द

Link copied successfully