२०२५ मा एशिया, अफ्रिका, अमेरिका र युरोप समेतगरी झन्डै २५ वटा देशमा जेनजी पुस्ताका युवाले सडक तताए । भ्रस्टाचारमुक्त समाज, सुशासन, नातावाद अन्त्यलगायतका माग यी पुस्ताले विश्व्यापी रुपमा उठाएका थिए । नेपाल, मादागास्कर, मंगोलिया, पेरु, बुल्गेरिया र टिमोरलेस्टेमा यसले सरकार नै ढालिदियो ।
What you should know
काठमाडौँ — सन् २०२५ मा डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपतिको सपथ लिए । आप्रवासीमाथिको कडाई, व्यापार युद्ध तथा विवादास्पद अभिव्यक्तीहरुले ट्रम्पको पहिलो कार्यकाललाई परिभाषित गरेको थियो ।
यतिमात्रै होइन, आफ्नै सरकारले गराएको सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा पराजित भएपछि उनले निर्वाचन परिणामलाई धाँधली भने ।
बाइडेनको कार्यकाल सुरु भएलगत्तै रुस–युक्रेन युद्धले वैश्विक अर्थतन्त्र र भूराजनीतिलाई तरंगित गरिरह्यो । विपक्षमा छँदा ट्रम्पको दाबी थियो,'म राष्ट्रपति निर्वाचित भएको भए रुसले युक्रेनमाथि आक्रमण गर्नुपर्ने अवस्था नै आउने थिएन ।'
गत चुनावअघि उनको वाचा थियो, ‘कार्यकाल राष्ट्रपति निर्वाचित भएको २४ घण्टाभित्रै यो युद्ध समाप्त गरिदिनेछु ।’
राष्ट्रपतिको दोस्रो कार्यकालमा ट्रम्पको पहिलो वर्ष आगामी २० जनवरीमा समाप्त हुनेछ । र, रुस–युक्रेन शान्ति वार्ता सहजै समाप्त गर्न कठिन हुने स्विकारोक्ती उनले भर्खरै गरेका छन् ।
आइतबार फ्लोरिडाको मियामीस्थित आफ्नै रिसोर्टमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेटेपछि ट्रम्पले भने, ‘यो एकै दिनमा सकिने वार्ता होइन । तर मलाई लाग्छ, शान्ति कायम गर्नका लागि अहिले जत्तिको अनुकुल समय सायदै मिल्नेछ ।’
ट्रम्प–जेलेन्स्की झगडा
फेब्रुअरी १४ मा म्युनिख सुरक्षा सम्मेलनमा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पश्चिमी गठबन्धनमै पहिरो आउनेगरी विवादास्पद भाषण दिए । उनले बेलायत र जर्मनीजस्ता देशहरूमा लोकतान्त्र विरोधी प्रवृत्तिहरू हाबी रहेको आरोप लगाए ।
युरोपमा रूसी आक्रमणभन्दा ती प्रवृत्ति बढी घातक रहेको उनको दाबी थियो । यसको दुई साताभित्रै उपराष्ट्रपति भान्स र राष्ट्रपति ट्रम्पले ओभल अफिसमा युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई सार्वजनिक गाली दिए ।
ट्रम्पले ‘तेस्रो विश्वयुद्धसँग जुवा खेलेको’ आरोप जेलेन्स्कीलाई लगाए । टेलिभिजनबाट प्रत्यक्ष प्रशारण भइरहेको यो छलफलमा जेलेन्स्कीमाथि भान्स र ट्रम्प खनिएको देख्दा मानिसहरुलाई अमेरिकाले तत्कालै युक्रेनको साथ छाड्लाजस्तो लागेको थियो ।
यो तिक्तताका बाबजुद केही समयको अन्तरालमा अमेरिका र जेलेन्स्की बीचको सम्बन्ध सुधार गर्न युरोपेली नेताहरु सफल भए । तर, युक्रेनलाई अमेरिकाबाट प्राप्त भइरहेको आर्थिक र सैन्य सहयोग ट्रम्प प्रशासनले अन्त्य गरिदियो ।
