जेनेभामा तेस्रो चरणको वार्तामा बस्दै अमेरिका र इरान

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई परमाणु हतियार निर्माण गर्न नदिने बताएका छन्।

फाल्गुन १४, २०८२

कान्तिपुर संवाददाता

US and Iran hold third round of talks in Geneva

काठमाडौँ — अमेरिका र इरानबीच आज तेस्रो चरणको कूटनीतिक वार्ता स्वीट्जरल्यान्डको जेनेभामा हुने भएको छ। 

वार्ताका लागि इरानका विदेशमन्त्री अब्बास अराघची बुधबार नै तेहरानबाट जेनेभाका पुगि सकेका छन्। त्यहाँ उनले ओमानका समकक्षी बद्र अलबुसैदीसँग भेटघाट गरेका छन्। 

ओमानका विदेशमन्त्रीले नै आज दुई देशबीच हुने को वार्ताका लागि मध्यस्थता गर्दै छन्। इरानको आणविक कार्यक्रमबारे सहमति जुटाउने उद्देश्यका साथ यसअघि ओमानको मध्यस्थतामा मस्कटमा दोस्रो चरणको वार्ता गरिसकेका छन्।

अमेरिकाले इरानले युरेनियम प्रशोधन शून्यमा झार्न पटक–पटक आह्वान गर्दै आएको छ, यसका साथै, इरानको ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमलाई सम्बोधन गर्न र उक्त क्षेत्रमा रहेका लडाकू समूहलाई समर्थन गर्न पनि माग गर्दै आएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई परमाणु हतियार निर्माण गर्न नदिने बताएका छन्। 

इरानले बारम्बार आणविक हतियार आफ्नो रोजाइ नभएको बताउँदै आएको छ तर शान्तिपूर्ण उद्देश्यका लागि आणविक प्रविधि प्रयोग गर्ने अधिकार आफूसँग रहेको पनि बताउँदै आएको छ।

सम्झौताका लागि इरानमाथि दबाब दिँदै आएका अमेरिकी राष्ट्रपति ट्रम्पले मध्यपूर्वमा एरक्राप्ट क्यारियर पनि परिचालन गरेका छन्। 

जवाफमा इरानले देशको दक्षिणी क्षेत्र र खाडीमा रणनीतिक रूपमा महत्वपूर्ण ‘स्ट्रेट अफ हर्मुज’ नजिकै धेरै चरणको सैन्य अभ्यास गरेको छ।

कान्तिपुर

Link copied successfully