औषधि खर्च पुर्‍याउनै तनाव छ

मंगलसेन बजारमा घर भए पनि लेकमा छाप्रोमा बास

माघ २८, २०८१

सेते कामी

There is stress to pay for medicine

अछाम — मंगलसेन–५ को बजारमै घर भए पनि केही न केही नबेची हाम्रो गुजारा चल्दैन । स्थानीय वन समितिले दाउरा बटुल्न रोक लगाएपछि दाउरा बेच्ने काम ठप्प छ । घरको भैंसी चैतको अन्तिममा मात्रै ब्याउने भएकाले अहिले दुध उत्पादन पनि रोकिएको छ । त्यसैले अहिले हामी बुढाबुढी फुर्सदमा छौं ।

प्रतिलिटर १ सय रुपैयाँ दरले दिनको ३ लिटर दुध बेच्दा महिनाकै ९ हजार हाम्रो हातमा पर्थ्यो । एकाध दिनको अन्तरमा १ सय ५० रुपैयाँमा दाउरा बेच्दा पनि केही हजार कमाइ हुन्थ्यो । अहिले त हाम्रा दुवै काम नभएकाले कमाइ सुको छैन । 

मेरो नाम सेते कामी र श्रीमतीको नाम बदन हो । मेरो ५७ र श्रीमतीको उमेर ४५ वर्ष भयो । ठूलो परिवार भए पनि सबै साथमा छैनौं । म, मेरी श्रीमती, ८४ वर्षीय बुवा र तीन वर्षकी छोरी अहिले सँगै बसिरहेका छौं । बिहेवारी गरेर २ छोरा र २ छोरी आ–आफ्नो परिवारसहित मजदुरी गर्न भारत गइसकेका छन् । छोराछोरीबाट ५ नातिनी र ३ नाति जन्मिसके । 

पढून् भनेर मैले सबै सन्तानलाई विद्यालय भर्ना त गरेको थिएँ, तर कसैको ध्यान पढाइमा गएन । कापी–कलम जोहो गर्न मुस्किल हुन थालेपछि चारै सन्तानले विद्यालय छाडेर घरजम गरे । म पनि १३ वर्षको उमेरमा काम खोज्न पहिलोपटक बम्बई (भारत) पुगेको थिएँ । अहिले सन्तानले पनि त्यही नियति भोग्नुपरेको छ । ३५ वर्षसम्म भारतका धेरै ठाउँमा चौकीदारी गरेँ । साहुका गाडी धोएँ, होटलमा जुठा भाँडा माझे पनि छोराछोरीलाई पढाउन सक्ने गरी कमाउन सकिनँ ।

मजदुरी गर्दागर्दै बिरामी परेर घर फर्किएपछि फर्केर भारत गइनँ । घरमा नियमित आम्दानीको स्रोत नभएकाले बारीमा कुटो-कोदालो र मेलापात गरेर दिन कटाइरहेका छौं । तीन वर्षअघि बदनको गर्भ रहेको पनि ५ महिनापछि मात्रै पत्तो पायौं । थाहा पाउनासाथ सुरक्षित गर्भपतन गराउन भनेर स्वास्थ्यसंस्था जाँदा डाक्टरले ढिलो भइसकेकाले बच्चा जन्माउन सल्लाह दिएर फर्काइदिनु भयो । मनले नमानेपछि भारतको पुणेसम्म गर्भपतन गराउन पुगे पनि सम्भव भएन ।

गर्भपतन गराउने चक्करमा बढेसकालका लागि भनेर साँचेको बचत सबै सकियो । भारतमा जन्मिएकी कान्छी छोरीलाई २० दिन आईसीयूमा राखेर उपचार गर्नुपर्‍यो । अहिलेसम्म छोरी बामे नसरेकाले पिर लाग्छ । गर्भपतन गराउने चक्करदेखि छोरी जन्मिएपछि उपचारमा ४ लाख खर्च भइसक्यो । त्यसयता सालिन्दा हाम्रो टाउकोमा ऋण थपिएको थपियै छ । 

दुई वर्षअघि उच्च रक्तचापले मलाई ढलाएपछि अचेत अवस्थामै काठमाडौं पुर्‍याएर उपचार गराउँदा ४ लाख खर्च भयो । बल्लतल्ल तंग्रिन लागेका बेला फेरि मधुमेह देखियो । अहिले रोगसँग जुध्न मासिक ७ हजारको औषधि खान्छु । छोराहरू काठमाडौंमा उपचार गर्दा लागेको रिन तिर्दैछन् । आफ्नो आम्दानी ७ रुपैयाँ नभएकाले अहिले औषधि खर्च कसरी पुर्‍याउने भन्ने तनाव छ ।

मंगलसेन बजारमा घर भए पनि अहिले लेकमा छाप्रो हालेर बसिरहेका छौं । बजारबाट यहाँसम्म आउन २ घण्टा उकालो चढ्नुपर्छ । घरमै बस्दा पानी पनि किनेर खानुपर्ने भएपछि गुजारा चलाउन लेक उक्लिएका हौं । 

गरिबीकै कारण मिठो मसिनो खान चाडबाड आउनुपर्छ । गत दसैंमा मासु खाएका थियौं । फेरि मासु खाने दिन कहिले जुर्छ, ठेगान छैन । बामे नसर्ने छोरी साइनो लाउन जान्दिनन् । अस्पताल लगेर देखाउँदा चिकित्सकले पनि कुपोषण भएकाले पोषिला कुरा खुवाउनु भनेका छन् । डाक्टरले छोरीलाई फलफूल, माछा, मासु र अण्डा खुवाउनूस् भन्छन् । हामीसित कहिलेकाहीँ चामल किन्ने पैसो हुँदैन । यस्तो अभावमा छोरीलाई पोषिला खानेकुरा कहाँबाट ल्याएर खुवाउनू ?

प्रस्तुति : मेनुका ढुंगाना

सेते कामी

Link copied successfully