केन्द्रीय मन्त्री जेपी नड्डासँग कुराकानी गर्न गए प्रवक्ता सौरभ दास र आशुतोष रांका
What you should know
काठमाडौँ — कक्रोच जनता पार्टी(सीजेपी) का संस्थापक अभिजित दिपकेले आमरण अनशन तोडेका छन् । सोमबार उनले भोकहडताल अन्त्य गरेका हुन् । शनिबार शिक्षाविद्, वातावरण अभियन्ता तथा नवप्रवर्तक सोनम वाङ्चुकलाई जन्तर-मन्तरस्थित अनशनस्थलबाट प्रहरीले उठाएर अस्पताल लगेपछि दिपकेले आमरण अनशन सुरु गरेका थिए ।
सीजेपीले एक्समा दिएको जानकारीअनुसार मेडिकल उच्च शिक्षाका लागि लिइने राष्ट्रिय प्रवेश परीक्षा (नीट) विद्यार्थीका बुवाको आग्रहमा दिपकेले अनशन तोडेका हुन् । यसअघि अभिजितका बुवा भगवान दिपकेले पनि छोराको स्वास्थ्यप्रति आफू चिन्तित रहेको बताएका थिए । यसअघि जुन २८ देखि केन्द्रीय शिक्षामन्त्री प्रधानको राजीनामा तथा परीक्षा र शिक्षा प्रणालीमा सुधारको माग गर्दै वाङ्चुकसँगै अनिश्चितकालीन भोक हडतालमा बसेका आइसाका तीन विद्यार्थीले पनि अनशन तोडेका छन् ।
यसैबीच सीजेपीका प्रवक्ता सौरभ दासले आफू र आशुतोष रांका केन्द्रीय स्वास्थ्यमन्त्री जेपी नड्डासँग कुराकानीका लागि हिँडेको जानकारी दिएका थिए । १२ बजेतिर प्रवक्ता दासले एक्समा यसबारे जानकारी दिए पनि वार्ताको अपडेट भने आएको छैन ।
सीजेपीको आह्वानमा नयाँदिल्लीमा सोमबार 'चलो संसद्' मार्चमा सुरक्षाकर्मीले धरपकड गरेका छन् । जन्तर-मन्तरमा ठूलो संख्यामा भेला भएकाहरू संसद् भवन जान लाग्दा सुरक्षाकर्मीले बीचमै रोक्ने प्रयास गरेका छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार मार्चमा सहभागीहरूलाई तितरबितर बनाउन प्रहरीले लाठीचार्जसमेत गरेको छ । दिल्ली प्रहरीले मार्चका लागि अनुमति दिन नसकिने बताउँदै आएको छ । सोमबारदेखि नै संसद्को मनसुन सत्र सुरु भएकाले पनि प्रदर्शनकारी संसद् भवन पुगेर आफ्ना माग राख्न चाहेका छन् ।
मार्चमा विभिन्न विपक्षी दलका नेताहरूसमेत पुगेका छन् । आजाद समाजवादी पार्टी(काशीराम) का प्रमुख चन्द्रशेखर आजाद, तृणामूल कांग्रेस सांसद महुवा मोइत्रालगायतका नेताहरू पनि मार्चमा सहभागी छन् । त्यस्तै दिल्लीकी पूर्वमुख्यमन्त्रीसमेत रहेकी आम आदमी पार्टीका नेताहरू आतिशी, मनीष सिसोलिया, सञ्जय सिंहलगायतका नेताहरू पनि मार्चमा सहभागी छन् ।
विद्यार्थीहरूको आन्दोलनलाई प्रकाश राज, सबाना आजमी, विशाल ददलानी, सोनाक्षी सिन्हा, स्वरा भाष्करलगायतका कलाकारले पनि समर्थन जनाएका छन् । दिल्ली प्रहरीले सीजेपीको मार्चमा करिब ८ हजार सहभागी रहेको दाबी गरेको छ ।
