‘लगन र मिहिनेतले दुःखलाई परास्त गर्न सकिँदो रहेछ’

१६ वर्षमै धरान उपमहानगरपालिका केटासँग बिहे भएको थियो । तर, बिहे भएको पाँच वर्षमै श्रीमान्‌को अर्की केटीसित चक्कर चलेको थाहा पाएँ ।

वैशाख २७, २०८२

विष्णुमाया श्रेष्ठ

”Perseverance and hard work can overcome suffering”

धरान — खोटाङमा जन्मिए पनि बराह क्षेत्र नगरपालिकाको कालाबन्जरमा बाल्यकाल बित्यो । अहिले ५७ वर्षकी भएँ । भनिन्छ नि दुःखसँगै सुखका दिन आउँछन् । तर, दुखियाको जीवनमा त्यस्तो नहुँदो रहेछ । सायद भाग्यमै खोट भएर होला ! जन्मिएको चार महिनामै आमा बित्नुभयो । मलाई अजी (हजुरआमा) ले हुर्काउनुभयो । बोली फुटनासाथ मैले अजी भनेकी थिएँ रे !

आमाको निधनपछि बुवाले दोस्रो बिहे गर्नुभयो । कान्छी आमाबाट पनि माया पाइनँ । कान्छीआमाको भेदभाव र अत्याचारले जन्मदिने आमा र सौतेनी आमाबीचको फरक बुझायो । म सानै छँदा अजीले मधेश झार्नुभयो । मलाई धेरै माया गर्ने अजीसँग बसेर काम गर्दै हाँस्दै खेल्दै बाल्यकाल बितेको पत्तै पाइनँ ।

त्यसबेला खासै विद्यालय जाने चलन थिएन । छोरीलाई पढाउने कुरा त धेरै टाढाको विषय थियो । सानै उमेरमा बिहेवारी गरिदिन्थे । मेरो पनि १६ वर्षको उमेरमै धरान उपमहानगरपालिका–१०, विशालपथका केटासँग बिहे भएको थियो । तर, बिहेको पाँच वर्षमै श्रीमान‍्को अर्की केटीसित चक्कर चलेको थाहा पाएँ । उहाँलाई मदिराको लत थियो । अनि मैमाथि सौता हाले । त्यसबेला अहिलेजस्तो हकअधिकारको कुरा गर्नै हुन्थेन । चुपचाप सबै शोषण र दुर्व्यवहार सहनुपर्थ्यो ।

श्रीमान् काम गर्दैनथे । जतिखेरै दुःख दिन्थे । यति हुँदा पनि आफन्त, छरछिमेकले श्रीमान‍्लाई शिरमा राख्नुपर्छ भनेर सल्लाह दिन्थे । दुई छोराकी आमा मलाई छोडेर श्रीमान् सौतासित बस्न थाले । श्रीमान‍्ले १ रुपैयाँ दिन्थेनन् । माइतीले पनि सहयोग गर्थेनन् । घरखर्च चलाउनै मुस्किल भएपछि खाजा पसल सुरु गरेँ । ५/६ महिना खाजा/नास्ता बिक्री गरे पनि कमाइ भएन । के गरौं, कसो गरौं भन्ने अन्योलमा परेँ । न आमा–बुवाको माया पाएँ, न त श्रीमान‍्को साथ नै । 

जस्तै अवस्थामा पनि दुई छोरा हुर्काउनुपर्ने जिम्मेवारी थियो । त्यही सम्झिएर ३० वर्षअघि धरानको बीपी कोइराला प्रतिष्ठानअगाडि मकै बेच्न थालेँ । दिनभरि मकै पोलेर हात परेको पैसाले छोराहरूको पढाइ र घरखर्च पुर्‍याएँ । धौ–धौ अवस्था भए पनि सन्तान हुर्काएँ । छोराहरूले धेरै पढून् भन्ने थियो, तर सोचे अनुसार पढ्न सकेनन् । श्रीमानका तीन दाजु–भाइ थिए । ससुराले अंशबन्डा गर्दा ६ धुर जमिन भागमा पर्‍यो ।

श्रीमान‍्ले त्यही सम्पत्ति पनि धितोमा राखेर खाए । एक–एक रुपैयाँ जोडेर धितोमा राखेको जग्गा उकासेँ । जेठो छोराको विवाह भइसक्यो । एउटा नाति छ । एकपटक छोरालाई वैदेशिक रोजगारीमा पठाउन भनेर पैसा जम्मा गरेँ । एउटा एजेन्टले छोरालाई विदेश पठाइदिन्छु भनेर जम्मै रकम खाइदियो । मेरो मिहिनेत र पैसा डुब्यो । फेरि ऋण खोजेर छोरालाई विदेश पठाएँ । अहिले बुहारी र दुई वर्षको नाति मसँगै छन् । 

बिहानै ३ बजे उठेर मोरङको भाउन्नेमा मकै लिन जान्छु । बारीमा पुगेर एक घोगाको १० रुपैयाँ तिरेर मकै किनेर ल्याउँछु । कहिले १ बोरा त कहिले २ बोरा मकै ल्याएर आउँछु । मकै पोल्ने कोइला पनि उतैबाट ल्याउँछु । एक बोरा सिमेन्टको ३ सय ५० रुपैयाँ पर्छ । मकै ल्याएपछि अपराह्न ४ बजेदेखि प्रतिष्ठान छेउमा मकै पोल्ने गर्छु । पोलेको मकै प्रतिघोगा ४० रुपैयाँमा बेच्छु । मकै बेचेर दिनमा कहिले हजार त कहिले १५ सय रुपैयाँसम्म कमाउँछु ।  

मकै बेचेर दुई छोरा हुर्काएँ । अहिले आफ्नै सानो भए पनि घर छ । कोठाभाडा तिर्न पर्दैन । छोराहरू आफैं कमाउने भएका छन् । छोराले पठाउने पैसाले विदेश जाँदाको ऋण तिर्न ठिक्क हुन्छ । मैले घरखर्च चलाइरहेकी छु । अचाक्ली महँगी बढेकाले खर्च पनि धेरै हुन्छ । दुःखकष्ट सहेरै आफूले गरेको मिहिनेतले खान पुगेको छ । कसैसामु हात फैलाउनु परेन । सानैदेखि दुःख गरेर जिन्दगी बिताएँ । लगन र मिहिनेतले दुःखलाई परास्त गर्न सकिँदो रहेछ भन्ने कुरा सिकेकी छु । अहिले छोराहरूलाई पनि त्यही सिकाउँछु ।

प्रस्तुति : एलिना राई

विष्णुमाया

Link copied successfully