सीजेपी प्रवक्ता सौरभ दास भन्छन् : मन्त्री नड्डाले यी मागहरू उपयुक्त तहमा छलफल गर्ने आश्वासन दिनुभएको छ । तर अहिलेसम्म कुनै ठोस प्रतिबद्धता आएको छैन । माग पूरा नभएसम्म शान्तिपूर्ण आन्दोलनकारीहरू पछि हट्ने छैनन् ।
What you should know
काठमाडौँ — झन्डै एक महिनादेखि भारतीय राजधानी दिल्लीमा धर्नारत युवाहरूको मागबारे केन्द्र सरकारले सोमबार पहिलोपल्ट औपचारिक रूपमा प्रतिक्रिया दिएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याणमन्त्री जेपी नड्डाले कक्रोच जनता पार्टी(सीजेपी) का प्रतिनिधिसँग सौहार्दपूर्ण वार्ता भएको जानकारी दिएका हुन् ।
सीजेपीका प्रवक्ताद्वय सौरभ दास र आशुतोष रांकासँगको भेटवार्ताको तस्बिर सार्वजनिक गर्दै मन्त्री नड्डाले सामाजिक सञ्जालमा लेखेका छन्, 'आज बिहान पहिलोपल्ट प्रदर्शनकारीका तर्फबाट सरकारसँग वार्ताको प्रस्ताव आयो । बिहान ११:५० देखि हाम्रो कुराकानी जारी छ । सौहार्दपूर्ण वातावरणमा भेट भयो । डेलिगेसनसँग पहिले विस्तारपूर्वक मौखिक छलफल भयो त्यसपछि उहाँहरूले मलाई ४ बजे लिखित मागपत्र दिनुभयो ।' मन्त्री नड्डाले प्रदर्शन अन्त्य गर्न र सामान्य अवस्था बनाउन प्रशासनलाई सहयोग गर्न अनुरोध गरेको पनि बताएका छन् ।
सीजेपी प्रवक्ता दासले भने आफू र रांका १२ बजेदेखि नड्डा निवासमा रहेको जानकारी दिँदै भनेका छन्, 'धर्मेन्द्र प्रधानको तत्काल राजीनामा वा बर्खास्तीको मागसहित आन्दोलनकारीहरूको माग उहाँसमक्ष राखिएको छ । मन्त्रीले यी मागहरू उपयुक्त तहमा छलफल गर्ने आश्वासन दिनुभएको छ । तर अहिलेसम्म कुनै ठोस प्रतिबद्धता आएको छैन । माग पूरा नभएसम्म शान्तिपूर्ण आन्दोलनकारीहरू पछि हट्ने छैनन् ।'
यसअघि उनले मन्त्री नड्डासमक्ष राखेको मागबारे पनि जानकारी दिएका थिए । उनीहरूले उठाएका महत्त्वपूर्ण मागहरू हुन्, तत्काल सोनम वाङ्चुकको रिहाइ, शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र आत्महत्या गरेका सबै नीट परीक्षार्थीका परिवारलाई १ करोड रुपैयाँ क्षतिपूर्ति ।
