अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार ४ देखि ८ मिनेटभित्र उक्त चोरी भएको हो ।
What you should know
काठमाडौँ — सन् २०१७ मा रिलिज भएको एउटा स्पेनिस सिरिज हो- मनि हाइस्ट। 'बैंक अफ स्पेन' नामक बैंकबाट पैसा चोरी गरेको काल्पनिक कथामा आधारित यो सिरिजले विश्वकै ध्यान खिचेको थियो ।
सिरिजमा जस्तै फिल्मी शैलीमा चोरी भएको फ्रान्सको घटनाले विश्वको ध्यान खिचेको छ । गत आइतबार फ्रान्सको राजधानी पेरिसमा रहेको विश्वप्रसिद्ध लुभ्र संग्रहालयमा भएको चोरीले विश्वको ध्यान खिचेको हो ।
फ्रान्सको ऐतिहासिक सम्पदाको परिचित नेपोलियन र उनका पत्नीहरूसँग सम्बन्धित बहुमूल्य रत्नहरू आइतबार चोरी भएको थियो ।
सन् १८५५ मा नेपोलियन तृतीयकी पत्नी महारानी युजेनी डे मोन्टीजोको लागि बनाइएको हजारौँ बहुमूल्य रत्नहरूले जडित ऐतिहासिक युजेनी क्राउन (टियारा), एक हार र एउटा ब्रोचसहित नौ बहुमूल्य रत्नहरू चोरी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ ।
फ्रान्सेली सरकारी वकिल लोर बेक्कुओलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले चोरी भएका गहनाहरूको मूल्य ८८ मिलियन युरो पर्ने जनाएको छ ।
कसरी भयो चोरी ?
सुरक्षित मानिने संग्रहालयबाट आइतबार भएको चोरीमा पेशेवर चोरहरू संलग्न हुनसक्ने जनाइएको छ । फ्रान्सेली गृहमन्त्री लरेन्ट नुनेजले यस घटनालाई अहिलेसम्मकै सबैभन्दा ठूलो चोरीमध्ये एकको रूपमा वर्णन गरेका छन् ।
चोरीमा संलग्न हुनेहरुले सेइन नदीतिर फर्केको संग्रहालयको भित्तामाथि पुग्नको लागि ट्रकमा जडान गरिएको 'मेकानिकल ल्याडर' प्रयोग गरेका थिए । त्यसपछि नकाबधारी चोरहरूले 'डिस्क कटर'को प्रयोग गरी झ्याल काटेर ग्यालरीमा प्रवेश गरेका थिए ।
प्रहरीका अनुसार, चोरहरूले भित्र पसेपछि संग्रहालयमा चलिरहेको निर्माण कार्यका लागि जडान गरिएको मालवाहक लिफ्ट प्रयोग गरेर सिधै नेपोलियन र जोसेफिनको अमूल्य संग्रह रहेको ग्यालरीमा पुगेका थिए ।
प्रारम्भिक अनुसन्धान अनुसार, चोरीमा तीनदेखि चार जना संलग्न रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल-जजिराका अनुसार ४ देखि ८ मिनेटभित्र यो चोरी भएको हो । अनुसन्धानकर्ताका अनुसार चोरी गर्नेहरूले भाग्ने क्रममा युजेनीको क्षतिग्रस्त मुकुट (युजेनी क्राउन/टियारा) को केही टुक्रा बाटोमा छाडेको थिए ।
चोरीपछि लुभ्र संग्रहालयले पूर्ण दिनको लागि बन्दको घोषणा गरेको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले यस चोरीलाई फ्रान्सको सम्पदामाथि भएको हमलाको रूपमा व्याख्या गरेका छन् ।
लुभ्र संग्रहालय विश्वको सबैभन्दा धेरै भ्रमण गरिएको संग्रहालय हो । यसमा मोनालिसा, भेनस डे मिलो जस्ता बहुमूल्य कलाकृतिहरूसहित करिब ३८०,००० ऐतिहासिक वस्तुहरू संग्रहित छन् ।
यसको सुरक्षा व्यवस्था विश्वकै सबैभन्दा कडामध्ये एक मानिन्छ । यसअघि पनि सन् १९११ मा मोनालिसा चित्र चोरी भएको थियो ।
–एजेन्सीहरूको सहयोगमा
