भारतीय मूलका युगान्डेली मुस्लिम बाबु र हिन्दु आमाका सन्तान मम्दानी युगान्डाको कम्पालामा १८ अक्टोबर १९९१ मा जन्मिएका हुन् । मम्दानीकी आमा मीरा नायर चर्चित फिल्मकर्मी हुन् । उनले सलाम बम्बै, मिसिस्सिपी मसाला, नेमसेकजस्ता चर्चित फिल्म निर्देशन गरेकी छन् । सात वर्षको उमेरमा परिवारसँगै अमेरिका पुगेका मम्दानीले सन् २०१८ मा मात्रै त्यहाँको नागरिकता पाएका थिए ।
काठमाडौं र अमेरिका — खुला बजार, पुँजीवादी अर्थ प्रणाली र खुला प्रतिस्पर्धाका लागि चिनिएको न्युयोर्क सहरको अर्को परिचय हो, आर्थिक–सामाजिक असमानता । यसैलाई प्रमुख मुद्दा बनाएर आप्रवासी समुदायका ३४ वर्षीय जोहरान मम्दानी बुधबार न्युयोर्कको मेयर निर्वाचित भएका छन् । डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बनेका उनले चुनावी प्रचारका क्रममा ‘न्युयोर्क सबैका लागि सुलभ सहर’ नारा दिएका थिए ।
कोलम्बिया विश्वविद्यालयसँगको सहकार्यमा रोबिन हुड फन्डले तयार गरेको पछिल्लो अध्ययन प्रतिवेदनअनुसार न्युयोर्कमा झन्डै २५ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छ । जो, विश्व महाशक्ति देश अमेरिकाको राष्ट्रिय औसतको दाँजोमा दोब्बर हो । न्युयोर्कको झन्डै आधा जनसंख्यालाई दैनिक आधारभूत खर्च जुटाउन पनि मुस्किल रहेको रिपोर्टमा उल्लेख छ ।
उच्च अपार्टमेन्ट भाडा यहाँको अर्को समस्या हो । यहाँ मानिसहरूको आयको झन्डै एक तिहाइ खर्च घर भाडामै जान्छ । मध्यम तथा निम्न वर्गले यसरी दैनिक जीवनमा संघर्ष गरिरहनुपरेको यो सहरमा उच्च वर्गको संख्या भने बढ्दो छ । ब्लुमवर्गको पछिल्लो रिपोर्टअनुसार हरेक २४ जनामध्ये एकसँग १० लाख अमेरिकी डलरभन्दा धेरै सम्पत्ति छ । सहर महँगो हुँदै गएपछि कम तथा मध्यम आय भएकाले छाड्ने र धनाढ्यहरू भित्रने क्रम बढेको छ । आप्रवासीको सहरका रूपमा चिनिएको न्युयोर्कमा पछिल्लो समय रंगभेद पनि बढ्दो अवस्थामा छ ।
यस्तो परिस्थितिलाई नजिकबाट नियालेका मम्दानीले भुँइमान्छेका जीविकासँग जोडिएका समस्यालाई आफ्नो चुनावी मुद्दा बनाए । उनले प्रत्येक स्ट्रिटमा सुलभ किराना पसल स्थापना गर्ने, अपार्टमेन्टमा भइरहेको भाडावृद्धि रोक्ने, निःशुल्क बस सेवा सञ्चालन गर्ने, बालबालिकालाई हेरचाहको प्रबन्ध मिलाउने, २ लाख नयाँ आवास इकाई स्थापना गर्नेलगायत लोककल्याणकारी मुद्दा अघि सारेका थिए ।
चुनावमा मम्दानीले १० लाखभन्दा धेरै मत (५०.४ प्रतिशत) ल्याएका छन् । निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार एन्ड्रियु कुओमोले ८ लाख ५० हजार (४१.६ प्रतिशत) तथा रिपब्लिकन पार्टीका कर्टिस सिल्भाले १ लाख ४६ हजार (७.१ प्रतिशत) हाराहारीमा मत ल्याए । कुओमो सन् २०११ देखि २०२१ सम्म न्युयोर्क राज्यको गभर्नर थिए । डेमोक्रेटिक पार्टीको प्राइमरी इलेक्सनमा मम्दानीसँग पराजित भएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
