क्यानभासमा उदाउँदै ‘नयाँ किरण’

चित्रकार किरण मानन्धर कला क्षेत्रमा जम्न चाहने युवाका लागि प्रेरणाका स्रोत हुन् । पाटनस्थित एमक्युब ग्यालरी पुगेका ललितकलाका विद्यार्थीलाई उनले कलायात्रामा भोगेका संघर्ष मात्रै सुनाएनन्, सफलताको स्वाद पनि महसुस गराए । 

वैशाख ७, २०८०

मधु शाही

काठमाडौँ — ऊ, सर आउनुभयो ! ‘नमस्कार सर ।’ जिज्ञासु युवाहरू मिठो मुस्कानसहित उनको अघि पालैपालो शिर झुकाउँछन् । हँसिला पाका कलाकार किरण मानन्धरको ‘फ्र्याङ्कनेश’ को जवाफ छैन । उनी चुप बस्दैनन् । चुप लागेर बसेका विद्यार्थी छेउ पुग्छन् र केही न केही चुट्किला सुनाएर गफिन थाल्छन् । उनी जहाँ छन्, त्यहाँ हाँसो र खुसीका बहाव छल्किन्छ । ‘गम्भीर कलाकारको लिस्टमा पर्न रुचाउँदिन,’ ७२ वर्षे किरण मानन्धर भन्छन् । 

 उनका यस्तै चाखलाग्दा कुरा सुन्न युवाहरू वरिपरि घेरिन्छन् । उनले कोरेका चित्रहरू प्रदर्शनीबीच चकटी (सुकुल) राखिन्छ । त्यही वरिपरि पलेटी कसेर युवाहरू थचक्कै बस्छन् । घुँडाको अलि समस्या छ भन्दै किरण भने कुर्सीमा आराम गर्छन् । तर, बोल्न र युवाहरूसँग ठट्टा गर्दा भने जवान नै रहेको अनुभव गर्न सकिन्थ्यो । ‘आज म तिमीहरूबाट थुप्रै कुरा सिक्दै छु,’ उनी भन्दै थिए, ‘म सुनाउन मात्रै होइन, सुन्न पनि मन पराउँछु ।’ 

तस्बिरहरू : दीपक केसी/कान्तिपुर

ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपतिसमेत रहेका मानन्धरको केही सातादेखि पाटनस्थित एमक्युब ग्यालरीमा एकल चित्रकला प्रदर्शनी भइरहेको छ । ‘मनका रेखाहरू’ शीर्षकमा गरिएको प्रदर्शनीमा किरणले युवाहरूमाझ आफ्ना कला मनका भाव साट्न चाहे । बुधबार उनी ललितकला पढ्ने विद्यार्थीहरूलाई बाल्यकालदेखि कलायात्रामा भोगेका संघर्ष मात्रै सुनाएनन्, सफलताको स्वाद पनि महसुस गराए । 

‘तिमीहरू धेरै भाग्यमानी पुस्ता,’ उनले अन्तर्क्रियाको सुरु नै सकारात्मक सोचबाट गरे । उनको पालामा चित्रकार बन्नु भनेको कुनै पाप गर्नु जस्तै थियो । घर, परिवार र समाजले चित्र कोर्नेलाई बिग्रिएको भन्ठान्थे । किरण भन्छन्, ‘स्कुल पटक्कै जान मन लाग्दैन थियो, चित्र कोर्न भनेपछि रातभरि निद्रा लाग्दैन थियो ।’ आफूले भोगेजस्तो संघर्ष अहिलेका पुस्ताले भने भोग्नु नपर्ने उनको बुझाइ छ । ‘अचेलका बुबा, आमा, छोराछोरीलाई चित्रकार बनाउँछु भन्दै स्कुल पठाएको देखेको छु,’ उनी भन्छन्, ‘यो नै ठूलो चेतना हो ।’ 

किरण फ्रान्स र भारतमा पढेर नेपाल फर्के । त्यहाँ उनले १ सय ५० पटक एकल चित्रकला प्रदर्शनी गर्दासम्म याद गरेका थिए । पछि त उनले गन्नै छोडिदिए । चित्र कोर्न भने अझै निरन्तर छन् । आँखाले साथ दिउन्जेल र हातले ब्रस धानुन्जेल क्यानभास रंगाइरहने बताउँछन् किरण । युवा कलाकारलाई निरन्तर मिहिनेत गर्न जोड दिन्छन् । पाका पुस्तासँग भने किरणको तालमेल अलिक नमिलेजस्तो हुन्छ । उनकै भाषामा भन्ने हो भने ‘पाका कलाकार आफ्नो सिर्जना युवा पुस्तामा सिकाउन लोभ’ गर्छन् । सिकेर युवाले आफूलाई उछिन्छ कि भन्ने त्रास छ । उनी भन्छन्, ‘हामीकहाँ पाका पुस्ताले युवालाई सिकाउनु भावमा लोभीपन पाउँछु । जुन ठीक होइन ।’ कला र माया उस्तै हो । उनका अनुसार कला र सीप जति बाँड्यो उति गाडा र फराकिलो हुन्छ भन्ने मान्यता छ । 