जसकारण, विगत चार वर्षदेखि चलिरहेको युद्धमा पछिल्ला एक वर्ष रुसी सेना निकै हाबी भयो । रुसले डोन्बास क्षेत्रअन्तर्गत डोनेटस्कमा ९९ प्रतिशत र लुहान्स्क ओब्लास्टमा ७५ प्रतिशत हाराहारीमा भूभाग कब्जा गरिसकेको छ ।
यसका बाबजुद राष्ट्रपति ट्रम्पले युक्रेन र रूसबीच शान्ति वार्ता गराउने प्रयासलाई निरन्तरता दिएका छन् । त्यसका लागि गत अगस्टमा उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई अलास्कामै बोलाएर छलफल गरेका थिए । युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँगको भेटलाई पनि ट्रम्पले निरन्तरता दिइरहेका छन् । युद्धले अहिलेसम्म ठूलो संख्यामा मानिसहरूको ज्यान लिइसकेको छ । त्यस्तै, दशौं लाख बिस्थापित भएका छन् ।
भन्सार शुल्क वृद्धि
अप्रिल २ मा ट्रम्पले विश्वका धेरै देशहरुमाथि भन्सार शुल्क बढाउने घोषणा गरे । विश्वव्यापी व्यापार प्रणालीमा यसको असर निकै गहिरो देखियो ।
अमेरिकाको लक्ष्य चीनको बढ्दो व्यापारीक प्रभावलाई कम गर्नु थियो, तर त्यसका लागि उसले आफ्ना मित्र देशहरुमाथि पनि भन्सार शुल्क थोपर्ने काम गर्यो । जसकारण, अन्य देशहरु उल्टै चीनसँग मिल्नुपर्ने अवस्थामा पुगे । त्यसपछि हच्किएका ट्रम्पले कतिपय देशका हकमा क्रमश : शुल्क घटाउँदै लगे ।
भारत–पाकिस्तान युद्ध
मे महिनामा भारत र पाकिस्तानबीच भएको चार दिने द्वन्द्व सीमाको. सामान्य झडपमात्रै थिएन । दुवै देशले एकअर्काको भूभागमा शक्तिशाली आक्रमण गरे ।
अन्त्यमा भारतले पाकिस्तानमाथिको आक्रमण बन्द गर्यो । यसको जस लिने ट्रम्पको प्रयासलाई पाकिस्तानले समर्थन गर्यो । उसले ट्रम्प नोबेल शान्ति पुरस्कारको हकदार रहेको समेत बतायो र कालान्तरमा उनलाई यस पुरस्कारका लागि सिफारिस पनि गरिदियो, जो ट्रम्पलाई प्राप्त भएन । तर, भारतले पाकिस्तानसँगको सम्बन्धमा ट्रम्पले मध्यस्थता गरेको दाबी खण्डन गर्यो ।
इजरायल–इरान युद्ध
इजरायलले वर्षौंदेखि इरानको आणविक कार्यक्रममा आक्रमण गर्ने धम्की दिइरहेको थियो । यसै वर्ष जुन महिनामा उसले यो धम्कीलाई व्यवहारमा उतार्यो ।
इजरायलले आक्रमण गरेको छोटो समयमै ट्रम्पले पनि अमेरिकी बम वर्षक विमानहरुलाई आणविक स्थलमा आक्रमण गर्न आदेश दिए । झन्डै १२ दिनसम्म इरान र अमेरिकाबीच हवाई युद्ध चल्यो । इरानको आणविक कार्यक्रम पूर्ण रुपमा ध्वस्त भएको ट्रम्पको दाबी थियो । तर,धेरैले यो दाबी पत्याएनन् ।
गाजा शान्ति योजना
अक्टोबर १० मा गाजा शान्ति योजनाको प्रारम्भिक चरण कार्यान्वयनमा आएको छ । अक्टोबर ७, २०२३ मा इजरायलमा हमासको आक्रमणपछि सुरु भएको द्वन्द्वलाई रोक्ने दिशामा यो महत्वपूर्ण कदम थियो ।
तर इजरायलले यहाँ शान्ति योजनाविपरीत आक्रमण जारी नै राख्यो । गाजामा हमासले हतियार त्याग्ने र इजरायलले सेना फर्काउने काम सम्पन्न गरेपछि पुननिर्माण प्रक्रिया सुरु गरिने शान्ति योजनामा उल्लेख छ । ट्रम्पको सक्रियमा बनेको यस योजनाले गाजामा एक अत्याधुनिक शहर बसाल्ने लक्ष्य राखेको छ ।