राष्ट्रपति ट्रम्पसहितका धनाढ्यलाई चुनौती
निर्वाचनको पूर्वसन्ध्यामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मम्दानीको विरोध गरेका थिए । आफ्नै पार्टी रिपब्लिकनका उम्मेदवार कर्टिस सिल्भाबारे मौन रहेका उनी स्वतन्त्र उम्मेदवार कुओमोको समर्थनमा थिए । मम्दानीले चुनाव जितेमा संघीय अनुदान रोकिदिने चेतावनीसमेत उनले सामाजिक सञ्जालमार्फत दिए ।
‘कम्युनिस्ट उम्मेदवार जोहरान मम्दानीले जितेमा मैले न्यूनतमबाहेकको संघीय अनुदान दिने सम्भावना निकै कम छ । म खराब मानिसलाई राम्रो पैसा पठाउन चाहन्न,’ ट्रम्पले लेखेका थिए । उता, कुओमोलाई डेमोक्रेटिक पार्टीको प्राइमरी निर्वाचनअगावै न्युयोर्क सहरका खर्बपतिहरूको समूहले समर्थन गरेको थियो । पूर्वमेयर माइकल ब्लुम्वर्ग र बिल एकम्यानजस्ता खर्बपति कुओमोको पक्षमा खुलेका थिए ।
आफ्ना जनमैत्री कार्यक्रम कार्यान्वयनका लागि वार्षिक १० लाख डलरभन्दा धेरै आय भएका व्यक्ति तथा कर्पोरेट संस्थामाथि कर बढाउने मम्दानीको योजना छ । घरभाडा वृद्धि रोक्ने उनको योजनाले चर्को भाडाको मार खेपिरहेका १० लाख जनता तत्काल लाभान्वित हुने देखिन्छ । त्यस्तै, उनले २ लाख स्थायी सर्वसुलभ अपार्टमेन्ट आगामी दशकभित्र बनाउने वाचा गरेका छन् । सार्वजनिक हाउजिङको संरक्षणमा सरकारले गर्ने लगानी पनि दोब्बर बनाउने उनको वाचा छ ।
‘हामीलाई धेरै सर्वसुलभ घर जरुरी छ । बनेका प्रायः घर कामदार वर्गको पहुँचबाट टाढा छन्, जसको सबैभन्दा धेरै आवश्यकता उनीहरूलाई छ,’ चुनावी अभियानमा मम्दानीले भनेका थिए । तर, न्युयोर्कमा सर्वसुलभ घर विकासका लागि संघीय सरकारले ठूलो अनुदान दिनुपर्ने भएकाले मम्दानीलाई आगामी दिन चुनौतीपूर्ण हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
निर्वाचन जितेलगत्तै राष्ट्रपति ट्रम्पलाई खुला चुनौती दिँदै उनले राजनीतिक विभाजनलाई न्युयोर्कले अस्वीकार गरेको बताए । ‘चाहे आप्रवासी होस्, ट्रान्स समुदाय वा ट्रम्पले संघीय सरकारको जागिरबाट निकालेका अश्वेत महिला, हरेक एकल महिला ग्रोसरीको भाउ घट्ने प्रतीक्षा गरिरहेका छन्,’ उनले भने, ‘न्युयोर्क त्यस्तो सहर रहने छैन, जहाँ इस्लामफोबिया फैलाएर चुनाव जित्न सकियोस् ।’
उनले थपे, ‘तानाशाहलाई तर्साउने उपाय नै उसलाई शक्ति सिञ्चित गर्न दिने हरेक अवस्थालाई कमजोर बनाउनु हो । यो ट्रम्पमात्र होइन, अर्को तानाशाहलाई रोक्ने कुरा पनि हो । डोनाल्ड मलाई थाहा छ तपाईंले यो भाषण हेर्दै हुनुहुन्छ, मसँग चार शब्दमात्रै छन्, टर्न द भोलुम अप ।’ न्युयोर्कको निर्माण नै आप्रवासीले गरेको स्मरण गराउँदै उनले यो सहरले आप्रवासीको नेतृत्व पनि पाएको बताए । ‘सुन्नुस्, राष्ट्रपति ट्रम्प हामीमध्ये कसैविरुद्ध आइलाग्नु भनेको हामी सबैविरुद्ध जाइलाग्नु हो ।’
अमेरिकामा समाजवादको सैद्धान्तिक बहस
मम्दानीको चुनावी अभियानले अमेरिकामा समाजवादको सैद्धान्तिक बहस र पुस्तान्तरणको विषयलाई बढावा दिएको छ । डेमोक्रेटिक पार्टीका सिनेटर बर्नी स्यान्डर्सले मम्दानीको उम्मेदवारीलाई समर्थन गर्दै उनलाई धनाढ्यको स्वार्थविरुद्ध कामदारका पक्षमा खडा हुने सशक्त नेताका रूपमा चित्रण गरेका थिए । त्यस्तै, अमेरिकाको तल्लो सदनमा सांसद रहेकी अलेक्ज्याद्रिया ओकासियो कोर्टेजले पनि उनको समर्थन गरेकी थिइन् ।
विपक्षीहरू र विशेषगरी पुरातनवादी रिपब्लिकनहरूले उनलाई कम्युनिस्टका रूपमा प्रचार गरेका थिए । २५ जुनमा आफ्नै स्वामित्वको सामाजिक सञ्जाल ट्रुथमा राष्ट्रपति ट्रम्पले लेखेका थिए, ‘मम्दानी शतप्रतिशत कम्युनिस्ट पाखण्ड हुन् ।’ त्यस्तै, पुरातनवादी सोच राख्ने चर्चित पोडकास्ट होस्ट निक सर्टरले २३ जुनमा एक्समा लेखेका थिए, ‘मम्दानी समाजवादीमात्रै होइन, उनी पूर्ण कम्युनिस्ट हुन् । उनी बर्नी स्यान्डर्सभन्दा पनि कडा वामपन्थी हुन् ।’
अमेरिकामा प्रजातान्त्रिक समाजवादको वकालत गर्नेहरूलाई रिपब्लिकन पार्टीका नेताहरूले कम्युनिस्ट करार गर्नु नौलो होइन । यसअघि बर्नीबारे पनि यस्तै प्रचार गरिएको थियो । अमेरिकाको बोस्टनस्थित टफ्ट्स विश्वविद्यालयमा तुलनात्मक राजनीति विषयकी एसोसिएट प्रोफेसर ओक्साना सेभेलले अलजजिरासँग भनेकी छन्, ‘फ्रान्सदेखि क्यानडासम्म धेरै पश्चिमा प्रजातन्त्रमा निःशुल्क वा उच्च अनुदानसहितका बाल हेरचाह र सार्वजनिक यातायातका नीतिहरू बनेका छन् । कम्युनिस्ट एजेन्डामा सरकारले सम्पूर्ण उत्पादन र मूल्यमा नियन्त्रण राख्छ, केवल भाडा वा सुपरमार्केट सञ्चालनमात्रै होइन । र, कम्युनिस्ट समाजमा कम्युनिस्ट पार्टीबाहेक अर्को कुनै पार्टी पनि हुँदैन । मम्दानीले यस्तो वकालत गरेका होइनन् । तसर्थ उनी कम्युनिस्ट होइनन् ।’
इमोरी विश्वविद्यालयमा अमेरिकन कम्युनिजमको इतिहासका विज्ञ हार्भी क्लिहरले प्रजातान्त्रिक समाजवाद कम्युनिजमको विकल्पका रूपमा आइरहेको बताए । ‘सैद्धान्तिक रूपमै भए पनि समाजवादीहरूले सर्वहारा मात्रैको नेतृत्वमा क्रान्ति गर्ने र सहभागितामूलक प्रजातन्त्रको विरोध गर्ने कम्युनिस्ट विचारलाई अस्वीकार गर्छन् । त्यस्तै उत्पादनका साधनमाथि राज्यको स्वामित्व हुनुपर्ने विचारलाई पनि खारेज गर्छन्,’ क्लिहरले भने, ‘केही मुद्दामा उनीहरू सहमत पनि छन्, जसमा पुँजीवादप्रतिको घृणा पर्छ ।’
न्युयोर्कको पहिलो मुस्लिम मेयर
न्युयोर्कको मेयर निर्वाचित हुने मम्दानी पहिलो मुस्लिम हुन् । भारतीय मूलका युगान्डेली नागरिक मुस्लिम बाबु र हिन्दु आमाका सन्तान मम्दानी युगान्डाको कम्पालामा १८ अक्टोबर १९९१ मा जन्मिएका थिए । उनका बुबा मोहम्मद मम्दानी कोलम्बिया विश्वविद्यालयमा मानवशास्त्र, राजनीतिक शास्त्र र अफ्रिकन स्टडिजका प्रोफेसर छन् ।
