१९ अक्टोबरमा चोरी हुँदा संग्रहालयको भिडियो निगरानी प्रणालीको पासवर्ड 'लुभ्र' रहेको खुलासा
काठमाडौँ — सुरक्षा व्यवस्था कमजोरी भएका कारण पेरिसस्थित लुभ्र संग्रहालयमा चोरी भएको खुलेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एबीसी न्यूजका अनुसार संग्रहालयको सुरक्षा प्रणाली कमजोर भएका कारणले चोरी भएको हो ।
१९ अक्टोबरमा चोरी हुँदा संग्रहालयको भिडियो निगरानी प्रणालीको पासवर्ड 'लुभ्र' रहेको खुलासा भएको छ । संग्रहालयको कर्मचारीलाई उदृत गर्दै एबीसी न्यूजले सुरक्षा व्यवस्थामै कमजोरी भएको उल्लेख गरेको हो ।
गत महिना फ्रान्सेली सिनेट समितिमा दिएको बयानमा लुभ्रका अध्यक्ष तथा निर्देशक लरेन्स डे कार्सले अपोलो ग्यालेरी बाहिर जडान गरिएको क्यामेरा पश्चिमतर्फ फर्केको र चोरहरूले शक्तिशाली औजारहरू प्रयोग गरेर भित्र प्रवेश र बाहिर निस्कने झ्यालको क्षेत्र कभर नगरेको बताएकी थिइन् । यसका साथै, उनले संग्रहालयका सबै अलार्म र भिडियो क्यामेराहरू काम गरिरहेको बताए तापनि कम लगानीका कारण संग्रहालयको परिधि सुरक्षामा कमजोरी रहेको स्वीकार गरेकी थिइन् ।
अक्टोबरमा भएको चोरीको अनुसन्धान जारी छ । हालसम्म सात जना पक्राउ परेपनि चार जनालाई संदिग्धका रूपमा अनुसन्धान गरिरहेको छ । यद्यपि हराएका गहनाहरू भेटिएको छैन । फ्रान्सको ऐतिहासिक सम्पदाको परिचित नेपोलियन र उनका पत्नीहरूसँग सम्बन्धित बहुमूल्य रत्नहरू चोरी भएको थियो ।
सन् १८५५ मा नेपोलियन तृतीयकी पत्नी महारानी युजेनी डे मोन्टीजोका लागि बनाइएको हजारौँ बहुमूल्य रत्नहरूले जडित ऐतिहासिक युजेनी क्राउन (टियारा), एक हार र एउटा ब्रोचसहित नौ बहुमूल्य रत्नहरू चोरी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ ।
फ्रान्सेली सरकारी वकिल लोर बेक्कुओलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले चोरी भएका गहनाहरूको मूल्य ८८ मिलियन युरो पर्ने जनाएको छ ।लुभ्र संग्रहालय विश्वको सबैभन्दा धेरै भ्रमण गरिएको संग्रहालय हो । यसमा मोनालिसा, भेनस डे मिलो जस्ता बहुमूल्य कलाकृतिहरूसहित करिब ३८०,००० ऐतिहासिक वस्तुहरू संग्रहित छन् ।
यसको सुरक्षा व्यवस्था विश्वकै सबैभन्दा कडामध्ये एक मानिन्छ । यसअघि पनि सन् १९११ मा मोनालिसा चित्र चोरी भएको थियो ।
