कतारको रास लफान ग्यास प्लान्ट विष्फोट : १३ को मृत्यु, ६६ जना घाइते

विष्फोटमा पर्नेहरू भारतीय र पाकिस्तानी श्रमिक रहेको जनाइएको छ । उक्त घटनामा ६६ जना श्रमिक घाइते भएका छन् ।

असार ८, २०८३

होम कार्की

Qatar's Ras Laffan gas plant explosion: 13 dead, 66 injured

What you should know

काठमाडौँ — कतार इनर्जीले रास लफान औद्योगिक क्षेत्रस्थित बार्जान ग्यास आपूर्ति केन्द्रमा भएको विष्फोटमा १३ जनाको मृत्यु भएको छ । जसमा भारतीय र पाकिस्तानी श्रमिक रहेको जनाएको छ । उक्त घटनामा ६६ जना श्रमिक घाइते भएका छन् । केहीको अवस्था चिन्ताजनक रहेको जनाएको छ । उनीहरूको पहिचान सार्वजनिक गरिएको छैन । 

कतार इनर्जीले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइएको हो । ऊर्जा मामिलाका राज्यमन्त्री समेत रहेका कतार इनर्जीका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृतसाद शेरिदा अल–काबीको नेतृत्वमा भएको पत्रकार सम्मेलनमा रास लफान औद्योगिक सहरस्थित बारजान ग्यास आपूर्ति परियोजना सञ्चालन गर्ने क्रममा दुर्घटना भएको जनाइएको छ । उक्त प्लान्टको मर्मतसम्भारको लागि भन्दै गत डिसेम्बरदेखि बन्द गरिएको र २ दिनअघि मात्रै पुनः सञ्चालनमा ल्याइएको थियो ।

केन्द्रमा आइतबार राति करिब १०:३० बजेतिर विष्फोट हुँदा आगोलागी भएको थियो । रास लफान क्षेत्रमा नेपाली, भारतीय र बंगलादेशी श्रमिक काम गर्दै आइरहेका छन् । घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।

कतार आन्तरिक मन्त्रालयका अनुसार आन्तरिक सुरक्षा बल(लेखिया) र  अन्तर्राष्ट्रिय खोजी तथा उद्धार समूहले बेपत्ता भएकाहरूको खोजी गरिरहेको जनाएको छ । कतारको ऊर्जा क्षेत्रको प्रमुख कम्पनी कतार एनर्जीले प्राविधिक त्रुटिका कारण दुर्घटना भएको पुष्टि गरेको छ। आपतकालीन टोलीले तुरुन्तै आगो नियन्त्रणमा लिएको र अहिले अवस्था पूर्णतया नियन्त्रणमा रहेको कम्पनीले जनाएको छ ।

रस लफान राजधानी दोहाबाट करिब ८० किलोमिटर टाढा पर्छ ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully