पढाइलेखाइ नभएपछि पुर्खाले गर्दै आएको आरन पेसाबाटै घरखर्च चलाइरहेको छु
डडेल्धुरा — घाम उदाउनासाथ म उठ्छु । हात–मुख धोइवरी पुरानो हथौडा र फलाम बोकेर काम गर्ने ठाउँमा पुग्छु । अहिले ४८ वर्षको भएँ । जिल्लाको अजयमेरु–२, हाटगाउँमा जन्मेँहुर्कें । पढाइलेखाइ नभएपछि पुर्खाले गर्दै आएको आरने पेसा गरेर घरखर्च चलाइरहेको छु ।
दुई दशकअघि सदरमुकामको तुफानडाँडामा सानो टहरा निर्माण गरेर आरन घर बनाएर काम थालेको हुँ । पहिले पेसा गाउँमा मात्र सीमित थियो । बिस्तारै गाउँबाट बसाइँ सरेर सदरमुकाम आउने चलन सुरु भयो । त्यही लहरमा धेरथोर कमाइ हुने विश्वासमा परम्परागत सीप बोकेर म पनि बजार आइपुगेको हुँ ।
तुफानडाँडामा काम थाल्दा फलाम तताउने भाँडो, आगो बाल्ने भुस, बोक्रा र हातमा सीप मात्रै थियो । चिनजान नभएकाले सुरुमा ग्राहक आएनन् । तैपनि काम गर्दै गएँ । एक दिन कसो ग्राहक नआउलान् भन्ने आत्मविश्वास चाहिँ थियो । नभन्दै बिस्तारै कोही कुटो कोदालो बनाउन, कोही हँसिया मर्मत गर्न आउन थालेपछि मेरो पनि गुजारा चल्दै गयो ।
दिनप्रतिदिन काम लिएर आरनमा आउनेको संख्यासँगै कमाइ पनि बढ्यो । दिनमा कहिले हजार त कहिले १५ सय आम्दानी हुन्थ्यो । यति भएपछि आटोपिठो र दाल–चामलका लागि समस्या भएन । परिवारमा ६ जना थियौं, कुनै दिन भोकै बस्न परेन । चाडपर्वमा मिठोमसिनो खान र एकसरो नयाँ लुगाको कमी भएन । यस्तो हाँसीखुसी दिगो रहेन ।
महाकाली राजमार्ग छेउमा तुफानडाँडा बजार छ । अमरगढी नगरपालिकाले तुफानडाँडा क्षेत्रमा सडकको १५ मिटर आसपासका टहरा हटाएर जमिन खाली गर्न सूचना जारी गर्यो । सूचना जारी भएपछि मन खङ्ग्रङ्ग भयो । हारगुहार गरेर बजारकै कुनै ठाउँमा विकल्प माग गर्यौं । तर नगरपालिकाले टहरा हटाउनमात्र जान्दो रहेछ । विकल्पबारे बहस नै गरेन । साना व्यवसायीलाई हटाउनु भनेको सीधा पेटमा लात हान्नु हो । मेरो पसिना, सपना र समय सबै खेर गयो ।
विस्थापित भएर सडकमा पुगेको देखेपछि स्थानीय समाजसेवी प्रकाश साउँदले आफ्नो जमिनमा ठाउँ दिए । यति भएपछि पहिले व्यवसाय गरिरहेको ठाउँकै सामुन्ने नयाँ गन्तव्य भेट्टाएँ । नगरपालिकाले अर्को व्यवस्था नगरुन्जेलसम्म यहीँ निःशुल्क बस् भन्नु भएको छ । साउँद सर नभएको भए, सायद म पेसा छाडेर गइसक्थेँ । अहिले उहाँकै जग्गामा नयाँ टहरा निर्माण गरेर आरन चलाइरहेको छु । तर, पहिलेजस्तो ग्राहक आइरहेका छैनन् । पहिलेको ठाउँमा मलाई नदेखेपछि ग्रँहकले पनि बाटो मोडे कि ! अहिले नयाँ आरन भएको ठाउँ देखाउन पुरानो टहरा भएको ठाउँमा गएर पनि उभिरहेको हुन्छु ।
अहिले आम्दानी घटेको छ । कुनै दिन त सय/दुई सय मात्र कमाइ हुन्छ । यति पैसाले ६ जनाको परिवारको खर्च धान्न मुस्किल छ । बास पो निःशुल्क पाइएको छ । साँझ–बिहान हात मुख जोड्न त पैसा चाहियो नि ! खर्च जोगाउन नास्ता खान्नँ । दुई छाक दाल–भात मात्र खान्छु । यहाँ एक्लै बस्छु । तर, गाउँमा रहेका परिवारका लागि पनि रासनपानी र लत्ताकपडा किन्नै पर्यो । महिनाको २/३ पटक घर जाँदा खानेकुरा सकिएको हुन्छ । १०/१५ दिनमा घर जाँदा दाल–चामल किनेर लगिदिन्छु । अहिले महिनामा मुस्किलले ८/१० हजार कमाइ हुन्छ ।
आपत–विपत् परेका बेला खर्च हुँदैन । त्यस्तो बेला ऋण काढेर दैनिकी चलाउनुपर्छ । चाडपर्व आउँदा मिठो खानु त परै जाओस्, दाल–भातको टुंगो हुन्न । कहिलेकाहीँ श्रीमतीले प्रश्न गर्छिन्, ‘अब के गर्ने त ?’ उनको प्रश्नले मलाई चिमोट्छ मात्र । अब के गर्ने भन्ने प्रश्नको जवाफ मसित छैन । यताहुँदी कति जना सीप छाडेर वैदेशिक रोजगारीको यात्रामा पनि लागे । एकपटक विदेश जानुपर्छ कि भनेर मैले पनि सोचेँ । तर, यो माटो अनि पेसा र हातमा भएको सीपमै गर्व लाग्यो । त्यसैले देश छोड्न सकिना ।
प्रस्तुति : तर्कराज भट्ट
