अस्ट्रेलियामा रहेका नेपाली चुनावताका उम्मेदवार बन्ने मात्र नभई नीतिनिर्माण तहमा समेत आफ्नो प्रभाव जमाउादै गएका छन् । नेपाली समुदाय मिलनसार, मिहिनेती तथा अध्ययनशील भनेर चिनिएकाले पनि पछिल्लो समय समुदायमा प्रभाव विस्तार गर्न सहज बनेको हो ।
अस्ट्रेलिया — पश्चिम अस्ट्रेलियाका नेपाली युवा भुवन खड्कालाई अस्ट्रेलियाको तेस्रो ठूलो दल ग्रिन्सले सन् २०१७ मा संसदीय चुनावमा बालमोन्ट क्षेत्रका लागि आफ्नो उम्मेदवार बनाउने निर्णय गर्यो । नेपाली समुदायका कुनै पनि व्यक्तिलाई गरिएको यो पहिलो राजनीतिक आग्रह थियो संसद्मा प्रतिनिधत्व गर्नका लागि । दुर्भाग्यवश उनी उक्त निर्वाचनमा पराजित भए तर त्यसले अस्ट्रेलियामा नेपाली समुदाय पनि राजनीतिक रूपमा अघि आउन तयार छ भन्ने सन्देश दियो ।
त्यसपछि सन् २०१९ मा भएको संघीय संसदीय निर्वाचनमा अर्का युवा प्रमेज श्रेष्ठलाई तत्कालीन सरकारमा रहेको दल लिबरलले न्यु साउथ वेल्सबाट उम्मेदवार बनाउने निर्णय गर्यो । लेबरका तर्फबाट प्रभावशाली नेतृ लिन्डा बर्नीसँग प्रतिस्पर्धामा उत्रिएका प्रमेजले पनि जित हासिल गर्न नसके पनि मतगणनामा कडा चुनौती दिएका थिए ।
त्यसका साथै गतवर्ष सम्पन्न निर्वाचनमा लिबरलका तर्फबाटै नेपाली युवा विनोद पौडेलले न्यु साउथ वेल्सको मकार्थर निर्वाचन क्षेत्रबाट उम्मेदवारी पाए । उनले लेबरका उम्मेदवार माइकल फ्रिल्यान्डरसँग हार व्यहोरेका थिए । पराजित भए पनि उनीहरूको उम्मेदवारीले अस्ट्रेलियाको केन्द्रीय राजनीतिमा नेपाली समुदायको प्रतिनिधित्व सुदृढ बनाइदियो ।
केही साताअघि मात्र सम्पन्न न्यु साउथ वेल्स राज्यको संसदीय निर्वाचनमा त दुई मुख्य पार्टी लेबर र लिबरलबाट नै नेपालीले प्रतिनिधित्व गर्ने अवसर पाए । लिबरलबाट क्याम्पवेल टाउन निर्वाचन क्षेत्रबाट ज्योप्सना पौडेल र केलिभिल निर्वाचन क्षेत्रबाट लेबरका तर्फबाट एलेक्स कार्कीले उम्मेदवारी पाएका थिए । दुवै उम्मेदवारले कडा प्रतिस्पर्धाका बाबजुद जित हासिल भने गर्न सकेनन् ।
उनीहरूले यस निर्वाचनबाट आफ्ना विपक्षीलाई कडा चुनौती मात्र दिएनन् कि नेपाली समुदायका युवाहरूले पनि अस्ट्रेलियाको स्थानीय राजनीतिमा राम्रो प्रभाव पारिरहेका छन भन्ने प्रमाणित गरे । न्यु साउथ वेल्सको मकार्थर क्षेत्रबाट संघीय सांसदको उम्मेदवार बनेका पौडेल र न्यु साउथ वेल्स राज्यको संसदीय निर्वाचनमा क्याम्पवेल टाउन क्षेत्रबाट उम्मेदवार बनेकी ज्योप्सना त दम्पतीसमेत हुन् ।
सबैभन्दा महत्त्वपूर्ण उपलब्धि त गतवर्ष न्यु साउथ वेल्स राज्यमा सम्पन्न स्थानीय काउन्सिल चुनावमा नेपालीमूलकी महिला भद्र वाइबा निर्वाचित भइन् । त्यसलगत्तै केही महिना पहिले दक्षिण अस्ट्रेलियामा सम्पन्न स्थानीय निर्वाचनमा नेपाली महिला रेणुका लामाले समेत काउन्सिलर पदमा निर्वाचित भएर अर्को इतिहास रचिन् । अस्ट्रेलियाको राजनीतिमा निर्वाचन लडेर जित हासिल गर्ने यी दुई पहिलो नेपालीमूलका हुन् ।
