एक्लो ज्यान पाल्नै युद्धसरह

तीन महिनादेखि शरीरमा लगाएको कोट र कपडा धोएको छैन । नयाँ लुगा लाउन र मिठाइ खान मन छ 

फाल्गुन २, २०८१

बोलबहादुर क्षत्री

Living alone is like a war

सिन्धुपाल्चोक — सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी–३, धुस्कुन पात्लेबेसी थातथलो भए पनि मजदुरी गर्नकै लागि बाह्रबिसे बजारमा बसिरहेको छु । १७ वर्षको मात्र थिएँ, घर–व्यवहार चलाउन सकस भएपछि बाह्रबिसे–९ स्थित फुपू सुनन्ती बस्नेतको घरमा आश्रय लिन आएँ । ३६ वषदेखि यहीँको यहीँ छु । 

तीन दाजुभाइमध्ये दाइ र भाइको बसोबास धुस्कुन पात्लेमै छ । दुःखमसुखम बाल्य र किशोरकाल गाउँमै बित्यो । सानै छँदा बुबा–आमाको मृत्युपछि हामी दाजुभँइको बिजोग भयो । दाइ र भाइलाई काकाले सम्हाले भने फुपूको घरमा आश्रित हुन म आएँ । अभावबीच विद्यालय जाने कुरा सपना मात्रै बन्यो, पढलेख गर्न पाइएन ।

उमेर पुगेपछि दाइ र भाइले बिहेवारी गरे । गाउँको बारीमा काम गरेर खान नपुग्ने देखेरै घर फर्किनँ । फुपूको घरमा दुहुनो गाई थियो । त्यसकै लागि घाँसपात र गोबर सोहोर्ने काम गरें । फुपू दम र मुटु रोगी भएकाले उहाँको ख्याल राख्दै आफ्ना लागि खर्च जुटाउन बचेको समय मजदुरी गर्थें । 

मजदुरी गरेरै दिनको दुई सयका दरले खुत्रेकेमा केही रकम जोगाएर राखेको थिएँ । तर भूकम्पका बेला भाँडोसहित त्यो रकम हरायो । काठमाडौंतिर बसोबास भएका फुपूका परिवार र आफन्त बेलाबेला भेट्न आइरहन्थे । फुपूको स्वास्थ्य अवस्था बुझेर फर्किन्थे । मेरा हातखुट्टा बाङ्गा भएकाले हिँडडुल गर्न मुस्किल हुन्छ । बिरामी परेका बेला घस्रिएरै मेडिकलसम्म पुग्नुपर्छ । नसकेका बेला छिमेर्कीले सहयोग लगिदिने गर्छन् । डाक्टरले पनि जन्मजात अपांगता भएकाले उपचार नहुने बताएकाले बाँच्नका लागि संघर्ष गर्नुको विकल्प पनि छैन । 

चार वर्षअघि फुपूले किनिदिएका दुईवटा कोट नै नयाँ लुगा हुन् । शरीरमा लगाएको कोट र कपडा पनि तीन महिनादेखि धोएको छैन । नयाँ लुगा लाउन र मिठाइ खान मन छ । खल्तीमा अलिकति पैसा राखेर तीर्थ जान मन छ । यी त मेरालागि कहिल्यै पूरा नहुने सपना हुन् । 

तीन वर्षअघि मलाई माया गर्ने फुपूको पनि मृत्यु भयो । त्यसको दुई महिनापछि गाई पनि मर्यो । त्यसयता एक्लो ज्यान पाल्नै युद्धसरह भइरहेको छ । फुपूको सेवा गरेको फल भनम्, अहिले उहाँको घरको सानो कोठामा आश्रय लिन पाएको छु । फुपू भइन्जेल भातपानीको खर्च उहाँले व्यवस्था गर्नु हुन्थ्यो ।

एक्लै भएपछि छाक टार्नका लागि नजिकैको मिलमा काम गर्न जान्छु । त्यहाँ कुटानीपिसानीका लागि ल्याइएका बोरा उचालेर अनाज मेसिनमा खन्याउने काम गर्छु । भुस संकलन गर्ने काम पनि छ । धानको भुस बिक्री र मिलमा मजदुरी गरेबापत महिनामा मिल्ने ३ हजार नगद नै मेरो आम्दानी हो ।

त्यति रकम साँझ–बिहान छाक पुर्‍याउनै अपुग हुन्छ । दाल–चामल किन्न नसकेर धेरैजसो समय २० रुपैयाँमा एउटा चाउचाउ र अलिकति चिउरा किनेर भोक मेटाउँछु । यति भएपछि नुन र तेल अलग्गै किन्नु पर्दैन । कहिलेकाहीँ होटल गएर ८० रुपैयाँमा पाइने थुक्पा र चाउचाउ खान्छु ।

कहिलेकाहीँ खोकी र ज्वरोले अत्याएका बेला औषधि किन्न मेडिकल जाँदा २ सयजति खर्च हुन्छ । अहिले दुई दिनको अन्तरमा औषधि उपचारका लागि भनेर १ सय नगद बचत गर्न थालेको छु । मेरो अवस्था देखेर मेडिकल सञ्चालकले प्रायः औषधि निःशुल्क दिन्छन् । ठूलै बिमारी परे भने मेरो बिजोग हुने अवस्था छ । 

सरकारले दिने धेरथोर अपांग भत्ताले राहत मिलेको छ । अहिले त लामो समय भयो भत्ता पनि पाएको छैन । भत्ता पाए पनि कान्छो भाइले आएर घरव्यवहार चलाउन भन्दै लैजान्छ । अपांग भत्ताको कागज पनि भाइले नै राखेको छ । भत्ता लिने दिन भने मलाई फकाएर बैंकसम्म लैजान्छ । पहिले पहिले भत्ता बुझेका दिन एक/दुई हजार नगदसम्म मैले पाउँथेँ । अहिले त भाइले त्यो पनि दिन छाड्यो । घरमा यो समस्या छ, त्यो समस्या छ भन्दै खाजा खुवाएर नगद लिएर जान्छ । यो गुनासो पनि कोसित गर्नू ? आफ्नै भाइ हो । केही छैन, जिन्दगी यस्तै रहेछ ।

प्रस्तुति : अनिश तिवारी

बोलबहादुर

Link copied successfully