आफ्नै खेतबारी नभएकाले सबैथोक किन्नुपर्छ
वीरगन्ज — सिमानाको सहरिया बासिन्दा भए पनि धेरै रहर छैनन् । दिनभरि मिहिनेत गरेर परिवारका लागि दुई छाक खाना र एकसरो नाना जुटाउनु मुख्य काम बनेको छ । २७ वर्षको उमेरमै जिम्मेवारीको ठूलो भारी बोक्नु परेको छ । वीरगन्ज महानगरपालिका–१२ मुर्लीमा बसोबास गरेर अटोरिक्सा चलाउन थालेको ४ वर्ष पुग्यो । वीरगन्ज सहरका गल्ली–गल्ली चहारेरै दिन बित्छ ।
हरेक बिहान साढे ५ बजे उठेर अटोरिक्सा लिएर घरबाट निस्कन्छु । घरमा चिया पाक्दैन, बाहिर महँगो पर्ने भएकाले पिउने बानी बसालेको छैन । दिनभर अटो रिक्सा चलाएर साँझ ७ बजेतिर कोठामा फर्किन्छु ।
अटो पनि मेरो होइन । दैनिक ८ सय रुपैयाँ भाडा तिरेर चलाउने गरेको छु । जति चाँडो घरबाट निस्किन सक्यो, उति कमाइ हुने आसमा खानको पनि ठेगान हुँदैन । फुर्सद भएका दिन कोठामा फर्किएर खान्छु । नत्र बाहिरफेर होटलमा खाने गरेको छु । होटलमा खाँदा सादा खाना प्रतिछाक १ सय ५० रुपैयाँ खर्च लाग्छ ।
अटो भाडा एक जना यात्रुको कम्तीमा १० देखि ३० रुपैयाँसम्म तोकिएको छ । एकपटकमा बढीमा ७ जना यात्रु बोक्न मिल्ने भए पनि सधैं भनेजस्तो कहाँ पाउनू र ! कोचाकोच गरेर बस्न नरुचाउने यात्रु सिट खाली भएको अटो खोज्छन् । त्यसैले त थोरै यात्रु बोकेर भए पनि कुँदेको कुद्यै गर्नुपर्छ । अटो चलाएर दिनमा त्यस्तै १४/१५ सय रुपैयाँ कमाइ हुन्छ । त्यसमध्ये साहुलाई ८ सय भाडा बुझाएपछि हातमा ६/७ सय रुपैयाँ बच्छ । त्यही रकमले परिवारको घरखर्च धान्नु परेको छ । आमा–बुवा, श्रीमती र एक छोरी गरेर पाँच जना दुइटा कोठा भाडामा लिएर बसिरहेका छौं ।
जस्तै दुःख भए पनि सातामा एक दिन माछा–मासु ल्याएर खान्छौं । अन्य दिन भात नियमित भए पनि दाल र तरकारी आलोपालो पाक्छ । पहिले सहरमा अटो रिक्सा कम हुँदा चित्त बुझ्दो कमाइ हुन्थ्यो । अहिले बढ्दो महँगाइको रफ्तारमा कमाइ भने घट्दै गइरहेको छ । बुवा–आमाको उमेर नपुगेकाले वृद्धाभत्ता पाउने बेला भएको छैन । मेरो कमाइ खानपिनलाई ठिक्क हुन्छ । बिरामी परेका बेला उपचारका लागि आफन्त र छिमेकीसँग सापटी लिएर खर्च चलाउँछु ।
आफ्नो नाममा घर/खेत केही नभएकाले आवश्यक सबै थोक किन्नुपर्छ । घर भाडा, रासन, औषधि, ग्यास सिलिन्डर लगायतमा महिनाको २० हजार हाराहारी खर्च हुन्छ । ऋण नखोजी चाडपर्व कट्दैनन् । तर त्यही ऋण तिर्न ३/४ महिना कमाउनु पर्छ । प्रत्येक महिना ६ हजार रासनपानी, ५ हजार कोठा भाडा, १ हजार ९ सय ५० रुपैयाँ ग्यास सिलिन्डरमा खर्च हुन्छ । १ हजारदेखि १२ सयको बिजुलीको बिल आउँछ । बिहान आफूले खाने गरेको होटलमा साढे ४ हजार जति महिनाको खर्च हुन्छ । छोरीलाई अझै कापी–किताब खरिद गर्नुपरेको छैन । गत दसैंमा मेलाबाट छोरीका लागि साढे २ सयका खेलौना ल्याएको थिएँ । त्यसयता नानीले नयाँ खेलौना पाएकी छैन ।
अहिलेको कमाइ दोब्बर भएमात्र घरखर्च चलेर केही रकम बचत हुन्थ्यो । खर्च घटाउन खाना नखाई बस्न सकिँदैन । अहिले साँझ–बिहान रासन जुटाउनै बहुत दिक्कत छ । अहिलेसम्म जेनतेन चले पनि छोरी स्कुल जान थालेपछि अर्को वर्षबाट खर्च कसरी धान्ने भन्ने चिन्ताले सताउन थालेको छ । यस्तो बेला श्रीमतीसँग सल्लाह गरेर मन हलुँगो पार्छु । छोरी स्कुल जान थालेपछि श्रीमतीले पनि कुनै न कुनै काम गर्ने सल्लाह भएको छ ।
प्रस्तुति : भूषण यादव