तर, सम्झौताको दोस्रो चरण कार्यान्वयनमा जान सकेको छैन । ट्रम्पले हमासलाई हतियार त्याग्न चेतावनी दिइरहेका छन् । तर, इजरायललाई आक्रमण बन्द गर्नका लागि दबाब दिएका छैनन् । इजरायल–हमास युद्धले गाजामा अनुमानित ७०,००० को मृत्यु भइसकेको छ । इजरायलको निरन्तरको आक्रमणले गाजामा मानवीय अवस्था निकै खराब छ । यी सबै समस्याका बाबजुद सम्झौताको ठोस कार्यान्वयनसँगै स्थायी शान्ति कायम हुने आशा जीवित छ ।
ट्रम्प–सी बैठक
चीनसँगको व्यापार युद्धले ट्रम्पको पहिलो कार्यकाल पारिभाषित गरेको थियो । गत जनवरीमा उनी अमेरिकाको राष्ट्रपतिमा फर्किएलगत्तै फेरि चिनियाँ सामाग्रीमाथि भन्सार शुल्क बढाए ।
जवाफमा, चीनले पनि दुर्लभ पृथ्वी खनिजको निर्यातमा कडाई गरिदियो । जसले अमेरिकी र युरोपेली बजारमा उत्पादन संयन्त्रलाई नराम्ररी प्रभावित गर्नसक्ने खतरा थियो । यसले अमेरिकालाई चीनसँगको संवादहिनता तोडनुपर्ने परिस्थितीमा पुर्याइदियो । अक्टुबरमा सी र ट्रम्पबीच दक्षिण कोरियाको बुसानमा छलफल भएको थियो ।
कम्बोडिया–थाइल्याण्ड युद्ध
थाइल्यान्ड र कम्बोडियाबीचको सीमा विवादले यस वर्ष दुईपटक युद्धको रुप लियो । डाङग्रेक पर्वत शृंखलाको प्राचीन शिव मन्दिर ‘प्रेह विहार’ कम्बोडियामा पर्ने भएपनि यस आसपासको क्षेत्रलाई थाइल्यान्डले आफ्नो दाबी गर्दै आएको छ ।
कम्बोडियाले सन् २००८ मा विश्व सम्पदा सुिचीमा यस मन्दिरलाई दर्ज गरेपछि नै थाइल्यान्ड असन्तुष्ट थियो । सन् २०१३ मा अन्तर्राष्ट्रिय न्याय अदालत (आईसिजे) ले मन्दिर आसपासको विवादित क्षेत्र समेत कम्बोडियाकै स्वामित्वमा रहेको फैसला सुनाइसकेको छ । तर, थाइल्यान्डले आसपासको क्षेत्रमा आफ्नो दाबी छाडेको छैन ।
जुलाईमा सीमा क्षेत्रमा झडप हुँदा ठूलो संख्यामा मानिस थातथलो छाडेर हिंड्नुप¥यो । ट्रम्पको मध्यस्थतामा यहाँ वार्ता भयो । तर, नोभेम्बरको अन्त्यमा फेरि युद्धविराम भंग भयो । झन्डै २० दिनसम्म चलेको भीषण युद्धमा कम्तिमा एक सय जना मारिए । ५ लाखभन्दा धेरै बिस्थापित भए । यस्तो परिणतिपछि वर्षको अन्त्यमा दुबै देशले फेरि युद्धविराम गरेका छन् ।
गृहयुद्धले आक्रान्त सुडान
सुडानको लगभग तीन वर्ष लामो गृहयुद्धलाई धेरैले ‘पृथ्वीको नर्क’ भनेका छन् । यस युद्धमा जनरल अब्देल फत्ताह अल–बुर्हानको नेतृत्वमा रहेको सरकारी सुरक्षा बल सुडानी सशस्त्र बल (एसएएफ) एकातर्फ र तीव्र रूपमा शक्तिशाली बनेको मोहम्मद हामदान ‘हेमेड्टी’ नेतृत्वको अर्धसैनिक समूह र्यापिड सपोर्ट फोर्स (आरएसएफ) अर्कोतर्फ छन् ।्
