फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको संख्या १०० नाघ्यो

सेबुमा मंगलबार आएको आँधीका कारण विभिन्न सहरहरूमा बाढी पसेको थियो । बाढीले कार, नदी किनारका झुपडी र ठूला ढुवानी कन्टेनरसमेत बगाएको थियो ।

कार्तिक १९, २०८२

रासस

Death toll from typhoon in Philippines exceeds 100

सेबु, फिलिपिन्स — मध्य फिलिपिन्समा आएको काल्मेगी आँधीका कारण देशभर मृत्यु हुनेको संख्या बुधबार १०० नाघेको छ । फिलिपिन्समा हालै आएको आँधकिो प्रभाव सेबु प्रान्तमा सबैभन्दा बढी परेको छ । 

सेबुमा मंगलबार आएको आँधीका कारण विभिन्न सहरहरूमा बाढी पसेको थियो । बाढीले कार, नदी किनारका झुपडी र ठूला ढुवानी कन्टेनरसमेत बगाएको थियो ।

सेबुका प्रवक्ता रोन रामोसले एएफपीलाई प्रान्तीय राजधानी सेबु सहरको मेट्रो क्षेत्रमा पर्ने लिलोनमा बाढीले डुबेका ३५ जनाको शव भेटिएको जानकारी दिए । यो डरलाग्दो समाचारसँगै सेबुमा पछिल्लो प्राकृतिक विपत्का कारण मृत्यु हुनेको संख्या ७६ पुगेको छ । 

छिमेकी नेग्रोस टापुमा कम्तीमा १२ जनाको मृत्यु भएको र १२ जना बेपत्ता भएको प्रहरी लेफ्टिनेन्ट स्टिफन पोलिनारले बताए । 

मौसम विशेषज्ञ चार्मेन भेरिल्लाले एएफपीलाई भने, 'सेबु सहर वरपरको क्षेत्रमा काल्मेगी अवतरण हुनुभन्दा पहिलेको २४ घण्टामा १८३ मिलिमिटर (सात इन्च) वर्षा भएको थियो, जुन यसको मासिक औसत १३१ मिलिमिटर भन्दा बढी हो ।'

प्रान्तीय गभर्नर पामेला बारिकुआट्रोले मंगलबार स्थितिलाई ‘अकल्पनीय र विनाशकारी विपत्’ को अवस्था बताएका थिए ।

पछिल्लो समय फिलिपिन्समा मानवीय हस्तक्षेपका कारण भएका जलवायु परिवर्तनका कारण आँधीबेहरी अझ शक्तिशाली हुँदै गइरहेको वैज्ञानिकहरूले चेतावनी दिएका छन् ।

आँधीका कारण बढी प्रभावित क्षेत्र सेबुलगायतका स्थानबाट आठ लाखभन्दा मानिसहरूलाई सुरक्षित स्थलमा सारिएको छ ।

रासस

Link copied successfully