१८ दिनदेखि वाङ्चुक आमरण अनसनमा, स्वास्थ्य अवस्था बिग्रिदै

अनसन सुरु भएदेखि वाङ्चुकको तौल ८.४ किलोग्रामभन्दा बढी घटिसकेको छ

असार ३१, २०८३

गोविन्द देवकोटा

Wangchuk has been on a hunger strike for 18 days, his health condition is deteriorating.

काठमाडौं — भारतका शिक्षाविद् तथा पर्यावरण अभियन्ता सोनम वाङ्चुक नयाँ दिल्लीस्थित जन्तर–मन्तरमा १८ दिनदेखि आमरण अनुसनरत छन् । उनी र ककरोच जनता पार्टी (सिजेपी) ले नीट (यूजी) २०२६ सहित विभिन्‍न परीक्षामा भएको अनियमितताको जिम्मेवारी लिँदै केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानलाई राजीनामा गर्न दबाब दिइरहेका छन् । 

सिजेपीको जन्तर–मन्तरस्थित आन्दोलन बुधबार २६ औं दिनमा प्रवेश गरेको छ। वाङ्चुक जुन २८ मा आन्दोलनमा सहभागी भएका थिए र त्यसै दिनदेखि आन्दोलनलाई समर्थन गर्दै आमरण अनसन सुरु गरेका हुन् ।

सिजेपीका संस्थापक अभिजीत दिपकेले अनसन सुरु भएयता वाङ्चुकको स्वास्थ्यबारे दैनिक जानकारी सार्वजनिक गर्दै आएका छन्। मंगलबार सार्वजनिक गरिएको अद्यावधिक विवरणमा दिपकेले वाङ्चुकको मांसपेशी क्षय हुन थालेको, उनी तीव्र पीडामा रहेको बताएका छन् । तर, अनसन अन्त्य गर्न अस्वीकार गरिरहेको दिपकेले बताए । 

उनका अनुसार अनसन सुरु भएदेखि वाङ्चुकको तौल ८.४ किलोग्रामभन्दा बढी घटिसकेको छ। साथै, उनको रक्तचाप पनि घट्दै गएको छ र मंगलबारसम्म १०९/७० मा झरेको छ। सामाजिक सञ्जाल एक्समा दिपकेले लेखेका छन्, ‘उनको मांसपेशी क्षय हुन थालेको छ र उनी अत्यधिक पीडामा छन्। मैले पनि अरूले जस्तै अनसन तोड्न आग्रह गरेँ। उनले शान्त स्वरमा भने, “मलाई अनशन अन्त्य गर्न नभन्नुस्। सरकार किन संवाद गर्न तयार छैन भनेर सोध्नुस् ।'

सिजेपीले शिक्षा मन्त्री प्रधानको राजीनामासँगै परीक्षा अनियमिततासँग सम्बन्धित घटनाका कारण आत्महत्या गरेका विद्यार्थीका परिवारलाई १ करोड भारतीय रुपैयाँ क्षतिपूर्ति दिन माग गरेको छ ।

सरकारमाथि थप दबाब सिर्जना गर्न सिजेपीले संसदको मनसुन अधिवेशन सुरु हुने जुलाई २० मा ‘चलो संसद्’ मार्च आयोजना गर्ने घोषणा गरेको छ। साथै, समर्थकहरूलाई ‘मिस्ड कल’ अभियानमार्फत सहभागिता दर्ता गर्न पनि आह्वान गरेको छ ।

लगातार स्वास्थ्य स्थिति बिग्रँदै गएपछि विभिन्न दलका नेता र बलिवड स्टारहरुले अनसन अन्त्य गर्न अनुरोध गरेका छन् । शिवसेना (यूबीटी) का प्रमुख उद्धव ठाकरेले सोमबार सिजेपी र वाङ्चुकको आन्दोलनप्रति पूर्ण समर्थन जनाउँदै राजनीतिक दलहरूले दलगत स्वार्थभन्दा माथि उठेर आन्दोलनलाई साथ दिनुपर्ने बताएका छन् ।

‘आज म सिजेपीका संस्थापक अभिजीत दिपके र सोनम वाङ्चुकको आन्दोलनलाई पूर्ण समर्थन गर्ने घोषणा गर्छु,’ ठाकरेले भने । 

समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले पनि मंगलबार वाङ्चुकसँग टेलिफोनमा कुराकानी गर्दै उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। उनले वाङ्चुकको सत्याग्रहप्रति आफ्नो पार्टीको ‘खुला समर्थन’ जनाउँदै स्वास्थ्यलाई ध्यानमा राखेर केही दिनका लागि अनसन स्थगित गर्न आग्रह गरेका छन् ।

त्यस्तै, अभिनेत्री आलिया भट्टकी आमा सोनी राजदानले पनि इन्स्टाग्राममार्फत वाङ्चुकलाई अनसन अन्त्य गर्न अपिल गरेकी छन् ।

उनले लेखेकी छन्, ‘प्रिय सोनम वाङ्चुक, तपाईंको स्वास्थ्यका लागि हामी सबै प्रार्थना गरिरहेका छौं । कृपया हामीलाई यसरी नछोड्नुहोस्। अर्को दिन पनि लड्नका लागि जीवित रहनुहोस्। कृपया आजै अनसन अन्त्य गर्नुहोस् ।’

विद्यार्थी कार्यकर्ताहरू पनि अनसनमा

यो आन्दोलनमा वाङ्चुक मात्रै होइन, सिजेपीको नेतृत्वमा भइरहेको आन्दोलनमा सहभागी विद्यार्थी कार्यकर्ताहरू पनि वाङ्चुकसँगै आमरण अनसनमा छन्। तीमध्ये चार जना अल इन्डिया स्टुडेन्ट्स एसोसिएसन (एआईएसए) का सदस्य हुन् । 

उनीहरूमध्ये दीपक नामका एक विद्यार्थीलाई सोमबार अत्यधिक रगत वा शरीरमा तरल पदार्थको कमीका कारण हुने हाइपोभोलेमिक शोक भएपछि अस्पताल भर्ना गरिएको थियो ।

उनको उपचार नयाँ दिल्लीस्थित राम मनोहर लोहिया अस्पतालमा गरिएको थियो । स्वास्थ्यमा सुधार भएपछि मंगलबार उनलाई डिस्चार्ज गरिएको छ । 

गोविन्द

Link copied successfully