इतिहास रच्दै मम्दानी बने न्युयोर्कको मेयर 

मम्दानी न्युयोर्कको पहिलो मुस्लिम मेयर मात्रै होइन, उनले पहिलो एसियाली र सबैभन्दा कान्छा मेयरको समेत रेकर्ड बनाएका छन् । 

कार्तिक १९, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — ३४ वर्षीय जोहारन मम्दानी न्युयोर्क सहरको मेयर पदमा विजयी भएका छन् । डेमोक्रेटिक पार्टीका उम्मेदवार मम्दानीले १० लाखभन्दा धेरै मत (५०.४ प्रतिशत) ल्याउँदा पूर्व गर्भनर एन्ड्रियु कुओमोले ८ लाख ५० हजार (४१.६ प्रतिशत ) र  कुर्टिस सिल्भाले १ लाख ४६ हजार (७.१ प्रतिशत ) हराहारीमा मत ल्याए । 

मम्दानी न्युयोर्कको पहिलो मुस्लिम मेयर मात्रै होइन, उनले पहिलो एसियाली र सबैभन्दा कान्छा मेयरको समेत रेकर्ड बनाएका छन् । 

डेमोक्रेटिक पार्टीको प्राइमरी इलेक्सनमा मम्दानीसँग पराजित भएपछि कुओमोले स्वतन्त्र उम्मेदवारी दिएका थिए । कुओमो सन् २०११ देखि २०२१ सम्म न्युयोर्क राज्यको गर्भनर थिए । यस निर्वाचनलाई प्रजातान्त्रिक समाजवाद र पुस्तान्तरको बहसका रूपमा पनि हेरिएको थियो । त्यहीकारण डेमोक्रेटिक पार्टीको राष्ट्रिय राजनीतिमा पनि यसले महत्त्वपूर्ण अर्थ राख्ने अपेक्षा गरिएको छ । 

युगान्डामा भारतीय मूलका बाबु–आमाको कोखबाट मम्दानीको जन्म भएको थियो । उनी ७ वर्षको उमेरदेखि अमेरिकामा बस्दै आएका छन् । मम्दानी प्रसिद्ध भारतीय-अमेरिकी फिल्म निर्देशक मीरा नायर र कोलम्बिया विश्वविद्यालयका प्रख्यात प्राध्यापक महमूद मम्दानीका छोरा हुन् ।

‘आशा जीवित छ,’ आफ्नो विजयी भाषणमा मम्दानीले भने,‘ असम्भवलाई सम्भव बनाउन सकिन्छ भन्ने आशाको अनुमति न्युयोर्कवासीले दिएकाले हामीले जित्यौं । हामीमाथि जे राजनीति भइरहेको छ, त्यस्तो हुनुहुँदैन भनेर हामीले जोड दियौं, त्यहीकारण जित्यौं ।’

उनले पूर्वभारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुको प्रसिद्ध भनाइ पनि उद्धृत गरेका छन्, ‘एउटा क्षण आउँछ, इतिहासमा दुर्लभ रूपमा, जब हामी पुरानोबाट नयाँमा जान्छौं, जब एउटा युग अन्त्य हुन्छ  र लामो समयदेखि प्रताडित राष्ट्रको आत्माले बोल्न थाल्छ ।’ उनले राजनीतिक अन्धकारबीच न्युर्योक सहर प्रकाश बनेर आएको बताए । ‘अब कसैले न्युर्योकमा इस्लामफोयिबा फैलाएर जित्न सक्दैन,’ उनले भने । 

भर्जिनियामा डेमोक्रेटिक पार्टीका अबिगल स्पानबर्गर पहिलो महिला गर्भनरका रूपमा चुनिएकी छिन् । त्यस्तै, घजला हास्मी पहिलो डेपुटी गर्भनरमा विजयी हुने पहिलो दक्षिण एसियाली बनेकी छिन् । उनी अमेरिकाको राज्यस्तरीय चुनावमा विजयी हुने पहिलो मुस्लिम महिलासमेत हुन् । न्युजर्सीमा डेमोक्रेट उम्मेदवार माइकी सेर्रिल गर्भनर पदमा विजयी भएका छन् । 

कान्तिपुर

Link copied successfully