ट्रम्पसँग फ्लोरिडामा ३ घण्टा भएको वार्तामा अमेरिकाले १५ वर्षको सुरक्षा ग्यारेन्टी दिने प्रस्ताव गरेको जेलेन्स्कीले दाबी गरेका छन् ।
What you should know
एपी/रासस (फ्लोरिडा) — युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फ्लोरिडामा तीन घण्टा लामो वार्ता गरेका छन् ।
बैठकपछि जेलेन्स्कीले शान्ति योजनाका ९० प्रतिशत सर्तमा सहमति भइसकेको बताएका छन् । यद्यपि भूभाग, युक्रेनको सुरक्षा ग्यारेन्टी र आणविक ऊर्जा केन्द्रको भविष्यलाई लिएर वार्ता अड्किएको बताइएको छ ।
रुसले थप आक्रमण गर्नुअघि नै भू–भागसम्बन्धी सम्झौता गर्नु उपयुक्त हुने ट्रम्पले सुझाव दिएका छन् । ‘केही भू–भाग त पहिल्यै कब्जा भइसकेको छ । केही भू–भाग अझै अनिश्चित छ, तर आगामी केही महिनामा त्यो पनि कब्जामा पर्न सक्छ,’ ट्रम्पले भने, ‘त्यसैले अहिले नै सम्झौता गर्नु राम्रो होइन र ?’ बैठकअघि जेलेन्स्कीले शान्ति सम्झौताका लागि जनमतसंग्रहमा मुलुकलाई लैजान आफू तयार रहेको बताए । युक्रेनको संविधानअनुसार राष्ट्रिय सीमामा हुने कुनै पनि परिवर्तन जनमतसंग्रहबाट अनुमोदन हुनुपर्छ । तर उनले त्यस्तो जनमतसंग्रह गर्न युद्धविराम अनिवार्य हुने पनि स्पष्ट पारे ।
अमेरिकाले १५ वर्षका लागि सुरक्षा ग्यारेन्टी दिने प्रस्ताव राखेको पनि जेलेन्स्कीले बताएका छन् ।
फ्लोरिडामा ट्रम्पसँगको वार्तापछि उनले यस्तो भनेका हुन् । जेलेन्स्कीले ५० वर्षका लागि सुरक्षा प्रत्याभूति माग गरेका थिए । फेब्रुअरी २०२२ देखि सुरु भएको युद्धमा अहिलेसम्म ठूलो संख्यामा मानिस मारिइसकेका छन् भने लाखौंले घरबार छाडेका छन् । चार वर्षदेखि जारी युक्रेन–रुस युद्ध अन्त्य गर्ने विषयमा छलफलका लागि जेलेन्स्की फ्लोरिडास्थित ट्रम्पको रिसोर्ट मार–ए–लागो पुगेका हुन् । जेलेन्स्कीको लक्ष्य भर्खरै मात्र युक्रेनले प्रस्ताव गरेको २० बुँदे शान्ति योजनामा अमेरिकाको सहमति खोज्नु थियो । तर, तीन घण्टाभन्दा बढी समय चलेको वार्तापछि पनि दुवै पक्ष कुनै निष्कर्षमा भने पुगिसकेका छैनन् ।
ट्रम्प र जेलेन्स्की दुवैले शान्ति सम्झौता प्रक्रिया जटिल रहेको र नतिजाका लागि अझै केही समय लाग्ने बताए । ट्रम्पले जेलेन्स्कीको प्रशंसा गर्दै युद्ध अन्त्य हुने दिन नजिक रहेको पनि बताए । ‘मलाई लाग्छ, हामी शान्ति सम्झौताको धेरै नजिक पुगेका छौं, सायद अत्यन्तै नजिक छौं,’ ट्रम्पले भने । युक्रेन, अमेरिका र युरोपेली देशका प्रतिनिधिहरूले आगामी साताहरूमा पनि निरन्तर रूपमा वासिङटनमा भेटघाट गर्ने ट्रम्पले उल्लेख गरे । झन्डै चार वर्षदेखि चलिरहेको रुस–युक्रेन युद्ध अन्त्य गर्नका लागि अहिले निकै अनुकूल समय रहेको उनले बताए । ‘युद्ध