डोकोको आकार हेरेर ५ सयदेखि १२ सय रुपैयाँसम्म पर्छ । महिनामा १५ देखि २० हजार रुपैयाँसम्मको कारोबार गरिरहेको छु ।
गुल्मी — अर्घाखाँचीको छत्रदेव–८ मेरो जन्मघर हो । घर त्यहाँ भए पनि नजिकको बजार भनेकै पहिलेदेखि गुल्मी सदरमुकाम तम्घास हो । मैले सानैबाट घरमै डोको बुन्न सिकेको थिएँ । पहिले बाबु–बाजेहरूले बनाएका डोका बेच्न तम्घास आउँथेँ । अहिले आफैंले बनाएर बिक्री गर्न थालेको छु । फट्टफुट्ट अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा पनि डोको बेच्न पुग्छु ।
म अहिले ५३ वर्षको भएँ । हाम्रो संयुक्त परिवार छ । आमा, भाइ–बुहारीसहित १५ जनाको परिवार एउटै छानोमुनि बसिरहेका छौं । मेरा तीन छोरा र एक छोरी छन् । खास गरी म बाँसको डोको बनाउँछु । त्यसबाहेक बाँसकै कुर्सी, टेबुल, मुढा लगायत धेरै प्रकारका सामग्री बनाउने गरेको छु । मेरो घरखर्चको जोहो यही पेसाबाट चलेको छ ।
ठूलो परिवारको गुजाराको माध्यम बाँसबाट बन्ने सामग्री हुन् । डोकोको आकार हेरेर ५ सयदेखि १२ सय रुपैयाँसम्म पर्छ । महिनामा १५ देखि २० हजार रुपैयाँसम्मको कारोबार गरिरहेको छु । हुन त पहिलेको तुलनामा अहिले व्यापार कम छ । तैपनि, यसैबाट भएको आम्दानीले छोराछोरी पढाउने र घरखर्च चलाउने हो । हाम्रो सामान्य परिवार हो । त्यस्तो कुनै तडकभडक गरिँदैन । अहिलेसम्म श्रम गरेर यही पेसामा सन्तुष्ट छु ।
पहिले गाउँमा बाक्लो बस्ती थियो । पहिले सबैले खेती किसानी गर्थे । डोको सबैलाई चाहिन्थ्यो । राम्रो व्यापार हुन्थ्यो । अहिले गाउँ रित्तिँदै गए । खेती किसानी गर्ने पनि बिस्तारै घट्दै गएका छन् । व्यापार पनि ओरालो लाग्दै गयो । पहिले धमाधाम डोको बुनेर बिक्री गर्थें । अहिले त्यस्तो छैन । गाउँमा डोको खरिद गर्ने मानिसको संख्या नै कम भइसक्यो । धेरै डोको बुनेमा बजारीकरणमा समस्या हुन्छ । अहिले घरखर्च चलाउनका लागि मात्रै बुन्ने गरेको छु ।
बाँस किन्ने, चोया काड्ने, डोको बुन्ने, पिँध र बिट लगाउने गरेपछि डोको तयार हुन्छ । आवश्यक सामग्री तयार गरेपछि दिनमै ३/४ वटा डोको तयार गर्छु । तर अचेल त्यस्तो भ्याइनभ्याइ छैन । फुर्सदमा बुनेका केही डोका पनि त्यत्तिकै थन्किएका छन् ।
स्थानीय तह आएपछि बाँसबाट बन्ने सामग्रीसम्बन्धी तालिम दिन थालेका छन् । त्यस्ता तालिममा प्रशिक्षक बनेर पनि हिँड्ने गरेको छु । घरमै सिकेको सीप अरूलाई सिकाउन पाउँदा खुसी लाग्छ । तालिममा प्रशिक्षक बनेर दाङ र धादिङसम्म पुगेँ । बाँसबाट बन्ने सबै प्रकारका सामग्री तयार गर्ने सीप मसँग छ । यससम्बन्धी सीप सिकाउँदै पालिका विभिन्न वडासम्म पुग्ने गर्छु ।
म २० वर्षको उमेरमा रोजगारीका लागि भारत गएको थिएँ । चार वर्षसम्म भारतमा काम पनि गरेँ । पछि घरमै सिकेको सीपलाई नै रोजगारीका रूपमा लिएँ । अनि बाँसका डोको तयार गर्न थालेँ ।
मलाई सानोमा ५ रुपैयाँमा डोको बेचेको याद छ । २०४० सालतिर हो । त्यतिबेला एक मोहरमा एक कप चिया पाइन्थ्यो । तम्घास गाउँजस्तो थियो । ४ रुपैयाँमा १ किलो चामल किनेर घर फर्कन्थ्यौं । त्यस्तो समय पनि थियो, अहिले यस्तो समय आएको छ ।
म युवा उमेरमा यही पेसा गरेर टिकेँ । अहिले अरू रोज्ने कुरा भएन । यही पेसामा सन्तुष्ट छु । उमेरले साथ दिने बेलासम्म काम गर्नु पर्यो । तर अहिलेको पुस्ताले यो पेसामा केही सिक्नै चाहँदैन । बिस्तारै बिस्तारै यो पेसा लोप भएर जाने त होला !
प्रस्तुति : सन्तोष महतारा
