जो समाचार संकलन गर्दागर्दै मारिए

आफ्नो क्यामेरा र कलममार्फत युद्धको क्रूरताको कथा भनिरहेका पाँच जना पत्रकारको सोमबार खान युनिसस्थित नासेर अस्पतालमा भएको इजरायली हवाई हमलामा मृत्यु भयो । योसँगै उनीहरुको आवाज र क्यामेरा सधैँका लागि बन्द भयो ।

भाद्र ११, २०८२

दया दुदराज

who was killed while collecting news

What you should know

काठमाडौँ — ‘गाजामा कुनै पनि ठाउँ सुरक्षित छैन । हरेक ठाउँ डरलाग्दो छ, हवाई हमलाले निशाना बनाएको छ... हरेक घरमा एउटा कथा छ । हरेक घरमा एक बन्दी छ । हरेक घरमा पीडा छ ।’ अन्तर्राष्ट्रिय समाचार एजेन्सी एसोसिएट प्रेस (एपी) मा कार्यरत ३३ वर्षीया मरियम डग्गाको यो भिडियो सामाजिक सञ्जालमा भेटिन्छ तर उनलाई अब भेटिन्न ।

मरियम आफ्नो क्यामेरामार्फत युद्धको क्रूरता र प्यालेस्टिनीहरूको अदम्य साहसको कथा भनिरहेकी थिइन् । तर, सोमबार खान युनिसस्थित नासेर अस्पतालमा भएको इजरायली हवाई हमलामा उनको आवाज र क्यामेरा दुवै सधैँका लागि बन्द भयो ।

मरियम एपीसँगै अन्य अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका लागि काम गर्थिन् । उनी आफ्नो लेन्समार्फत साधारण प्यालेस्टिनीहरूको असाधारण पीडालाई कैद गर्थिन् । उनको हरेक तस्बिर युद्धको एउटा जीवन्त दस्ताबेज थियो । 

युद्ध सुरु भएदेखि नै मरियमले खान युनिसको नासेर अस्पताललाई आफ्नो आधार बनाएकी थिइन् । उनी त्यहीँबाट संसारलाई गाजाको यथार्थ देखाइरहेकी थिइन् । एपीका कार्यकारी सम्पादक जुली पेसले भनिन्, ‘उनले अत्यन्तै कठिन परिस्थितिमा काम गरेर गाजाका कथाहरू, विशेषगरी बालबालिकामा युद्धको प्रभावलाई संसारसामू ल्याइन् । उनको मृत्युले हामी स्तब्ध भएका छौं ।’

खान युनिसमा जन्मिएकी मरियमले गाजाको अल-अक्सा विश्वविद्यालयबाट पत्रकारितामा स्नातक गरेकी थिइन् । सन् २०१५ देखि पत्रकारिता सुरु गरेकी उनी गाजामा युद्धको रिपोर्टिङ गर्ने थोरै महिला भिजुअल पत्रकारमध्ये एक थिइन् । उनका १३ वर्षीय छोरा छन्, जो युद्ध सुरु भएपछि आफ्ना बुबासँग बस्न संयुक्त अरब इमिरेट्स (युएई) गएका थिए । कामबाट फुर्सद मिल्नेबित्तिकै उनी छोरासँग फोनमा कुरा गर्थिन् । उनका सहकर्मीहरूका अनुसार, उनका छोरा उनीसँग बस्न चाहन्थे । तर छोराको सपना सधैँका लागि सपनामै सीमित भयो ।

मरियम युद्ध रोक्नका लागि अपिल पनि गरिरेहकी थिइन् । केही महिनाअघि 'आई अन प्यालेस्टाइन' नामक एक सामाजिक सञ्जाल प्लाटफर्मलाई दिएको अन्तर्वार्तामा उनले युद्ध रोक्न अपिल गरेकी थिइन् । तर उनको सुनुवाइ हुनुपूर्व नै उनको हत्या भयो ।

मरियमसँगै मारिए अरू पत्रकार

सोमबारकै हमलामा मारिएका थिए पत्रकार हुसाम अल–मसरी । रोयटर्समा कार्यरत उनी हवाई आक्रमणको प्रत्यक्ष प्रसारण गरिरहेका थिए । तर अचानक हवाई हमला भएपछि, उनको क्यामेरा बन्द भयो उक्त हमलामा हुसाम अल–मसरी मारिए ।

प्रत्यक्षदर्शीका अनुसार, उद्धारकर्मी र पत्रकारहरू पहिलो हमलाको स्थलमा पुगेपछि दोस्रो हमला भएको थियो । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार, अस्पतालको चौथो तल्लामा ‘डबल-ट्याप’ शैलीमा इजरायलले आक्रमण गरेको थियो । जसमा पहिलो मिसाइल प्रहार भएको केही क्षणपछि उद्धार टोली पुग्दापुग्दै दोस्रो पटक मिसाइल प्रहार भएको थियो ।

हमलामा मरियाम र अल मसरीसँगै अलजजिराका फोटो पत्रकार मोहम्मद सलामा, मोज अबु ताहा र अहमद अबु अजिज पनि मारिए । उनीहरू पाँचै जना नासिर अस्पतालको चौथो तलामा बसेर रिपोर्टिङ गरिरहेका थिए । इजरायलले सोही तलालाई निशानामा राखेर हवाई हमला गरेको थियो । इजरायली सेनाले पनि सोमबार विज्ञप्ति जारी गर्दै खान युनिसको नासिर अस्पताल क्षेत्रमा आफ्नो सेनाले आक्रमण गरेको पुष्टि गर्‍यो ।