अन्त्य हुन्छ, होइन भने धेरै लामो समयसम्म चलिरहन्छ र थप लाखौं मानिस मारिनेछन्,’ उनले भने ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले सोमबार विज्ञप्ति जारी गर्दै ट्रम्पको दाबी साँचो भएको बताएका छन् । ‘वार्ता अन्तिम चरणमा चलिरहेको भनेर ट्रम्पले गरेको दाबी साँचो हो,’ विज्ञप्तिमा उल्लेख छ । २०२४ को चुनावी अभियानका दौरान ट्रम्पले आफूले राष्ट्रपतिको पद सम्हालेको एक दिनमै युद्ध अन्त्य गरिदिने दाबी गरेका थिए । तर, शान्ति वार्ता उनले सोचे जसरी सहज ढंगले अघि बढ्न भने सकिरहेको छैन । जसको दोष उनले कहिले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन त कहिले जेलेन्स्कीमाथि थोपर्दै आइरहेका थिए । तर अहिले उनले यस युद्ध समाप्त गर्नु आफैंमा जटिल रहेको बताएका छन् ।
‘एक–दुई वटा अत्यन्तै जटिल मुद्दाहरू छन् । तर मलाई लाग्छ, हामी निकै राम्रो गरिरहेका छौं,’ बैठकपछि ट्रम्पले भने, ‘आज धेरै प्रगति भएको छ, तर वास्तवमा पछिल्लो एक महिनामै धेरै नै काम भएको हो । यो एक दिनमै टुंगिने सम्झौता होइन । यो निकै जटिल प्रक्रिया हो ।’ जेलेन्स्कीसँगको वार्ता सुरु हुनुअघि ट्रम्पले पुटिनसँग फोनमा एक घण्टाभन्दा लामो समय कुराकानी गरेका थिए । क्रेमलिनका अनुसार ट्रम्पकै आग्रहमा यो फोन संवाद भएको थियो । ट्रम्पले पुटिन शान्तिका लागि गम्भीर रहेकाले उनलाई आफूले अझै विश्वास गर्ने बताए । ‘उनी वार्ता सार्थक भएको देख्न चाहन्छन्,’ ट्रम्पले भने ।
ट्र्रम्पका दूत स्टिभ विटकफले अघि सारेको शान्ति सम्झौताको २८ बुँदे प्रारम्भिक मस्यौदामा लामो छलफल चलेको थियो । यस मस्यौदालाई लिएर रुस निकै सकारात्मक थियो । तर कतिपय बुँदाहरूलाई लिएर युक्रेन र उसका युरोपेली साझेदारले असहमति जनाए । त्यसपछि अमेरिका तथा युरोपेली साझेदारहरूसँग समेत छलफल गरेर युक्रेनले २० बुँदै योजना अघि सारेको छ । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले २३ डिसेम्बरमा यस संशोधित मस्यौदालाई सार्वजनिक गरेका थिए । यसमा युक्रेनको सार्वभौमिकता, युक्रेनलाई नाटो राष्ट्रसरह नै सुरक्षा प्रत्याभूतिको व्यवस्था, युक्रेनी सेनाको संख्या यथावत् (यसअघि २८ बुँदे मस्यौदामा सेनाको आकार घटाउने उल्लेख थियो), युरोपेली युनियनमा युक्रेनको सदस्यता, रुसको कब्जामा रहेको आणविक ऊर्जा केन्द्रको भविष्यलगायत विषय उल्लेख छन् । युक्रेनले अघि सारेको यस प्रस्तावमा रुस सकारात्मक छैन । पुटिनले यसअघि युक्रेनलाई युद्ध अन्त्य गर्न कुनै हतारो नरहेको आरोपसमेत लगाएका थिए । उनले युक्रेनले युद्ध अन्त्यमा चासो नदेखाए सैनिक बल प्रयोग गरेर पनि रुसले आफ्नो योजना सफल बनाउने दाबी गरेका थिए ।
