कतारको रास लफान ग्यास प्लान्टमा विस्फोट हुँदा १८ जना श्रमिक बेपत्ता, ५४ घाइते

आन्तरिक मन्त्रालयद्वारा खोजी अभियान जारी, आगो नियन्त्रणमा

असार ८, २०८३

होम कार्की

18 workers missing, 54 injured in explosion at Qatar's Ras Laffan gas plant

काठमाडौँ — कतारको रास लफान औद्योगिक क्षेत्रस्थित बार्जान ग्यास आपूर्ति केन्द्रमा भएको विस्फोटमा १८ जना बेपत्ता भएको आन्तरिक मन्त्रालयले पुष्टि गरेको छ । सो घटनामा ५४ जना घाइते भएका छन् । रास लफान क्षेत्रमा नेपाली, भारतीय र बंगलादेशी श्रमिक काम गर्दै आइरहेका छन् ।

कतारको आन्तरिक मन्त्रालयले सोमबार बिहान ४ बजे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै बेपत्ता १८ जनाको खोजीका लागि विशेष अभियान सञ्चालन गरिएको जनाएको छ । आन्तरिक सुरक्षा बल (लेखिया) को अन्तर्राष्ट्रिय खोजी तथा उद्धार समूह र नागरिक सुरक्षाको संयुक्त टोलीले खोजी कार्यलाई तीव्रता दिएको छ ।

कतारले बेपत्ता र घाइते भएका श्रमिकको पहिचान सार्वजनिक गरिसकेको छैन ।मन्त्रालयले घटनापछि कुनै ‘सुरक्षा–संवेदनशील चुहावट’ नभएको स्पष्ट पारेको छ ।

कतारको ऊर्जा क्षेत्रको प्रमुख कम्पनी कतार एनर्जीले यो घटना ‘सुरुवाती सञ्चालनका क्रममा भएको प्राविधिक दुर्घटना’ रहेको पुष्टि गरेको छ । आपत्कालीन टोलीले तुरुन्तै आगो नियन्त्रणमा लिएको र अहिले अवस्था पूर्ण रूपमा नियन्त्रणमा रहेको कम्पनीले जनाएको छ ।

रास लफान क्षेत्रमा कार्यरत एक नेपाली श्रमिकले आइतबार साँझ ठूलो विस्फोट भएको बताए । यो आवाज राजधानी दोहासम्म सुनिएको थियो । ‘हामी नजिक थिएनौं । टाढाबाटै ठूलो आगोको ज्वाला फैलिएको देखिएको थियो,’ ती नेपालीले कान्तिपुरलाई भने, ‘ज्वालामुखी विस्फोट भएजस्तो देखिन्थ्यो ।’

रास लफान कतारको मुख्य एलएनजी (तरलीकृत प्राकृतिक ग्यास) प्रशोधन केन्द्र हो । यो क्षेत्रमा नेपाली श्रमिकहरू स्काफफोल्डिङको काम गर्छन् । सयौं सप्लाई कम्पनीमार्फत श्रमिक आपूर्ति गरिएको छ ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully