सशक्त सामाजिक सञ्जाल अभियान जसले मम्दानीलाई न्युयोर्कको मेयर बनायो

सामाजिक सञ्जालको कन्टेन्ट क्रिएसनमा विशेष ध्यान दिएका जोहारन मम्दानीले चुनावका लागि पक्का जेन-जी केन्द्रित अभियान सञ्चालन गरे ।

कार्तिक १९, २०८२

एजेन्सी

The powerful social media campaign that made Mamdani the mayor of New York

काठमाडौँ — अमेरिकामा न्युयोर्क सहरको मेयर निर्वाचित भएपछि सिटी हलको स्टेजमा जोहारन मम्दानीले ‘धुम मचाले’ गीत बजाए । उनले आमा, बुबा र श्रीमतीलाई स्टेजमा निम्याउने क्रममा पृष्ठभूमिमा धुम मचाले घन्किएको थियो । यस प्रस्तुतिले उनको विजय उत्सवलाई पुन: युवा पुस्तामैत्री बनायो ।

चुनावी अभियानमा सामाजिक सञ्जालको प्रयोग कसरी गर्न सकिन्छ भन्ने उदहारण उनीबाट सिक्न सकिन्छ । उनले बलिउडका लोकप्रिय ‘डाइलग’देखि शाहरुख खानको नक्कल र विभिन्न भाषा र सांस्कृतिक विम्बसहितका राजनीतिक कन्टेन्टहरू बनाएर सामाजिक सञ्जालको भरपूर उपयोग गरे । यसै कारण क्विन्सका ३४ वर्षीय डेमोक्र्याटिक समाजवादी र नेसनल असेम्ब्ली सदस्य मम्दानीले न्युयोर्क सहरको मेयरको रूपमा ऐतिहासिक विजय हासिल गरेका छन् । 

उनको सामाजिक सञ्जालमा आधारित अभियानले अन्तर्राष्ट्रिय ध्यान खिचेको छ । यसलाई कतिपयले उत्कृष्ट सोसल मिडिया क्याम्पेनिङ (चुनावी अभियान)को रूपमा तारिफ पनि गरेका छन् । इन्स्टाग्राममा जम्मा ४५ लाख फलोअर र युट्युबमा १७ हजार ४ सय सब्स्क्राइबर्स भएका उनले चुनावी अभियानमा संकलन भएको ६३ लाख अमेरिकी डलर चन्दामध्ये अधिकांश सामाजिक सञ्जाल अभियानबाटै प्राप्त गरेका थिए । उनले डिजिटल पहुँच बढाउन र इन्फ्लुएन्सरहरूसँग सहकार्यका लागि करिब ८८ हजार डलर खर्च गरेको अनुमान गरिएको छ । 

चुनावी अभियान अवधिभर मम्दानीले सुसंगत सन्देश (कन्सिस्टेन्ट म्यासेजिङ) प्रवाह गरे, आफूविरुद्ध फैलिएका अफवाहमा दरिलो अडान लिइरहे । न्युयोर्कलाई ‘बाँच्न र सपना देख्न सक्ने सहर’ बनाउने उनको मुख्य नारा श्रमिक तथा युवाहरूमाझ गहिरो रूपमा प्रवाह भएको थियो । उनले आफ्ना अभिव्यक्तिमा मानिसहरूलाई प्रत्यक्ष सम्बोधन गर्ने र उनीहरूसँग सिधा संवाद गर्ने शैली अपनाए । 

निःशुल्क बाल हेरचाह, घरभाडामा स्थिरता, छिटो तथा निःशुल्क यातायात सेवा र सरकारले सञ्चालन गर्ने किराना पसलजस्ता प्रगतिशील नीतिहरूलाई मम्दानीले एक्स, इन्स्टाग्राम, टिकटक, युट्युबजस्ता प्लाटफर्महरूमा संगीतसहितका भिडियो, र्‍याप शैलीको वाचन, सांस्कृतिक विम्बहरूसहित प्रचार गरे । छोटा तर स्पष्ट सन्देशसहितका भिडियो, जनतासँग प्रत्यक्ष रूपमा गरिएका संवाद र मिम संस्कृतिको प्रयोगले उनको अभियान व्यापक र आकर्षक बन्यो । 

एनबीसी न्युजका अनुसार देशभरका प्रगतिशीलहरूलाई ऊर्जा प्रदान गर्ने उनको जबरजस्त क्षमताका कारण उनको जित सम्भव भएको हो । उनले डेमोक्र्याटिक प्राइमरीमा पूर्वगभर्नर एन्ड्र्यु कुमोलाई पराजित गरेका थिए । याहू न्युजले मम्दानीको जितलाई ‘ऐतिहासिक विजय’ भनेर उल्लेख गरेको छ । उनले जटिल नीतिगत विषयहरूलाई सामाजिक सञ्जालमा ‘मेरे पास मा है’ शैलीका बलिउड क्लिप वा आँपको लस्सीजस्ता सामग्रीमार्फत छरितो तरिकाले एक्स्प्लेनर भिडियो बनाएर बुझाउने प्रयास गरे ।

मम्दानीले न्युयोर्कमा महँगो घर भाडाको आलोचना गर्न चिसो पानीमा हाम फालेर देखाए । न्युयोर्कको कोनी आइल्यान्डमा वार्षिक रूपमा आयोजना हुने 'पोलार बेयर क्लब प्लन्ज' नामक कार्यक्रममा यसपटक उनी थ्रिफ्ट स्टोरबाट ३० डलर किनेको स्विम सुट लगाएर पुगेका थिए । समुद्रमा हाम फाल्नुअघि उनले क्यामरामा हेर्दै भनेका थिए, 'म जमेको छु... तपाईंहरूको घर भाडा पनि जम्नेछ ।' उनले आफू मेयर निर्वाचित भएमा भाडा दर रोक्का राख्ने वा थप बढ्न नदिने प्रतिबद्धता जनाएका थिए । उनको यो स्टन्ट कुनै बेला सामाजिक सञ्जालमा भाइरल बनेको आफैँमाथि बरफ पानी खन्याउने ट्रेन्डको नक्कल पनि थियो ।

अलजजिराका अनुसार, न्युयोर्कवासीहरू ८०० भन्दा बढी भाषा बोल्छन् । त्यहाँका करिब २५ लाख मानिसहरूलाई अंग्रेजी बोल्न आउँदैन । मम्दानीले हिन्दी, उर्दु, स्पेनीलगायत विभिन्न भाषामा मतदाताहरूलाई आकर्षित गर्न सके । उनको डिजिटल चुनावी अभियानले राजनीतिक सहभागितालाई लोकतान्त्रिक बनाउन डिजिटल प्लाटफर्महरू कसरी प्रयोग गर्न सकिन्छ भन्ने देखाउँछ ।

एजेन्सी

Link copied successfully