खान युनिसस्थित नासिर अस्पताल लक्षित हमलामा परी अलजजिराका मोहम्मद सलामा, एपीका लागि काम गर्ने स्वतन्त्र फोटो पत्रकार मरियम डग्गा, रोयटर्सका हुसम अल–मसरी, मिडल इस्ट आईका पत्रकार मोअज अबु ताहा र अहमद अबु अजिजको ज्यान गएको हो ।
What you should know
गाजा — दक्षिणी गाजामा रहेको एक अस्पतालमा सोमबार इजरायली हमला हुँदा पाँच पत्रकारसहित कम्तीमा २० जनाको मृत्यु भएको नागरिक सुरक्षा निकायले जनाएको छ ।
‘दक्षिणमा रहेको खान युनिसस्थित नासिर अस्पतालमा भएको हमलामा परी पाँच पत्रकार र नागरिक सुरक्षाका एक सदस्यसहित हालसम्म २० जनाको मृत्यु भएको छ,’ गाजास्थित नागरिक सुरक्षा निकायका प्रवक्ता महमुद बसालले भने । मिडिया अनुगमनकारी संस्थाका अनुसार इजरायल र हमासबीच २२ महिनादेखि चलिरहेको युद्धमा परी १ सय ९० भन्दा बढी पत्रकार मारिइसकेका छन् ।
कतारस्थित टीभी नेटवर्क अलजजिराका प्रवक्ताले सोमबार आफ्ना एक फोटो पत्रकार तथा क्यामेरापर्सन मोहम्मद सलामाको उक्त हमलामा परी मृत्यु भएको बताएका छन् । ‘अलजजिरा मिडिया नेटवर्कले यस भयानक अपराधको कडा शब्दमा भर्त्सना गर्दछ । सेनाले सत्यलाई चुप गराउने योजनाबद्ध अभियानको एक भागका रूपमा पत्रकारहरूलाई प्रत्यक्ष रूपमा निसाना बनाएको छ र हत्या गरेको छ,’ अलजजिराले भनेको छ ।
पहिलो हमलापछि धूवाँ उडिरहेको फुटेजमा देखिएको थियो । भिडियोमा एक चिकित्सकले पत्रकारहरूलाई देखाउन रगतले लतपतिएको लुगा उठाइरहेका बेला अर्को हमला भएको थियो । उक्त हमलामा आफ्ना सहकर्मी हुसाम अल–मसरीको ज्यान गएको रोयटर्सले पुष्टि गरेको छ । उनी एक भवनको छतबाट टीभीमा प्रत्यक्ष प्रसारण गरिरहेका थिए, जुन पहिलो हमलालगत्तै बन्द भएको थियो । प्रत्यक्षदर्शीका अनुसार, उद्धारकर्मी र पत्रकारहरू पहिलो हमलाको स्थलमा पुगेपछि दोस्रो हमला भएको थियो । रोयटर्सका प्रवक्ताले सहकर्मीको निधनले मर्माहत भएको उल्लेख गर्दै सोही हमलामा परी रोयटर्सकै हातेम खालिद घाइते भएको बताए । ‘हामीले तत्काल थप जानकारी मागिरहेका छौं, गाजा र इजरायलका अधिकारीहरूलाई हातेमका लागि तत्काल चिकित्सा सहायता प्रदान गर्न आग्रह गरेका छौं,’ रोयटर्सका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस (एपी) ले पनि एक विज्ञप्ति जारी गर्दै ३३ वर्षीया फोटो पत्रकार मरियम डग्गाको मृत्युको खबरले स्तब्ध र दुःखी बनाएको जनाएको छ । यसअघि एक विज्ञप्ति जारी गर्दै डग्गाको हत्या हुँदा उनी एजेन्सीमा कुनै पनि जिम्मेवारीमा नभएको उल्लेख गरिएको थियो ।
‘प्यालेस्टिनी जर्नालिस्ट सिन्डिकेट’ले मृत्यु भएका अन्य दुई मिडल इस्ट आईका पत्रकार मोअज अबु ताहा र अहमद अबु अजिज रहेको उल्लेख गरेको छ । एएफपीका संवाददाताका अनुसार अबु ताहाले केही प्यालेस्टाइनी र अन्तर्राष्ट्रिय प्रकाशनका लागि काम गर्दै आएका थिए । गाजामा सञ्चारमाध्यममा लगाइएको प्रतिबन्ध र धेरै क्षेत्रको पहुँचमा कठिनाइका कारण नागरिक सुरक्षा एजेन्सी वा इजरायली सेनाले उपलब्ध गराएको संख्या र विवरणलाई आधार मान्नुपर्ने बाध्यता छ ।
इजरायली सेनाले पनि सोमबार विज्ञप्ति जारी गर्दै खान युनिसको नासिर अस्पताल क्षेत्रमा आफ्नो सेनाले आक्रमण गरेको पुष्टि गरेको छ । ‘इजरायली सेनाप्रमुखले जतिसक्दो चाँडो प्रारम्भिक छानबिन गर्न निर्देशन दिनुभएको छ,’ सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसमा लडाकु समूहसँग संलग्न नभएका व्यक्तिहरूलाई कुनै पनि प्रकारको क्षति पुगेको खण्डमा इजरायली सेना दुःख व्यक्त गर्दछ र इजरायलले पत्रकारहरूलाई लक्षित गर्ने कुनै नीति छैन ।’ नागरिक सुरक्षा निकायका बासलका अनुसार इजरायली विस्फोटक ड्रोनले नासेर अस्पतालको एक भवनलाई निसाना बनाएको थियो ।
दुई साताअघि पनि इजरायली सेनाले गाजा सहरको अल–सिफा अस्पताल नजिकै गरेको हमलामा परी अलजजिराका चार जनासहित ६ पत्रकार मारिएका थिए । संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयले पत्रकारको ज्यान जाने गरी भएका निरन्तरका हमलाको निन्दा गर्दै यसलाई अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन भनेको छ । तर इजरायल रक्षा बल (आईडीएफ) ले भने हमलामा मारिएका अलजजिराका रिपोर्टर अनस अल–सरिफ हमासमा आतंकवादी सेलको प्रमुखका रूपमा काम गरेको दाबी गर्दै आएको छ । तर उक्त दाबीलाई इजरायलले हालसम्म पुष्टि गर्न भने सकेको छैन ।
![20 dead, including five journalists in Israeli attack [UPDATE]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/mariam-dagga-1-mohammed-salama-2-ahmad-abu-aziz-3-hussam-al-masri-4-moaz-abu-taha-5-2582025063216-1000x0.jpg&w=1001&h=0)