मम्दानीले आफ्नो विजयी भाषणमा पूर्वभारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको प्रसिद्ध भनाइ उद्धृत गरेका छन्, ‘इतिहासमा दुर्लभ रूपमा एउटा क्षण आउँछ, जब हामी पुरानोबाट नयाँमा जान्छौं, जब एउटा युग अन्त्य हुन्छ र लामो समयदेखि प्रताडित राष्ट्रको आत्माले बोल्न थाल्छ ।’ उनले राजनीतिक अन्धकारबीच न्युयोर्क सहर प्रकाश बनेर आएको बताए, ‘अब कसैले न्युयोर्कमा इस्लामफोबिया फैलाएर जित्न सक्दैन ।’
मम्दानीकी आमा मीरा नायर चर्चित फिल्मकर्मी हुन् । उनले सलाम बम्बै, मिसिस्सिपी मसाला, नेमसेकजस्ता चर्चित फिल्म निर्देशन गरिसकेकी छन् । सात वर्षको उमेरमा परिवारसँगै मम्दानी अमेरिका आएका थिए ।
उनले ब्रोन्क्स हाई स्कुल अफ साइन्समा उच्च शिक्षा तथा अफ्रिकाना स्टडिजमा मेनस्थित बोडोइन कलेजबाट स्नातक गरे । ब्रोंन्क्समा छँदा उनी विद्यार्थी चुनावमा उपाध्यक्षको उम्मेदवार पनि थिए । तर, पराजित भए । विद्यार्थीकालदेखि नै उनले समान अधिकार र युद्ध–विरोधी नीतिको वकालत गर्ने गरेका थिए । मम्दानीले सन् २०१८ मा मात्रै अमेरिकाको नागरिकता पाएका थिए ।
राजनीतिबाहेक क्रिकेट र हिप–हप संगीत उनका रुचिका विषय हुन् । उनी ‘मोनिकर योङ कार्डामम’ नामले र्याप क्षेत्रमा चिनिन्छन् । यही नामबाट उनले र्यापर एचबीएसँग मिलेर युगान्डाको जिन्जा सहरमा सन् २०१६ मा ‘गाउँ फर्कने छैन’ बोलको गीत प्रस्तुत गरेका थिए । सन् २०१६ मा प्रदर्शनमा आएको मीरा नायर निर्देशित ‘क्विन अफ काट्वी’ चलचित्रमा उनले म्युजिक सुपरभाइजरका रूपमा काम गरेका थिए ।
यस फिल्ममा उनी तेस्रो सहायक निर्देशक थिए र एउटा सानो रोलमा पनि देखिएका थिए । मामाघरतर्फकी हजुरआमाको स्मरणमा मोनिकर नामबाटै उनले सन् २०१९ मा ‘नानी’ बोलको गीत सार्वजनिक गरेका थिए । उनले आफ्नी हजुरआमालाई खुसी, विवेक र स्नेहको प्रेरणाका रूपमा लिने गरेका छन् ।
राजनीतिक करियर
मम्दानी २०१७ मा डेमोक्रेटिक सोसलिस्ट अफ अमेरिका (डीएसए) न्युयोर्क सिटी च्याप्टरमा आबद्ध भएका थिए । त्यही वर्ष न्युयोर्क सिटी काउन्सिलका उम्मेदवार प्यालेस्टिनी मूलका खादर इल यातिमको समर्थनमा उनले विभिन्न अभियान चलाए । तर, उक्त निर्वाचनमा यातिम पराजित भए । निरन्तर सामाजिक तथा राजनीतिक अभियानहरूमा जोडिएका मम्दानी २०२१ मा न्युयोर्कको क्विन्स सिटीस्थित डिस्ट्रिक्ट ३६ बाट न्युयोर्क राज्य सभाको सदस्य चुनिएका थिए । उनले घर–जग्गा खरिद र भाडा प्रक्रियालाई सर्वसुलभ बनाउने, प्रहरी र जेलको अवस्थामा सुधार ल्याउने, सेवा क्षेत्रलाई सार्वजनिक स्वामित्वमा ल्याउनेलगायत नारा दिएका थिए । (एजेन्सीको सहयोगमा)
