‘बाख्रा पालेर कमाएकाे पैसाले छोरीलाई पढाउन चाहन्छु’

६/७ वर्षपहिले गाउँका दिदीबहिनीसँग काम गर्न भनी काठमाडौंको इँटा उद्योगसम्म पुगेकी थिएँ, त्यहाँ पुग्नुको एकमात्र उद्देश्य पैसा कमाउने थियो

जेष्ठ ३०, २०८२

जुनतारा विक

”I want to educate my daughter with the money I earn from rearing goats”

रोल्पा — मलाई सबैले जुनतारा भनेर चिन्छन् । धबाङको खार्बुन गाउँमा मेरो जन्म भएको हो । म अहिले २० वर्षकी भएँ । हाम्रो गाउँमा अझै बिजुली पुगेको छैन । लिबाङदेखि दुई घण्टाको पैदल बाटो हिँडेर घरमा पुग्न सकिन्छ । अहिले सडक भने निर्माण भएको छ । लिबाङदेखि हाम्रो गाउँसम्म जिप चल्छ । लिबाङ–धबाङ–गापा हुँदै जिप चढेर मेरो घर पुग्न सकिन्छ ।

लभगभ ६/७ वर्षपहिले गाउँका दिदीबहिनीसँग काठमाडौंको एक इँटा उद्योगसम्म पुगेकी थिएँ । त्यहाँ पुग्नुको एकमात्र उद्देश्य पैसा कमाउने थियो । गाउँका दिदीहरूसँगै गएकाले हामीहरू सँगै बस्यौं र काम पनि सँगसँगै गर्‍यौं । त्यहाँ हामीहरू दिनभर इँटा बोक्ने काम गरेर राति झ्याउली (इँटाहरू जोडेर कोठाजस्तो बनाइएको सानो छाप्रो)मा बस्थ्यौं ।

हामी ६ महिनाजति त्यहाँ बस्यौं । फर्केर आउँदा मैले कमाएको पैसाले मेरा र बाआमा, दाइहरूका लागि कपडा किनेर ल्याएकी थिएँ । त्यतिबेला १३ वर्षकी भए पनि निकै मिहिनेत गरेर पैसा कमाएकी थिएँ । पढ्न नपाएपछि म इँटा उद्योगमा काम गर्न गएकी थिएँ । मैले त्यहाँ करिब ३२ हजार पैसा कमाएँ । 

यस्तैमा एकदिन इँटा उद्योगमा हेर्ने कथा कार्यक्रमकी संचालिका विद्या चापागाईंसहित उहाँको टिम आयो । उहाँहरूले हामीले इँटा बोकेको, बस्ने झ्याउली र सबै गतिविधि क्यामेरामा खिच्नुभयो । त्यो टीभीमा प्रसारण पनि भएछ । केही समयपछि हामीलाई त्यो टीभी कार्यक्रम हेरेकाहरूले जानकारी दिएका थिए । लिबाङ आउने बसमा र लिबाङ बजारमा त्यस विषयबारे चर्चा भएको थियो ।

टीभीमा आएकाले हामीलाई सबैले चिनेका थिए । रोल्पामा पहिलोपटक खुलेको रेडियो रोल्पामा कार्यक्रम आउँदा सुनेर त्यस्तै गर्न मन लाग्थ्यो । हामीले इँटा बोकेका बेला रेडियोमा बोलेजसरी बोलेको जानकारी पाएपछि विद्या चापागाईंहरू आउनु भएको रहेछ । रेडियोमा फोन इन कार्यक्रम सुनेकाले गाउँकी दिदीसँग हामीले दुरुस्तै बोल्न सिकेका थियौं । 

घर फर्केपछि १४ वर्षमा विवाह भयो । म १६ वर्षकी हुँदा छोरी जन्मिइन् । अहिले श्रीमान् विदेश जानुभएको छ । गाउँघरमा घाँस दाउरा गरेर बाख्रा पालेकी छु । सानी छोरीसँग काम गर्ने क्रममै दिनहरू बित्छन् । एउटा सानो घर छ, त्यो पनि पानी पर्दा चुहिने खालको छ । आमाबाको घर पनि नजिकै छ । उहाँहरूको आडमै म बस्दै आएकी छु । द्वन्द्वकालमा बुवा भूमिगत हुनुभएको थियो । त्यसैले घरको आम्दानी नभएकाले मैले पढ्न पाइनँ । दाइहरूले पनि पढ्न पाएनन् । भूमिगत भएका बेला बाको नाम चट्याङ थियो । बाको खास नाम भने दुर्गालाल विक हो । 

‘हेर्ने कथा’की विद्या चापागाईं दिदीसँग ४/५ महिनाअघि फेरि भेट भयो । उहाँहरू मलाई खोज्दै घरमै पुग्नुभयो । सोच्दै नसोचेका बेला भेट भएपछि हामी दुवै खुबै रोयौं । उहाँको पनि मेरो जत्रै सानी छोरी रहिछिन् । मेरो छोरी देखेर उहाँ रुनुभयो । म भने फेरि पनि भेट भएर मेरो कथा बुझ्न आएकामा रोएकी थिएँ । उहाँहरूले फेरि पनि मेरो कथा रेकर्ड गरेर सुनाउनुभयो ।

मेरो कथा सबैतिर फैलिएछ युट्युब र सामाजिक संजालमार्फत । मेरो व्यथा र अवस्था समेटिएको कथा हेरेपछि अमेरिका बस्ने दुई जनाले मलाई बाख्रा किन्न पैसा पठाइदिनुभयो । मैले कथामा ‘मेरा बाख्रा साना छन् । विकासे बाख्रा किन्ने मन छ तर पैसा छैन’ भनेकी थिएँ । 

त्यो सुनेर नेपालमा ललितपुर घर भएकी विनीता पुरी दिदी र नुवाकोट घर भएर अमेरिकामा बस्ने डा. भीम उप्रेती दाइले मिलेर बाख्रा किन्ने पैसा पठाइदिनुभएको रहेछ । त्यो पैसाले तीनवटा बोयर जातका बाख्रा खरिद गरेर घरमा लगेकी छु ।

मैले लिबाङस्थित पशु सेवा अस्पताल एवं विज्ञ केन्द्रका प्रमुख डा. शंकर न्यौपानेको सहयोगमा बाख्राका लागि औषधि, पौस्टिक घाँस र ज्ञान सिकेँ । अब यी बोयर बाख्रा पालेर आम्दानी बढाउने योजना छ । मैले त पढ्न पाइनँ । बाख्रा पालेर राम्रो र सफल कृषक बन्ने र छोरीलाई राम्रो शिक्षा दिने सोचेकी छु । 

प्रस्तुतिः काशीराम डाँगी

जुनतारा विक

Link copied successfully