अनशनरत भारतीय अभियन्ता सोनम वाङ्चुकलाई इच्छाविपरीत अस्पताल लगियो

नयाँ दिल्लीमा आमरण अनशनरत सामाजिक अभियन्ता सोनम वाङ्चुकलाई अनशनको २१औँ दिन शनिबार उनको इच्छाविपरीत अस्पताल लगिएको हो ।

श्रावण २, २०८३

रोयटर्स

Fasting Indian activist Sonam Wangchuk taken to hospital against her will

What you should know

नयाँ दिल्ली — भारतको राजधानी नयाँ दिल्लीमा सामाजिक अभियन्ता सोनम वाङ्चुकलाई शनिबार उनको इच्छाविपरीत अस्पताल लगिएको छ।

केन्द्र सरकार शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै सुरु गरेको आमरण अनशनको २१औँ दिनमा उनको स्वास्थ्य अवस्था बिग्रिएको भन्दै अधिकारीहरूले उनलाई अस्पताल सारेका हुन्।

५९ वर्षीय वाङ्चुकले मे महिनामा भएको नीट (यूजी) २०२६ सहित विभिन्‍न परीक्षामा भएको प्रश्नपत्र चुहावट प्रकरणका कारण लाखौं विद्यार्थी प्रभावित भएको भन्दै शिक्षामन्त्री प्रधानको राजीनामा माग गरिरहेको कक्रोच जनता पार्टी (सीजेपी)सँग ऐक्यबद्धता जनाउँदै जुन २८ देखि अनशन थालेका थिए

वाङ्चुकको अभियान प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारविरुद्ध सार्वजनिक रूपमा उठेको दुर्लभ चुनौतीका रूपमा देखिएको छ। यसले भारतभर समर्थन पाएको छ भने सामाजिक सञ्जालमार्फत विश्वभरको ध्यान खिचेको छ।

शनिबारको टेलिभिजन दृश्यमा जन्तरमन्तरस्थित प्रदर्शनस्थलमा बनाइएको मञ्चमा केही सादा पोसाकमा समेत रहेका सुरक्षाकर्मीले ठूलो सेतो कपडाले पर्दा बनाएर उभिएका देखिएका थिए । त्यसपछि उनीहरुले वाङ्चुकलाई त्यहाँबाट लगेका थिए।

वाङ्चुकले शुक्रबार सरकारी चिकित्सकहरूलाई आफू अस्पताल जान नचाहेको बताएका थिए। अस्पताल प्रशासनका अनुसार शनिबार पनि उनले उपचार लिन अस्वीकार गरेका छन्।

दिल्ली प्रहरीका उपआयुक्त सचिन शर्माले अदालतको आदेश, स्वास्थ्य अवस्था र चिकित्सकीय सल्लाहका आधारमा वाङ्चुकलाई आवश्यक उपचारका लागि सरकारी अस्पताल लगिएको बताए।

सरकारी सफदरजंग अस्पतालले जारी गरेको विज्ञप्तिमा लामो अनशन र शरीरमा पानीको कमी (डिहाइड्रेसन) का कारण वाङ्चुक निकै कमजोर भएको उल्लेख छ।

अस्पतालका अनुसार चिकित्सकहरूले नसाबाट तरल पदार्थ (आईभी फ्लुइड) दिन सिफारिस गरे पनि उनले आईभी फ्लुइड, मुखबाट दिइने पुनर्जलीकरण घोल (ओआरएस) वा अन्य कुनै औषधि लिन अस्वीकार गरेका छन्। यद्यपि उनको स्वास्थ्य अवस्था निरन्तर निगरानीमा राखिएको र उपचार स्वीकार गर्न परामर्श दिइरहेको अस्पतालले जनाएको छ।

वाङ्चुकका निजी चिकित्सक सतिश लाम्बाले अस्पतालका चिकित्सकबाट प्राप्त जानकारी उद्धृत गर्दै अहिले सबैभन्दा ठूलो चिन्ता हाइपोकालेमिया (रगतमा पोटासियमको मात्रा अत्यधिक कम हुनु) भएको बताए।

हाइपोकालेमिया गम्भीर अवस्थामा पुगे वा अचानक पोटासियमको मात्रा घटे ज्यानै जोखिममा पर्न सक्छ। अस्पतालमा नसाबाट पोटासियम दिई यसको उपचार गर्न सकिन्छ।

अदालतले वाङ्चुको स्वास्थ्य निगरानी गर्न भनेको थियो

वाङ्चुकको स्वास्थ्य बिग्रँदै गएपछि जबर्जस्ती खाना खुवाउन माग गर्दै दायर निवेदनमाथि सुनुवाइ गर्दै दिल्ली उच्च अदालतले बिहीबार उनको स्वास्थ्य अवस्थामाथि नजिकबाट निगरानी गर्न र आवश्यक परे हस्तक्षेप गर्न अधिकारीहरूलाई निर्देशन दिएको थियो।

प्रहरीले प्रदर्शनस्थलमा धर्ना दिइरहेका सीजेपी समर्थकहरूलाई पनि त्यहाँबाट हटाएको थियो। तर, वाङ्चुकलाई अस्पताल लगिएपछि सीजेपीका संस्थापक अभिजित दिप्केले अनिश्चितकालीन अनशन सुरु गरेसँगै समर्थकहरु फेरि प्रदर्शनस्थलमा फर्किएका थिए।

सीजेपीका प्रदर्शनकारीहरूले जुलाई २० मा संसद्को मनसुन अधिवेशन सुरु हुने दिन संसद् भवनसम्म मार्च गर्दै शिक्षामन्त्री प्रधानको राजीनामा र परीक्षा प्रणालीमा सुधारको माग दोहोर्‍याउने बताएका छन्।

यसअघि पनि अनशन गरेका थिए वाङ्चुकले

सीजेपीको आन्दोलनमा वाङ्चुक मञ्चको बीचमा ओछ्यानमा सुतेर अनशन गरिरहेका थिए भने समर्थक र सर्वसाधारण प्रदर्शनस्थलमा आउने–जाने गरिरहेका थिए।

गत वर्ष मोदी सरकारले वाङ्चुकमाथि आफू जन्मिएको लद्दाखमा भएको हिंसात्मक प्रदर्शनका क्रममा उत्तेजक अभिव्यक्ति दिएर मानिसलाई उक्साएको आरोप लगाएको थियो।

त्यतिबेला पनि अनशन बसेका वाङ्चुक करिब छ महिना जेलमा बसेपछि यस वर्ष मार्चमा रिहा भएका थिए। उनले आफूविरुद्धका आरोप अस्वीकार गर्दै हिंसात्मक प्रदर्शन संघीय सरकारप्रतिको जनअसन्तुष्टिको परिणाम भएको बताएका छन्।

अनशनको तेस्रो दिन कुरा गर्दै वाङ्चुकले आफू मर्नुअघि माग पूरा नभएसम्म करिब छ सातासम्म अनशन जारी रहने बताएका थिए।

उनले भनेका थिए, ‘तर आशा छ, त्यति टाढा जानुपर्ने छैन। लोकतन्त्रमा संवेदनशील सरकारले जनताको पीडा सुन्छ, र सरकारले आवश्यक कदम चाल्नेछ भन्ने आशा गरेको छु।’

यस अनशनले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ। इन्स्टाग्राममा मात्रै एक लाखभन्दा बढी रिल्स पोस्ट गर्दै प्रयोगकर्ताहरूले वाङ्चुकलाई अनशन अन्त्य गर्न आग्रह गरेका छन्।

रोयटर्स

Link copied successfully