हमलामा पाँच पत्रकारसहित २० जना पनि मारिए । गाजास्थित नागरिक सुरक्षा निकायका प्रवक्ता महमुद बसालका अनुसार नासिर अस्पतालमा भएको हमलामा परी पाँच पत्रकार र नागरिक सुरक्षाका एक सदस्यसहित हालसम्म २० जना मारिएका हुन् ।

निशानामा अलजजिरा

इजरायली सेनाले पत्रकार लक्षित गरेर हमला गरेको यो पहिलो घटना भने होइन । दुई साताअघि पनि इजरायली सेनाले गाजा सहरको अल–शिफा अस्पताल नजिकै हमलामा गरेको थियो । उक्त आक्रमणमा अलजजिराका चारसहित ६ जना पत्रकार मारिएका थिए ।

अल-शिफा अस्पतालमा भएको आक्रमणमा अनस अल-शरिफ, मोहम्मद कुरैके, इब्राहिम जहीर र मोआमेन अलिवा, मोहम्मद नौफल र मोहम्मद अल अलिद मारिएका थिए । मारिएकामध्ये शरिफलाई डिफेन्स फोर्स (आईडिएफ) ले आतंकवादीको आरोप लगाएको थियो ।

गत जुलाई २४ मा आईडीएफले पत्रकार शरिफ सन् २०१३ मा हमासको सैन्य शाखा अल-कस्मामको एक सदस्य रहेको आरोप लगाएको थियो । आईडीएफका प्रवक्ता अविचाय अद्राईले एक भिडियो जारी गर्दै शरिफले 'सबैभन्दा आपराधिक र आक्रमक च्यानल'का लागि काम गरेको आरोप लगाएको थियो । त्यही अपुष्ट आरोपका आधारमा इजरायलले शरिफको हत्या गर्‍यो ।

अलजजिराका अनुसार २२ महिनादेखि जारी युद्धमा अल-जजिरामा कार्यरत १० जना पत्रकार मारिएका छन् । डिसेम्बर १४, २०२३ मा अलजजिराका क्यामेराम्यान समेर अबुदकालाई खान युनिसको फरहाना स्कुलमा रिपोर्टिङ गरिरहेका बेला इजरायली हवाई आक्रमणमा मारिएका थिए । उनीसँगै रहेका गाजा ब्युरो प्रमुख वाएल दहदुह सोही आक्रमणमा घाइते भएका थिए । इजरायली सेनाले आपत्कालीन उद्धारकर्मीहरूलाई घटनास्थलमा पुग्न रोकेपछि अबुदकाको रक्तस्रावका कारण मृत्यु भएको थियो ।

जनवरी ७, २०२४ मा वाएलका जेठा छोरा तथा अलजजिराका पत्रकार हम्जा दहदुहको खान युनिसमा उनी सवार गाडीमाथि भएको मिसाइल आक्रमणमा मृत्यु भएको थियो । त्यस्तै, जुलाई ३१, २०२५ मा इस्माइल अल-घौल र उनका क्यामेरापर्सन रामी अल-रिफि मारिएका थिए ।

१५ डिसेम्बर २०२५ मा इजरायलले मध्य गाजाको नुसेरात शिविरमा हवाई आक्रमण गरी अलजजिराका पत्रकार अहमद अल-लुहको हत्या गर्‍यो । यस्तै, २४ मार्च २०२५ मा उत्तरी गाजाको बेइत लाहियाको पूर्वी भागमा भएको इजरायली आक्रमणमा २३ वर्षीय होसाम शबात मारिएका थिए ।

सयौँ पत्रकारको हत्या

अक्टोबर ७, २०२३ मा युद्ध सुरु भएदेखि गाजामा मरियामजस्ता सयौँ पत्रकार मारिएका छन् । संयुक्त राष्ट्र संघको पछिल्लो तथ्याङ्कअनुसार, लगभग २२ महिनादेखि जारी यो युद्धमा परेर कम्तीमा २४७ प्यालेस्टिनी पत्रकारहरू मारिएका छन् । 

त्यस्तै, कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स (सीपीजे)का अनुसार, गाजामा पत्रकारहरूको मृत्यु संख्या सबैभन्दा उच्च देखिएको छ । सीपीजेले अगस्ट २५, २०२५ सम्ममा १९७ पत्रकार र मिडियाकर्मी मारिएको पुष्टि गरेको छ । मारिनेहरूमध्ये १८९ जना प्यालेस्टिनी थिए ।

यस्तै, अमेरिकाको ब्राउन युनिभर्सिटीको वाट्सन इन्स्टिच्युटले अप्रिलमा यो युद्धलाई ‘रिपोर्टरहरूका लागि अहिलेसम्मकै सबैभन्दा खराब द्वन्द्व’ रहेको जनाएको छ । गाजामा मारिएका पत्रकारहरूको संख्या अमेरिकी गृहयुद्ध, पहिलो र दोस्रो विश्वयुद्ध, कोरियाली युद्ध, भियतनाम युद्ध र अफगानिस्तान युद्धमा मारिएका कुल पत्रकारभन्दा बढी रहेको अमेरिकाको ब्राउन युनिभर्सिटीको रिपोर्टले देखाएको छ ।

त्यस्तै, रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ)का अनुसार, सन् २०२४ पत्रकारहरूका लागि सबैभन्दा घातक वर्ष रहेको उल्लेख गरेको छ ।

दया दया कान्तिपुरका मिडिया रिपोर्टर हुन् ।

Link copied successfully