मोनालिसा, भेनस डे मिलो जस्ता बहुमूल्य कलाकृतिहरू संगृहीत लुभ्र संग्रहालयमा चार जनाले आठ मिनेटभित्रै चोरे नेपोलियन तृतीयकी पत्नीका लागि निर्मित बहुमूल्य गहना
What you should know
काठमाडौँ — ‘मनी हाइस्ट’ नामको स्पेनिस सिरिज सन् २०१७ मा रिलिज भएको थियो, जुन ‘बैंक अफ स्पेन’ नामक बैंकबाट पैसा चोरी गरिएको काल्पनिक कथामा आधारित थियो । ५ वटा सिजन रहेको सिरिजमा ‘प्रोफेसर’ नामक पात्रको योजनामा बैंकमा डकैती गर्ने र बेच्ने योजना देखाइएको छ । त्यस सिरिजले विश्वकै ध्यान खिचेको थियो ।
‘मनी हाइस्ट’ मा जस्तै फिल्मी शैलीमा फ्रान्समा हालै चोरीको एउटा घटना भयो । गत १९ अक्टोबरमा राजधानी पेरिसस्थित विश्वप्रसिद्ध लुभ्र संग्रहालयमा भएको त्यस चोरीले विश्वको ध्यान खिचेको छ । नेपोलियन र उनका पत्नीहरूका बहुमूल्य रत्नहरू गत आइतबार चोरी भएका हुन् । ती फ्रान्सका ऐतिहासिक सम्पदाका रूपमा परिचित थिए ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार नेपोलियन तृतीयकी पत्नी युजेनी डे मोन्टिजोका लागि सन् १८५५ मा बनाइएका बहुमूल्य रत्नहरूले जडित युजेनी क्राउन (टियारा), एक हार र एउटा ब्रोचसहित नौ बहुमूल्य रत्नहरू चोरी भएका छन् । साम्राज्ञी युजेनीको मुकुट २ सय १२ मोती र करिब २ हजार हीराले जडित थियो । यस गहनाको सेटलाई अत्यन्तै बहुमूल्य मानिन्छ ।
कसरी भयो चोरी ?
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ‘टाइम’ र ‘द गार्डियन’ का अनुसार स्थानीय समय बिहान करिब ९ः३० बजेतिर चार व्यक्ति लुभ्र संग्रहालय पुगेका थिए । ट्रकमा जडान गरिएको ‘मेकानिकल’ भर्याङ चढेर दुई जना पहिलो तलाको ‘बाल्कोनी’ पुगेका थिए । नकावधारी उनीहरू त्यसपछि ‘डिस्क कटर’ ले झ्याल काटेर नेपोलियन र जोसेफिनको अमूल्य संग्रह रहेको ग्यालरीमा पुगेका थिए । चोरीपछि उनीहरू भर्याङबाट ओर्लिए र मोटरसाइकलमा तयारी अवस्थामा बसेका अन्य दुईसँगै भागे । उनीहरूले कामदारजस्तो देखिने पोसाक लगाएका थिए ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल–जजिराका अनुसार ४ देखि ८ मिनेटभित्र यो चोरी भएको थियो । चोरहरूले भाग्ने क्रममा ट्रकमा आगो लगाउन खोजेका थिए तर सफल भएनन् । यही कारण उनीहरूले प्रयोग गरेका हेल्मेट, एंगल ग्राइन्डर, डिस्क कटर, ज्याकेट र अन्य सामग्री घटनास्थलमै छुटेका थिए । अहिले अनुसन्धानकर्ताले ती सामग्रीको विस्तृत विश्लेषण गरिरहेका छन् । चोरीमा संलग्नहरू पेसेवर चोर भएको अनुमान गरिएको छ । फ्रान्सेली गृहमन्त्री लरेन्ट नुनेजले यस घटनालाई अहिलेसम्मकै ठूलो चोरीमध्ये एकका रूपमा वर्णन गरेका छन् । चोरीपछि लुभ्र संग्रहालय तीन दिनसम्म बन्द भएको थियो ।
गरगहना भेटिने झिनो आशा
अनुसन्धानकर्ताका अनुसार चोरी गर्नेहरूले भाग्ने क्रममा युजेनीको क्षतिग्रस्त मुकुट (युजेनी क्राउन/टियारा) का केही टुक्रा बाटामा छाडेका थिए । त्यसैका आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । सीसीटीभी फुटेजहरूको समेत अध्ययन भइरहेको छ । यस घटनाको अनुसन्धानमा एक सयभन्दा बढी अनुसन्धानकर्ता खटिएका छन् । ‘द गार्डियन’ का अनुसार फ्रान्सको संगठित अपराध नियन्त्रण दस्ता (बीआरबी) र सांस्कृतिक सम्पदा तस्करी मामिलाका विशेषज्ञ पनि अनुसन्धानमा संलग्न छन् ।
अहिले चोरीमा संलग्न व्यक्तिले छाडेका उपकरण र प्रमाणका आधारमा ती गरगहना फेला पर्ने झिनो आशा पलाएको छ । घटनास्थलबाट संकलन गरिएका १ सय ५० भन्दा बढी डीएनए नमुना, औंठाछाप र अन्य सबुतले यस्तो आशा जगाएको छ । पेरिसकी सरकारी वकिल लोर बेकुले फ्रान्सेली अखबार ‘ओएस्ट–फ्रान्स’ सँग गरगहना फेला पर्ने ‘झिनो आशा’ रहेको र आफू अनुसन्धानप्रति ‘आशावादी’ रहेको बताएकी छन् । ‘चोरको आपराधिक रेकर्ड रहेछ भने केही दिनभित्रै नतिजा आउन सक्छ,’ उनले भनेकी छन् ।
फ्रान्सेली पत्रिका ‘ले मोन्ड’ का अनुसार, संग्रहालयकी निर्देशक लरेन्स डेस कार्सले फ्रान्सेली सिनेटको संस्कृति समितिसमक्ष बयान दिँदै चोरी हुनुमा सुरक्षा र पूर्वाधारको कमजोरीलाई औंल्याएकी छन् । सरकारी अधिकारीहरूले यस घटनालाई ‘राष्ट्रिय लज्जा’ का रूपमा व्याख्या गरेको र सांस्कृतिक स्थलहरूको सुरक्षामा ध्यान दिने प्रतिबद्धता व्यक्त गरेको द गार्डियनले उल्लेख गरेको छ ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले यस चोरीलाई फ्रान्सको सम्पदामाथि भएको हमलाका रूपमा व्याख्या गरेका छन् । लुभ्र संग्रहालय विश्वको सबैभन्दा धेरै भ्रमण गरिएको संग्रहालय हो । यसमा मोनालिसा, भेनस डे मिलो जस्ता बहुमूल्य कलाकृतिहरूसहित करिब ३ लाख ८० हजार ऐतिहासिक वस्तु सङ्गृहीत छन् । यसको सुरक्षा व्यवस्था विश्वकै सबैभन्दा कडामध्ये एक मानिन्छ । तर यसअघि पनि सन् १९११ मा यहींबाट मोनालिसाको चित्र चोरी भएको थियो ।
-एजेन्सीहरूको सहयोगमा
