कक्रोच जनता पार्टीले भन्यो : अभिजित दिपकेलाई प्रहरीले उठायो

सीजेपीका प्रवक्ता सौरभ दास भन्छन् : २ घण्टाभन्दा बढी कुरेर हामीले जेपी नड्डाजीलाई उहाँकै निवासमा १० मिनेट भेट्यौँ । हामीले हाम्रो मागसहितको लिखित पत्र दिएका छौँ । उहाँले आन्तरिक रूपमा कुरा गर्ने बताउनु भएको छ ।

श्रावण ४, २०८३

कान्तिपुर संवाददाता

Cockroach Janata Party said: Abhijit Deepke was picked up by the police.

What you should know

काठमाडौँ — कक्रोच जनता पार्टी(सीजेपी) का प्रवक्ता सौरभ दासले संस्थापक अभिजित दिपकेलाई दिल्ली प्रहरीले सडकबाटै उठाएको बताएका छन् । प्रवक्ता दासले केही बेरअघि सीजेपीका संस्थापक दिपकेलाई प्रहरीले उठाएको जानकारी दिएका हुन् ।  

दासले एक्समा लेखेका छन्, 'प्रहरीले दिपकेलाई उठाएको छ । हामी सबै सांसदहरूलाई विद्यार्थीको समर्थनमा सडकमा आउन आग्रह गर्छौँ । शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले बर्बरतापूर्ण कुटपिट गरेको छ ।'

साथै झन्डै दुई घण्टा कुरेर केन्द्रीय स्वास्थ्यमन्त्री जेपी नड्डालाई लिखित रूपमा मागपत्र बुझाएको पनि दासले जानकारी दिएका छन् । यसअघि दास र अर्का प्रवक्ता आशुतोष रांका जेपी नड्डालाई भेट्न गएको खबर सार्वजनिक भएको थियो । दासले नड्डासँगको भेटबारे जानकारी दिँदै भनेका छन्,'२ घण्टाभन्दा बढी कुरेर हामीले जेपी नड्डाजीलाई उहाँकै निवासमा १० मिनेट भेट्यौँ । हामीले हाम्रो मागसहितको लिखित पत्र दिएका छौँ । उहाँले आन्तरिक रूपमा कुरा गर्ने बताउनु भएको छ ।'

सोमबार समाजवादी पार्टीका सांसदहरूलाई पनि गिरफ्तार गरिएको छ । सीजेपीको आह्वानमा नयाँदिल्लीमा सोमबार 'चलो संसद्' मार्चमा सुरक्षाकर्मीले धरपकड गरेका छन् । जन्तर-मन्तरमा ठूलो संख्यामा भेला भएकाहरू संसद् भवन जान लाग्दा सुरक्षाकर्मीले बीचमै रोक्ने प्रयास गरेका छन् ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार मार्चमा सहभागीहरूलाई तितरबितर बनाउन प्रहरीले लाठीचार्जसमेत गरेको छ । दिल्ली प्रहरीले मार्चका लागि अनुमति दिन नसकिने बताउँदै आएको छ । सोमबारदेखि नै संसद्को मनसुन सत्र सुरु भएकाले पनि प्रदर्शनकारी संसद् भवन पुगेर आफ्ना माग राख्न चाहेका छन् । 

कान्तिपुर

Link copied successfully