खेतीपाती र घाँस–दाउरा गर्न नसक्ने भएपछि गाउँ जानुभन्दा मागेर पेट पाल्न सदरमुकाममा डेरा गरी बस्न थालेको हुँ
म्यादी — म्याग्दीको राहुघाट खोलाको सिरान र धौलागिरि हिमालको फेदमा रहेको घ्याँसीखर्क गाउँ धेरै रमाइलो छ । शुद्ध हावापानी र आफन्तको माया गाउँमै छाडेर १५ वर्षदेखि जेठो नातिसित बेनीको कालीपुलमा डेरा गरेर बसेको छु । उमेरले ७० वर्ष पारे गरेँ । ६० वर्षकी श्रीमती, जेठा छोरा–बुहारीले गाउँमै खेतीकिसानीबाट गुजारा चलाइरहेका छन् । खेतीपातीबाहेक उनीहरूको हातमा दामपैसा आउने विकल्प छैन ।
कान्छो छोरा देव पोर्चुगल गएको चार-पाँच वर्ष भयो । दुई वर्षअघि बिदामा आएका बेला ऊसँग बाचचित भएको थियो । केही समय घर बसेर फर्किएदेखि कान्छो छोरासित फोनमा पनि कुराकानी भएको छैन । श्रीमती र जेठा छोरासित कहिलेकाहीँ कुराकानी हुन्छ । पाँच वर्ष भयो, गाउँ नगएको । कहिलेकाहीँ हालखबर बुझ्न जेठो छोरा भीमप्रसाद यतै आउँछ । देब्रे खुट्टा टेक्न नमिल्ने भएकाले पनि हिँडेर गाउँ पुग्न गाह्रो भएको हो । खेतीपाती र घाँस-दाउरा गर्न नसक्ने भएपछि गाउँ जानुभन्दा मागेरै पेट पाल्छु भनेर सदरमुकाममा डेरा गरी बस्न थालेको हुँ ।
मेरो दुःखको कथा लामो छ । ०४९/५० सालतिर साउदी पुगेर २० वर्ष मजदुरी गरेँ । काम गर्दागर्दै अचानक देब्रे खुट्टाको घुँडादेखि तलको भाग चल्न छाड्यो । राम्रोसँग टेक्न नसक्ने भएपछि कम्पनीले उपचार नगरी उल्टै रित्तो हात घर फर्काइदियो । साउदीमा कमाएको धेरै पैसा छुट्टीमा आउँदा घरखर्चमै सकियो । यहाँ आएपछि बेनीको कालीपुलमा बसेर खुट्टाको उपचारमा लागेँ । मलाई स्याहार्न श्रीमती पनि आइन् । साउदीबाट फर्किंदा ३–४ लाख रुपैयाँ बचत थियो, त्यो पनि खुट्टाको उपचारका लागि बेनी र पोखराका अस्पतालमा धाउँदाधाउँदै सकियो । खुट्टा निको नहुने भएपछि ऋणधन गरी थप उपचार गर्नेतर्फ लागिनँ ।
कालीपुलमा कच्ची घरमा पानी, बिजुलीसहित २६ सय महिनाको भाडा तिरेर बसेको छु । पेट पाल्न ८ वर्षदेखि कालीपुल छेउ मुस्ताङ बसपार्कको शौचालय सफा गरेर शुल्क उठाउँछु । पहिला देशभरबाट आएका गाडी बेनीमै रोकिन्थे । बेनीबाट मुस्ताङ जान अर्को गाडी चढ्नु पर्थ्यो । धेरै यात्रु हुँदा शौचालयमा भीड लाग्थ्यो । दैनिक १ हजारदेखि १२ सय रुपैयाँ शुल्क उठ्थ्यो । बेनी नगरपालिकाले शौचालयसँगै जोडेर लस्करै सटर बनाएको छ । वार्षिक ३० हजार भाडा तिर्ने गरी १ लाख ५० हजार बुझाएर श्रीमतीले चिया पसल खोलेकी थिइन् । चिया–खाजा पसल राम्रै चल्यो ।
अहिले टिकट काट्ने काउन्टर तल बसपार्कको भवनमा सरे । देशभरबाट गाडी सोझै मुस्ताङ जान थाले । यात्रु घटेपछि चिया पसल बन्द भयो । मेरो कमाइ पनि अहिले दिनमा दुई सयजति हुन्छ । यहाँ पेट भर्न समस्या भएपछि श्रीमती गाउँ फर्की । तीन जना बस्दा अम्मल छाडेर महिनाको ८ हजारजतिले घरखर्च पुग्थ्यो । अहिले महिनामा २५ सयको एक बोरा चामल, २ हजारको एक सिलिन्डर ग्यास चाहिन्छ । महिनामा दुई लिटर तेलको ४ सय ८० रुपैयाँ खर्च हुन्छ । दाल, तरकारी, नुन, चिनी, मसलामा १५ सय रुपैयाँ खर्च हुन्छ । सबै गरेर ६ हजार जतिले दुई जनालाई खाना पुग्छ । चाडपर्वमा छोराले पैसा पठाएपछि नयाँ कपडा फर्छौं । आफन्तले घरबाट पीठो, तरकारी पठाउँछन् । १२ कक्षासम्म पढेको नाति मनप्रसाद बल खेल्न (फुटबल) भन्दै हिँड्छ ।
झिसमिसेमा आएर रात परेपछि कोठामा फर्किन्छु । शौचालयमा पानी र बिजुलीको महिनाको ५ सय तिर्छु । एउटा हार्पिकलाई १ सय ३० र फिनेल लिटरको १ सय २० रुपैयाँ पर्छ । साँझको खाना नातिले पकाउँछ । बिहान होटलतिर रोटी–तरकारी, समोसा–चिया, चाउमिन, पाउरोटी–चिया यस्तै खान्छु । रोटी–तरकारी खाँदा ८० रुपैयाँले पुग्छ, चिया–समोसा खाँदा ६० रुपैयाँ, दाल–भात खाँदा १ सय ५० रुपैयाँ पर्छ । चियाको २५ रुपैयाँ छ । बिहान ५० रुपैयाँको एक गिलास अम्मल (रक्सी) घुटुक्क पारेपछि शौचालयको दुर्गन्ध बिर्सिन्छु । सरकारले मासिक ४ हजारका दरले तीन–तीन महिनामा वृद्धभत्ता दिन्छ । भत्ताले नाति–बाजेको पेट पालेका छौं । कहिलेकाहीँ सोच्छु– अब कति दिन यसरी शौचालयको दुर्गन्ध सहेर बस्ने ? छोडुँ र घर फर्कुंजस्तो झोक पनि चल्छ । च्वाट्टै छोडेर हिँड्न पनि सक्दिनँ ।
प्रस्तुति : घनश्याम खड्का
