पाल्पा — पाल्पाको माथागढी–४, झडेवाको मरमरामा स्थायी घर भए पनि अहिले सदरमुकाम तानसेनमा मासु पसल गरिरहेको छु । पसलबाट गुजारा चलिरहेको छ । वायरिङको सीप भएकाले फुर्सदका बेला त्यो काम पनि गर्छु । अहिले ३६ वर्षको भएँ । श्रीमती टीकासँगै आठ वर्षदेखि यही मासु पसल चलाइरहेका छौं ।
मैले खासै धेरै पढेको छैन । ५ कक्षासम्म चढेपछि मेरो पढाइ रोकियो । न कसैले मलाई पढ्न प्रेरित गरे, न पढाइ छोडेकामा दुःख मनाउ गर्ने नै कोही भए । अनि १६ वर्षमै घर छाडेर सदरमुकाम आएँ । फर्निचर उद्योगमा ७ वर्ष काम गरेँ । दुःख धेरै आम्दानी कम भएपछि मेरो मन त्यहाँ अडिएन । त्यसपछि मैले हातमा सीप नभए दुःख पाइँदो रहेछ भन्ने बुझेरै वायरिङको काम सिकेको हुँ । वायरिङको काम सिकेपछि बल्लतल्ल घरखर्च जुट्ने गरेको छ ।
पहिलेका दुःख सम्झिँदा हिजोआज केही सन्तोष पनि लाग्छ । तर, बढ्दो महँगी र भविष्य सम्झिँदा त्यसै त्यसै आत्तिन्छु । महिनाभरको कमाइ घर र पसलको भाडा, छोराको विद्यालय शुल्क र घरखर्चमै सकिने गर्छ । पसल र डेरा भाडा ७ हजार रुपैयाँ छ । घर व्यवहारमा १५ देखि २० हजार खर्च हुन्छ । ५५ र ६५ वर्षका आमा र बुबाका लागि नियमित घरखर्च पठाउनु पर्छ । त्यो पैसा घरमा अन्न किन्दैमा खर्च हुन्छ । यहाँदेखि घरसम्म खर्च चलाउनुपर्छ । मुस्किलले पुग्छ, थोरै बचत हुँदा पुनः एउटा न एउटा बहानामा खर्च भइहाल्छ ।
बढ्दो महँगी देखेर बेलाबखत त्यसै चिन्ता बढ्छ । कमाइभन्दा खर्च धेरै भएपछि कसरी पो धान्ने होला भन्ने चिन्ताले मलाई धेरै सताइराख्छ । पसल भाडादेखि कोठाभाडासम्म महँगो भएको छ । लत्ताकपडा र खाद्यान्नको भाउ ह्वात्तै बढेको छ ।
म घरको एक्लो छोरा हो । त्यसैले मेरो काँधमा धेरै जिम्मेवारी छ । बल्लतल्ल दुई बैनीको बिहे खर्च जुटाएको थिएँ । छोरालाई बोर्डिङ स्कुलमा पढाएको छु । मैले पढ्न नपाए पनि छोरालाई भने बोर्डिङ स्कुलमा पढाएका छौं । हामी (दम्पती) ले पढ्न पाएनौं । त्यसैले पनि छोराको पढाइ राम्रो होस् भनेर होस्टलमै राखेका छौं ।
पसलमा फुर्सद मिलेसम्म म वायरिङको काम पनि गर्छुर् । तर पछिल्लो समयमा धेरै घर बन्न छाडेका छन् । पहिले जस्तो अवस्था छैन । धेरै घर बन्दा काम पनि राम्रो पाइन्थ्यो । अहिले त्यस्तो अवस्था छैन । म वायरिङ गर्न हिँडे भने श्रीमतीले मासु पसल चलाउँछिन् । दुवै जनाले काम गर्न पाउँदा आम्दानी पनि बढ्छ । होइन भने मासु पसल गरेर मात्र जीविकोपार्जनमा निकै समस्या छ । यसका अलावा श्रीमती टीकाले थोक बिक्रेताको सामानको लोड, अनलोडको काम पनि गर्छिन् । त्यसबाट केही कमाइ हुन्छ । यो काम पनि पहिला जस्तो अहिले छैन । यस्तो खुद्रा कामबाट हुने धेरथोर कमाइले पनि हामीलाई घरखर्च धान्न सघाएकै छ ।
कमाइ र महँगीको रेखा तलमाथि परेपछि मजस्ता काम गरेर खाने वर्गका मान्छेलाई अप्ठ्यारो पर्ने गरेको छ । बजारको महँगी नियन्त्रण गर्ने कसले हो भन्ने प्रश्न गर्न मन लाग्छ । हुन त हामीले भोट दिएर पठाएका नेतालाई जनताप्रति कुनै मतलब नै छैन जस्तो लाग्छ । अनि कसरी हामीले सुख पाउने हो र भन्ने हुन्छ ।
कुनै कुनै महिना त हामीलाई घरखर्च धान्न मुस्किल पर्छ । त्यस्तो बेला हामी आफन्ती र छरछिमेकीसँग सापट मागेर काम चलाउने गरेका छौं । घरखर्च धानेर पैसा बचेका बेला मात्रै मैले श्रीमती र छोरालाई कपडा किन्न सल्लाह दिने गरेको छु । गाउँमा बस्ने बुबा–आमादेखि घर–पसल सबै मिलाउँदा खासै धेरै बचत नै हुन्न । त्यसैले यसमा यसो गरौं वा धेरै खर्च गरौं भन्ने नै हुँदैन ।
कहिलेकाहीं हामी (श्रीमान् श्रीमती) बढ्दो महँगीबारे गन्थन गर्छौं । कसरी घरखर्च धान्ने होला भनेर सल्लाह पनि गर्छौं । खर्च कम र बचत गर्ने बानीको विकास कसरी गर्ने भनेर हामीबीच कुराकानी हुने गर्छ । हामीजस्ता मान्छेका निम्ति महँगी नै सबैभन्दा ठूलो शत्रु हो । महँगी किन बढ्यो भन्नेमा हामीबीच आफ्नै आफ्नै बुझाइ छ । राजनीति सबैभन्दा बढी खराब हुँदै गएर नै होला महँगी पनि बढेको भन्ने लाग्न थालेको छ । सरकारले महँगी नियन्त्रण मात्र गरिदिए सबै हामीजस्तालाई खान लाउनको दुःख हुन्न कि ?
प्रस्तुति : माधव अर्याल
