१९६३ मा कम्बोडियाका राजकुमार सिहानुकले यस क्षेत्रमा आउने थाई भक्तजनले भिसा लिनु नपर्ने निर्णय गरेका थिए । तनाव र युद्धका बाबजुद पनि यहाँ दुबै देशका भक्तजन आइरहन्छन् ।
What you should know
काठमाडौँ — थाइल्यान्ड र कम्बोडियाले युद्धविराम सम्झौतामा हस्ताक्षर गरेसँगै शनिबार स्थानीय समयअनुसार अपरान्ह १२ बजेदेखि लडाइँ अन्त्य भएको छ । विगत २० दिनदेखि युद्ध चलेको थियो ।
लडाईंमा १०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । त्यस्तै, दुबै देशका पाँच लाखभन्दा बढी नागरिक विस्थापित भए।
यो विवादको चुरो दुई देशबीचको ८ सय किलोमिटरभन्दा लामो विवादीत सीमा क्षेत्रसँग सम्बन्धित छ । सन् १९०७ मा फ्रान्सेली अधिकारीहरुले यो सीमा क्षेत्र निर्धारण गरेका थिए । कम्बोडियाले यसैलाई सीमानाको आधार मानेपनि थाइल्यान्डले अस्विकार गर्छ ।
विवादको केन्द्रमा मध्य युगीन शिव मन्दिर
सीमा क्षेत्रमा पर्ने मध्य युगीन प्रेह विहार शिव मन्दिर सधैं विवादको केन्द्रमा रहने गरेको छ । यो मन्दिर कम्बोडियाको स्वामित्वमा छ । तर, मन्दिर आसपासको क्षेत्रमा थाइल्यान्डको पनि दाबी छ ।
उसले आसपासका क्षेत्रमा सेना परिचालन गरेको छ । दुई देशका सैनिकबीच यही विवादले सन् २०११ र यसै वर्ष दुईपटक युद्ध भइसकेको छ । यस भव्य मन्दिरको निर्माण एघारौं शताब्दीमा भएको थियो ।
जतिबेला आधुनिक थाइल्यान्ड, कम्बोडिया , लाओस र भियतनामका अधिकांश भूभाग खेमर साम्राज्यको हिस्सा थियो । यसको राजधानी आधुनिक कम्बोडियामा पर्ने अंकोर शहरमा थियो । १५ औं शताब्दीमा खमेर साम्राज्य कमजोर हुँदै गएपछि पश्चिमतर्फ सियाम र पूर्वतर्फ भियतनामले आफ्नो राज्य बिस्तार गरे ।
यही समय फ्रान्सले पनि दक्षिणपूर्वी एशियामा आफ्नो उपस्थिती बढाइरहेको थियो । सन् १८६३ मा संरक्षित राज्यका रुपमा रहन फ्रान्सले गरेको प्रस्ताव कम्बोडियाका खेमर वंशका राजा नोरोडोमले स्विकारेपछि यस क्षेत्रको नक्सा फेरि बदलियो । कम्बोडियालाई भियतनाम र थाइल्यान्डमध्ये कुनै एकको कब्जामा जानबाट रोक्ने काम यस निर्णयले गरेको इतिहासकारहरु बताउँछन् ।
कम्बोडियामा नियन्त्रण हासिल गरेको केही वर्षभित्र फ्रान्सले सियाम (आधुनिक थाइल्यान्ड) लाई हराएर सन् १९०७ को फ्रान्को– सियाम सन्धीमा हस्ताक्षर गर्न बाध्य बनायो । यस सन्धीअनुसार विगतमा सियामले खेमर साम्राज्यबाट कब्जामा लिएका पश्चिमतर्फका बट्टाम्बाङ , सिएम रीप, सेरेई साओफोआन, प्रेह विहारको मन्दिर र अन्य सीमावर्ती क्षेत्रहरू कम्बोडियालाई फिर्ता ग¥यो । कम्बोडियाले अहिले यही सन्धीअनुसारभा भूभाग आफ्नो रहेको अडान राख्दै आएको छ । तर, लामो समयदेखि यसमा थाइल्यान्डको आपत्ति छ ।
थाइल्याण्डले दोस्रो विश्वयुद्धको समयमा जापानसँग गठबन्धन गर्दै १९०७ को सन्धीमा गुमाएका धेरैजसो भूभाग जर्बजस्ती फिर्ता लिएको थियो, जसमा प्रेह विहारको मन्दिर पनि समावेश थियो । तर, विश्वयुद्धमा ‘धुरी राष्ट्र’ हारेकाले कब्जामा लिएका भूभाग जोगाउन उसलाई मुस्किल थियो ।
फ्रान्सले संयुक्त राष्ट्र संघको सदस्यताका दिलाउन सहयोग शर्तमा थाइल्यान्डलाई फकाएर सन् १९४६ मा ती भूभाग फिर्ता ल्यायो । तर, १९५३ मा कम्बोडिया स्वतन्त्र भएपछि थाई सेनाले फेरि प्रेह विहारको मन्दिर कब्जा गर्यो । कम्बोडियाले यो विवादलाई १९५९ मा अन्तर्राष्ट्रिय न्याय अदालत (आईसिजे) लग्यो ।
१९६२ मा आईसिजेले यो मन्दिर कम्बोडियाको भएको फैसला सुनायो । थाइल्यान्डले मन्दिरको स्वामित्व कम्बोडियाकै रहेको स्विकार गर्यो । तर, आसपासको क्षेत्र आफ्नो भएको दाबीसहित त्यहाँ सैनिक राख्यो ।
सन् २००८ मा कम्बोडियाले प्रेह विहारको मन्दिर परिसरलाई युनेस्कोको विश्व सम्पदा स्थलको रूपमा दर्ता गरेपछि तनाव पुनः उत्पन्न भयो ।
थाइल्याण्डले विरोध गर्यो, र २००८ देखि २०११ सम्म विभिन्न समय सीमामा झडप हुँदा कम्तिमा २० जनाको मृत्यु भयो । कम्बोडियाले २०११ मा पुरानो फैसलाको थप व्याख्या माग गर्दै आइसिजेमा अपिल दियो ।
सन् २०१३ मा अदालतले आसपासको क्षेत्र पनि कम्बोडियाकै रहेको फैसला गरिदियो । त्यस्तै, विवादित क्षेत्रबाट सेना हटाउन पनि थाइल्यान्डलाई आदेश दियो । तर, थाइल्यान्डले आसपासको क्षेत्रमा आफ्नो दाबी कायमै राखेको छ ।
प्रेह मन्दिर आज पनि दुबै देशका भक्तजनहरुको साझा आस्थाको धरोहर हो । यस मध्य युगीन शिव मन्दिरमा बौद्ध र हिन्दू दुबै धर्मालम्बी साझा आस्था राखेर आउँछन् ।
१९६३ मा कम्बोडियाका राजकुमार सिहानुकले यस क्षेत्रमा आउने थाई भक्तजनले भिसा लिनु नपर्ने निर्णय गरेका थिए । तनाव र युद्धका बाबजुद पनि यहाँ दुबै देशका भक्तजन आइरहन्छन् । यहाँको वास्तुकलाले सबैलाई लोभ्याउने गरेको छ ।