२०२१ मा ‘कु’ मार्फत सत्ता कब्जा गर्दा बुर्हान र हेमेड्टी एकसाथ थिए । तर दुईबीचको सत्ता संघर्षको मारमा अहिले सुडानी जनता परेका छन् । एसएएफले रेड सी किनाराको पोर्ट सुडानलाई आफ्नो शक्ति–केन्द्र बनाएको छ र उत्तर तथा पूर्वका मुख्य शहरहरू नियन्त्रणमा राखेको छ, जसलाई अन्तर्राष्ट्रिय समुदायले सुडानको औपचारिक सरकारका रूपमा मान्यता दिएको छ ।
अर्कोतर्फ, आरएसएफले डार्फर र देशको मध्य तथा पश्चिमी भागका ठूला क्षेत्रमाथि नियन्त्रण कायम राखेको छ । यस गृहयुद्धमा बाह्य शक्तिको भूमिका पनि उत्तिकै महत्वपूर्ण छन् । इजिप्ट, रुस र टर्की एसएएफ नजिक देखिन्छन् भने चाद, इथियोपिया र युएई आरएसएफ नजिक छन् । युद्धले अहिलेसम्म करिब ४ लाख मानिसको ज्यान गएको अनुमान छ ।
एक करोड २० लाखभन्दा बढी विस्थापित भएका छन् । देशको ठूलो हिस्सामा भोकमरी र कुपोषण फैलिँदै गएको छ, तर उपलब्ध मानवीय सहयोग पर्याप्त छैन ।
कृत्रिम बुद्धिमत्ताको दौड
संयुक्त राज्य अमेरिका र चीन अहिले एआई क्षेत्रमा अग्रपंक्तिमा छन् । अन्य देशहरु उनीहरुलाई पछ्याइरहेका छ्न । यस वर्ष जनवरीमा चिनियाँ कम्पनी ‘डिपसिक’ले अमेरिकी शीर्ष मोडलसँग प्रतिस्पर्धा गर्नसक्ने एआई मोडेल सार्वजनिक गर्यो ।
अमेरिकी कम्पनीहरूले यसलाई ‘खतरा संकेत’ मानेर आफ्ना लगानी अझै तीव्र बनाउने निर्णय गरे । बाइडेन प्रशासनले चीनतर्फ हुने अत्याधुनिक सेमिकन्डक्टर र चिप निर्यातमा लगाएको प्रतिबन्धलाई ट्रम्प प्रशासनले सुरुमा अझै कडाइ गरेको थियो । जसकारण, चीनलाई नयाँ प्रविधि निर्माणमा अफ्टेरो थियो ।
तर, रेयर अर्थमाथि चीनको कडाईले अमेरिकालाई सेमिकन्डक्टर र चिपसहित औद्योगिक उत्पादनमै समस्या पारिदियो । अन्ततः ट्रम्पले पुरानो नीति उल्ट्याउँदै डिसेम्बरमा मध्यमा एनभिडियालाई शक्तिशाली एच २०० चिप चीनमा बेच्न अनुमति दिए । यसले राष्ट्रिय सुरक्षा खतरामा पार्ने भन्दै ठूला आलोचना पनि उब्जाएको छ ।
एआई दौडका बहसमा प्रायः ‘शक्तिशाली मोडेल कसले बनाउँछ?’ भन्ने प्रश्नमा जोड दिइन्छ । तर अर्को महत्त्वपूर्ण पक्ष ‘कुन देशले एआईलाई दैनिक प्रशासन, उद्योग र सामाजिक संरचनामा प्रभावकारी रूपमा गाभ्न सक्छ?’ भन्ने हो । यस मामिलामा चीन निकै अघि छ ।
विद्रोहमा जेनजी पुस्ता
१९९७ देखि २०१२ को अवधिमा जन्मिएको जेनजी पुस्ताको अगुवाईमा यस वर्ष विश्वभर आन्दोलन तथा विरोध प्रदर्शन भए । यो पुस्ता इन्टरनेटको तिव्र विकास तथा वैश्विक जलवायु संकटलाई नजिकबाट नियालेर हुर्किएको पुस्ता हो ।
वर्ष २०२४ मा बंगलादेशमा भएको क्रान्तिमा पनि यो पुस्ता अग्रमोर्चामा थियो । त्यहाँ शेख हसिना अपदस्थ हुँदा बाँकी देशका तानाशाहहरुको सातो गइसकेको थियो ।
२०२५ मा एशिया, अफ्रिका, अमेरिका र युरोप समेतगरी झन्डै २५ वटा देशमा यस पुस्ताका युवाले सडक तताए । भ्रस्टाचारमुक्त समाज, सुशासन, नातावाद अन्त्यलगायतका माग यी पुस्ताले विश्व्यापी रुपमा उठाएका थिए । नेपाल, मादागास्कर, मंगोलिया, पेरु, बुल्गेरिया र टिमोरलेस्टेमा यसले सरकार नै ढालिदियो ।
