ताप्लेजुङ — पुर्ख्यौली बसोबास मेरिङदेन गाउँपालिका–१, खाम्लुङमा भए पनि ६ वर्षअघि बसाइँ सरेर सदरमुकाम फुङ्लिङ नगरपालिका आएका छौं । उमेरले म ५९ वर्ष र श्रीमान् स्याङ्बो ६२ वर्षका भयौं । बसाइँ सर्ने बेलासम्म खाम्लुङमा मोटर बाटो पुगेको थिएन । सदरमुकाम आउजाउँ गर्न सात/आठ घण्टा लाग्थ्यो । अहिले दुई घण्टामा गाडीमै पुगिन्छ ।
छोरा–छोरीले पढ्न पाउलान् भनेर तीन लाख बन्धकीमा अरुको जग्गा लिएर बासस्थान बनाएर पाँच वर्ष गुजार्यौं । एक वर्षअघि चार रोपनी जग्गा किनेर घर बनायौं । तीन लाख बन्धकी हालेको रकम फिर्ता मागेर एक लाख थपेर जग्गा किनेका हौं । कान्छो छोरा विकास दुबई गएको छ । विकासले पठाएको केही पैसा र आफन्तसित डेढ लाख ऋण लिएर त्यहीँ जग्गामा घर बनाएका हौं ।
घर बनाउँदा चानचुन ४ लाख खर्च भयो । छोराले विदेशबाट पठाउने पैसा र आफूले खानपान कटौती गरेर भए पनि घर बनाउँदा लागेको ऋण तिर्ने सोचेका छौं ।
तीन–चार महिनामा विकासले पठाउने पैसा हाम्रो मुख्य घरखर्चको स्रोत हो । घरमा तीन जनाका लागि महिनाको १५ हजारभन्दा बढी खर्च हुन्छ । एक हलगोरु, सुँगुर, बाख्रा र कुखुरा पालेका छौं । दिनको पाँच सयका दरले हलगोरु भाडामा दिनेका गरेका छौं । असार–साउनमा रोपाइँ गर्दा र पुस–माघमा बाँझो जमिन जोत्ने बेला मात्रै गोरुबाट कमाइ हुन्छ । चाडवाडमा पाहुनालाई खुवाउनेबाहेक कुखुराबाट अन्य आम्दानी लिन सकिएको छैन ।
श्रीमान् र श्रीमतीको चिया भने पनि, खाजा भने पनि तोङ्बा नै हो । दिनमा तीन/चारपटक तोङ्बा खाने भएकाले हाम्रो धेरै खर्च यसमै हुन्छ । बिहान हामी बुढाबुढीले तोङ्बा तान्छौं । छोरी आशाले कालो चिया पिउँछिन् । तोङ्बाबाहेक गाउँघरमै उत्पादन हुने आलु, स्कुस र थुक्पा खाजाका रूपमा खान्छौं । तोङ्बा बनाउन महिनामा १८ देखि २० पाथीसम्म कोदो, मकै, खुँदी (कनिका), गहुँ चाहिन्छ । यसमा ४ हजार ५ सय हाराहारीमा खर्च हुन्छ । अहिले प्रतिपाथी कोदो ३ सय, मकै २ सय ५०, गहुँ २ सय र खुँदी १ सय ५० रुपैयाँ मूल्य पर्छ ।
साँझ–बिहान गरेर दिनमा डेढ किलोसम्म चामल खपत हुन्छ । यसको मूल्य दैनिक डेढ सय रुपैयाँ जति पर्छ । सातामा एकदिन एक किलो कुखुराको मासु खान्छौं । चिया, चिनीमा मासिक ५ सय खर्च हुन्छ । बजारमा चिनी प्रतिकिलो एक सय, चियापत्ति एक पाउको १ सय ५० रुपैयाँ छ । महिनाको दुई किलो चिनी खपत हुन्छ । खाने–पिउनेबाहेक लुगा धुने–नुहाउने साबुनमा चार सय, मान्छे र बस्तुभाउका लागि महिनामा तीन किलो नुन किन्न सय रुपैयाँ खर्च लाग्छ । खाने तेल, मरमसला, विद्युत् उपभोगमा महिनामै ५ सय हाराहारी खर्च हुन्छ ।
पुर्ख्यौली घर सान्थाक्रामा छोरा–बुहारी र छोरी–ज्वाइँ छन् । उनीहरूलाई भेट्न जाँदा र आउँदा एक हजार भाडा नै लाग्छ । पाहुना आउँदा र आफू पाहुना जाँदा हुने खर्च बेग्लै छ । विवाह–व्रतबन्ध, पास्नी, बर्खान्तमा जाँदा हुने खर्च बेग्लै छ । १२ कक्षा पढिरहेकी छोरीका लागि फिस, कापी–किताब, पोसाकमा महिनाको ५ हजार खर्च छ । ल्होसार, दसैं, तिहार, संक्रान्तिजस्ता चाडपर्वमा ह्वात्तै खर्च बढ्छ । श्रीमान् श्रीमतीले गत वर्षको ल्होसारमा कपडा फेरे पनि यसपटक नयाँ लुगा लगाएनौं । छोरीले चाहिँ आवश्यकता अनुसार खरिद गर्छिन् ।
उमेरसँगै घरखर्च बढिरहेको छ । त्यसैले हलगोरु बिक्री गरेर दुहुनो गाई किन्दै छु । एक हलगोरूको मूल्य ८० हजार रुपैयाँ हाराहारी पर्छ होला । गोरु बाँध्ने गोठमा अब दुहुनो गाई बाँध्ने सोचेकी छु । दैनिक चार/पाँच लिटर दूध बेच्ने सोचेका छौं । आर्जन बढाउन खेतमा साग, मुला, गोभी, आलुजस्ता तरकारी रोप्ने तयारी पनि छ । टनेल बनाएर हिउँद बर्खे तरकारी फलाउने सल्लाह भएको छ । खेत नजिकै खोलो भएकाले सिँचाइको समस्या छैन । दुईछोरी विवाह गरेर आ–आफ्नो घर गए । एक छोरी नेपाल प्रहरीमा जागिरे छिन् । विदेशबाट छोरो आएपछि लुम्बिनी र काठमाडौं घुम्न जाने चाहना छ । जेठो छोरो र कान्छी छोरीलाई सँगै लैजाने भनेका छौं ।
प्रस्तुति : आनन्द गौतम