अस्ट्रेलियाको राजनीतिमा नेपालीमूलबाट सक्रिय सहभागिता सुरु भएको धेरै भएको छैन । न्यु साउथ वेल्समा रहेर लिबरल पार्टीको राजनीतिमा नजिकबाट लागेका श्री नापितले सन २०१३ मा ‘लिबरल फ्रेन्डस अफ नेपाल’ नामक संस्थामार्फत नेपालीलाई अस्ट्रेलियाको ठूलो पार्टीसँग संस्थागत रूपमा जोड्ने प्रयास थालेका थिए । संस्थामा आबद्ध सदस्यले नेपालबाट अनौपचारिक रूपमा भ्रमणमा आएका नेपाली नेतालाई यहाँका दलका नेतासँग भेटघाटका लागि सहयोग गर्नेसमेत गर्ने गरेको थियो । यस संस्थाले नेपाली समुदायलाई अस्ट्रेलियाली राजनीतिक दलसम्म जोड्न थोरै भए पनि मद्दत मात्र गरेन कि यहाँका ठूला नेताहरूसँग प्रत्यक्ष/अप्रत्यक्ष सम्बन्ध विस्तारका लागि बाटो प्रशस्त गरिदियो । हुन त यहाँ पहिल्यै आएका केही नेपालीको अधिकांश राजनीतिक दलका नेताहरूसँग प्रभावकारी सम्बन्ध नभएको त हैन तर संस्थागत रूपमा जोडिँदा धेरै प्रभावकारी हुने गरेको अनुभव नापितको छ ।
पछिल्लो समयमा नेपाली जनसंख्या बढेसँगै नेपालीले यहाँको केन्द्रीय तथा राज्य राजनीतिमा नेपालीले महत्त्व पाउन थालेको सबै स्विकार्छन् । त्यसका साथै, नेपाली चाडपर्व दसैं, तिहार, नयाँ वर्षजस्ता समयमा विभिन्न राज्यका प्रिमियर, मन्त्रीका साथै केन्द्रीय तहका नेताबाटै शुभकामना आउनुले समेत नेपालीको प्रभाव बढिरहेको प्रस्ट हुन्छ । अस्ट्रेलियामा रहेका नेपाली पत्रकारको संगठन अस्ट्रेलियन नेप्लिज जर्नलिस्ट एसोसिएसन (एन्जा) का अध्यक्ष चिरञ्जीवी देवकोटा पछिल्लो एक दशकमा नेपालीले अस्ट्रेलियामा हरेक क्षेत्रमा सकारात्मक प्रभाव छोड्न सफल भएको बताउँछन् । ‘समग्रमा हेर्ने हो भने लेबर, लिबरलजस्ता केन्द्रीय पार्टीले मात्र नभएर न्यु साउथ वेल्स, भिक्टोरियाजस्ता ठूला राज्यले समेत नेपालीलाई महत्त्वपूर्ण समुदायका रूपमा लिन थालिसकेका छन्,’ देवकोटाको बुझाइ छ ।
सन् २०१२ तिरै सिड्नीका महेन्द्रकुमार लम्साल अस्ट्रेलियाली सरकारलाई सुझाव दिन बनाइएको मन्त्रिस्तरीय सल्लाकार सुझाव समितिका सदस्यका रूपमा चुनिएका थिए । उनी अस्ट्रेलियाली सरकारको उच्चस्तरको निकायमा चयन हुने पहिलो व्यक्ति थिए ।
प्रधानमन्त्रीदेखि मन्त्रीसम्मलाई उनी सम्मिलित समितिले दक्षिण एसियाली क्षेत्रका समुदायसँग सम्बन्धित नीतिनियम निर्माणका लागि सल्लाह तथा सुझाव दिने गरेको थियो । त्यसबाहेक अन्य कुनै पनि नेपाली त्यो स्तरको राजनीतिक नियुक्तिमा फेरि नपुगेको भए पनि उनको त्यो उपस्थितिले नेपाली समुदायलाई राजधानी क्यानबेरासम्म प्रतिनिधिका रूपमा पुर्याएको थियो । नेपालीले पछिल्लो समयमा राम्रो उपस्थिति जनाइरहेको भए पनि संसदीय रूपमा प्रतिनिधित्व गर्न भने केही समय लाग्न सक्ने लम्सालको भनाइ छ ।
केन्द्रीय तथा राज्यस्तरका निर्वाचनमा आफ्नो दरिलो उपस्थिति जनाउनुलाई मात्र अस्ट्रेलियाली राजनीतिमा प्रभावकारी पहुँचका रूपमा लिन नहुने सोचसमेत अधिकांश नेपालीको छ । लिबरल उम्मेदवार बन्नुभन्दा पनि यहाँको उच्च सरकारी निकायमा रहेको राजनीतिक उपस्थितिले प्रभाव पार्ने फ्रेन्डस अफ नेपालका न्यु साउथ वेल्स अध्यक्ष नापितले बताए । ‘हो पक्कै नेपाली अन्य समुदायका तुलनामा प्रभावकारी रूपमा अघि आएको छ, तर उच्च सरकारी राजनीतिक निकायमा उपस्थिति भनेजस्तो हुन सकेको छैन्,’ उनले भने ।
अस्ट्रेलियामा रहेका नेपालीले चुनावताका उम्मेदवारका रूपमा मात्र नभएर राज्यस्तरमा समेत आफ्नो प्रभाव जमाइरहेका छन् । पछिल्लो समयमा नेपालीले आयोजना गर्ने हरेक कार्यक्रममा राजनीतिक नेतृत्वको उपस्थिति सामान्य बनिसकेको छ । अर्कोतिर नेपाली समुदाय मिलनसार, मिहिनेती तथा अध्ययनशील भनेर चिनिने भएकाले समेत समुदायमा प्रभाव विस्तार गर्न सहज बनिरहेको छ ।