किरणको कुरामा केही युवा नतमस्तक थिए । केही भने प्रश्न गर्नमै व्यस्त थिए । तीमध्ये एक कृपन सुवेदी कुनामा बसेर चित्रकार किरणकै फिगर कापीमा कोर्दै थिए । वरिपरिका दृश्यसमेत कापीमा स्केच गरेका थिए । ललितकला क्याम्पसमा तेस्रो वर्ष अध्ययनरत उनी सुन्नु, हेर्ने र कम्पोजिसनमा चित्रको खाका कोरिहाल्न सिपालु छन् । किरण पनि चित्र कोर्दा कम्पोजिसनमा बढी जोड दिन्छन् । कसरी कोर्ने, के कोर्ने र कुन रंगको कसरी संयोजन गर्ने यी सबै खाका कम्पोजिसनमा पर्छ । किरण युवालाई विशेष ध्यान केन्द्रित गर्दै भन्छन्, ‘चित्र जे कोर तर, कम्पोजिसनमा मिठास ल्याउनु । अनि मौलिकतामा जोड दिनु ।’

किरणलाई हेर्न र सुन्न आएका ललितकलाका अर्का २० वर्षे रोजिन महर्जनको कला सिक्नुको उद्देश्य बेग्लै छ । उनी डिजिटल दुनियाँमा कलाको स्वाद चलाउन चाहन्छन् । एनिमेसन सिक्दै गरेका उनले चित्रकला पनि पढ्दै छन् । एनिमेसनमा चित्रकला सिक्न जरुरी रहेको हुँदा उनी ललितकला भर्ना भएको बताए । ‘एनिमेसनमा ड्रोइङ इम्पोटेन्ट रहेछ,’ उनी भन्छन्, ‘पछि चित्रकार मात्रै होइन, एनिमेसन मेकर पनि बन्ने लक्ष्य छ ।’ उनकै साथी प्रणव श्रेष्ठको ध्येय फरक छ । उनी उत्तरआधुनिकतामा रमाउन चाहँदैनन् । नेवार संस्कृतिमा लुकेका परम्परागत कलालाई चित्रको फर्ममा उतार्ने उनको भावी सोच छ । ‘ट्रेडिसनल कला कहिल्यै न ओइलाउने फूल जस्तै हो,’ उनी भन्छन्, ‘जति पुरानो उति महत्त्व ।’

प्रणवले भनेझैं ग्यालरीमा प्रदर्शन गरिएका किरणका चित्रले पनि मौलिकताको महत्त्व दर्शाउँछ । परम्परागत नेपाली कागजमा कोरिएका चित्रमा आकृतिसँगै भावना, संवेदना, आत्मीयता र आनन्द जोडिएको महसुस हुन्छ । कुनै बेला नेपाली कागज हेलाको थियो । वास्ता गरिँदैन थियो । एउटा कलाकारले खेर फालेको फोरलाई पनि पवित्र बनाउन सक्छ भन्ने मान्यता राखेका किरणले यही सन्देश चित्रमार्फत दिन चाहेका छन् । 

चारकोलका रेखा कोरे अमूर्त चित्रमा किरणका मनमा उब्जिएका भाव उतारेका छन् । महिला र पुरुषको अमूर्त आकृतिको गहिरो संयोजन पाइन्छ । रंग संयोजनसँगै किरणको भाव कम्पोजिसनसमेत बलियो देखिन्छ । ‘जीवन आफैंमा पूर्ण रहस्यमय छ,’ उनी भन्छन्, ‘इच्छाहरू र निराशाबीचको द्वन्द्व छ ।’ यिनै भाव उनका अमूर्त चारकोलका रेखाहरूमा प्रस्ट देखिन्छ । कतै परेवाका सुष्म आकृति भेटिन्छन् । यसले कलाकारको उडन्ते मनोदशा महसुस गराउँछ ।

किरणको कलाप्रतिको महत्त्वाकांक्षाको प्रतीक परेवा हुन् भने जथाभावी कोरिएका रेखाहरू उनकै बहकिने मनको संकेत गर्छ । ‘मभित्र कवित्व छ, चित्रमार्फत उतार्छु,’ उनी भन्छन्, ‘कहिलेकाहीं काममा बहुला भइदिन्छु ।’ कर्ममा पागलपन भएन भने कला सौन्दर्यमा रस आउँदैन भन्ने उनलाई लाग्छ । त्यसैले किरण नयाँ पुस्तालाई सुझाव दिँदै भन्छन्, ‘काममा पागल बन । सिर्जना आफैं चम्किन्छ ।’

युवा ग्यालरी

मधु

Link copied successfully