राष्ट्रपतिमा फर्डिनान्ड मार्कोसले संकटकालको घोषणा गरेका छन् ।
फिलिपिन्स — मध्य फिलिपिन्समा आएको काल्मेगी आँधीबाट मृत्यु हुनेको संख्या एक सय १४ पुगेको छ भने एक सय २७ जना अझै हराइरहेका छन् । राष्ट्रपतिमा फर्डिनान्ड मार्कोसले संकटकालको घोषणा गरेका छन् ।
फिलिपिन्समा हालै आएको आँधीको प्रभाव सेबु प्रान्तमा सबैभन्दा बढी परेको छ । सेबुमा मंगलबार आएको आँधीका कारण विभिन्न सहरहरूमा बाढी पसेको थियो । बाढीले कार, नदी किनारका झुपडी र ठूला ढुवानी कन्टेनरसमेत बगाएको थियो ।
सेबुका अलवा आँधीको प्रभाव छिमेकी नेग्रोस टापुमा पनि परेको छ । अलजजिराका अनुसार आँधी प्रभावित २ लाख भन्दा धेरै स्थानियलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको थियो । आँधी मथ्थर हुँदै गएपछि अन्यत्र सारिएकाहरु भत्किएका घर र अन्य सामानहरुको खोजी गर्न फर्किन थालेका छन् ।
प्रान्तीय गभर्नर पामेला बारिकुआट्रोले मंगलबार स्थितिलाई ‘अकल्पनीय र विनाशकारी विपत्’ को अवस्था बताएका थिए । पछिल्लो समय फिलिपिन्समा मानवीय हस्तक्षेपका कारण भएका जलवायु परिवर्तनका कारण आँधीबेहरी अझ शक्तिशाली हुँदै गइरहेको वैज्ञानिकहरूले चेतावनी दिएका छन् ।