रोचक कुरा, विश्वभरका युवाले आन्दोलनका क्रममा एउटै झन्डा प्रयोगमा ल्याएका थिए । प्रसिद्ध जापानी एनिमी वान पिसमा प्रयोग गरिएको ‘पाइरेट झन्डा’ युवाहरुको आक्रोश अभिव्यक्त गर्ने साझा संकेत बन्यो । अन्याय, तानाशाही प्रवृत्ति र भ्रस्टाचारको विरोध तथा स्वतन्त्रता, सपना र दमनकारी व्यवस्थाको अवज्ञालाई यसले प्रतिनिधित्व गरेको थियो ।
चुनावको वर्ष
वर्ष २०२५ चुनावको वर्षका रुपमा पनि संझनामा रहनेछ । यस वर्ष ७२ वटा देशमा आम निर्वाचन तालिका तय थियो । यी सबै देशका मतदाताको संख्या जोड्दा ३ अर्ब ७० करोड हाराहारी हुन आउँछ ।
जसले वर्ष २०२५ लाई मानव इतिहासकै सबैभन्दा ठूलो चुनावी वर्ष बनायो ।
महत्वपूर्ण घटनाक्रम
२० जनवरी : डोनाल्ड ट्रम्पद्वारा दोस्रो कार्यकाल अमेरिकी राष्ट्रपतिको सपथ
१७ फेब्रुअरी : इन्डोनेशियाको जाकार्तामा हजारौंको सहभागितामा जेनजी आन्दोलन सुरु, भ्रस्टाचार र नातावादको अन्त्य तथा सुशासनको माग ।
९ मार्च : क्यानेडामा मार्क कार्नी लिबरल पार्टीको संसदीय दलको नेता चयन, प्रधानमन्त्री नियुक्त ।
४ अप्रिल : दक्षिण कोरियाका राष्ट्रपति योन सुक यीयोलविरुद्ध महाभीयोग प्रस्ताव पारित ।
२५ मे : स्पेनमा आयोजित अरब–युरोप शिखर बैठकमा सहभागी नेताहरुद्वारा गाजामा युद्धविरामका लागि इजरायललाई दबाब दिने विषयमा छलफल । इजरायलले मानव अधिकार उल्लंघन र नाकाबन्दी रोक्नुपर्ने माग ।
१५ जुन : क्यानडाको कानानस्किस (अल्बर्टा) मा सुरु भएको जी–७ शिखर सम्मेलनमा जलवायु, एआई नियमन, चीन–रूस नीतिजस्ता मुद्दा मुख्य एजेन्डामा तीन दिनसम्म छलफल ।
६ जुलाई : ब्राजिलको रियो दे जेनेरियोमा १७ औँ ब्रिक्स शिखर सम्मेलन सुरु, दुई दिने सम्मेलनमा डलरको विकल्प खोज्ने वित्तीय एजेन्डाबारे छलफल ।
१ अगस्ट : ट्रम्पको दोस्रो कार्यकालका नीति आप्रवासन, सीमा र ‘अमेरिका फस्र्ट’ विरुद्ध अमेरिकाका थुप्रै सहरमा लगातार सडक प्रदर्शन सुरु ।
८ सेप्टेम्बर : नेपालमा भ्रष्टाचार, नातावाद र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध हजारौं युवा सडकमा, ९ सेप्टेम्बरमा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राजीनामा । दुई दिने आन्दोलनमा ७६ जनाको मृत्यु, २ हजारभन्दा धेरै घाइते ।
९ अक्टोबर : अमेरिकाले अघि सारेको २० बुँदे गाजा शान्ति योजनामा हमास र इजरायलद्वारा हस्ताक्षर । युद्धविरामसँगै कैदीबन्दी साटासाटसम्बन्धी सम्झौतामा सहमति ।
२२ नोभेम्बर : दक्षिण अफ्रिकाको जेहानेसवर्गमा जी २० सम्मेलन सुरु, २३ नोभेम्बरमा समापन ।
२० डिसेम्बर : लिबियाका सेनाप्रमुख जनरल मोहम्मद अली अहमद अल–हद्दादसहित ५ जनाको टर्कीमा विमान दुर्घटनामा मृत्यु, सेनाप्रमुखको निधनले गृहयुद्धपछिको सत्ता–सन्तुलन झनै अनिश्चित ।
