इरानले साइबर आक्रमण गर्न सक्ने अमेरिकी सुरक्षा एजेन्सीहरुको चेतावनी

असार १६, २०८२

कान्तिपुर संवाददाता

US security agencies warn that Iran may launch a cyber attack

काठमाडौँ — अमेरिकी सरकारका कानुन कार्यान्वयन इकाइहरुले इरान समर्थित र साइबर समूहहरु र ह्याकरहरुले साइबर आक्रमण गर्न सक्ने जोखिम औंल्याएका छन् । साइबर सेक्युरिटी एण्ड इन्फ्रास्ट्रक्चर सेक्युरिटी एजेन्सी, डिफेन्स डिपार्टमेन्ट, संघीय जाँच ब्युरो (एफबीआई) र राष्ट्रिय सुरक्षा निकायले संयुक्त रुपमा यस्तो बताएका हुन् ।

उनीहरुले १२ दिने इजरालय-इरान युद्ध र यसमा अमेरिकाको संग्लनता रहेको पृष्ठभूमि बुझाउँदै विद्यमान भूराजनीतिक अवस्थामा इरान समर्थित साइबर समूहले अमेरिकी उपकरण र नेटवर्क लक्षित साइबर आक्रमण गर्न सक्ने सम्भावना औंल्याएका छन् ।

उनीहरुले भनेका छन्, 'इजरायलसँग साझेदारी गरिरहेका अनुसन्धान र प्रतिरक्षासँग सम्बन्धित कारखाना बढी जोखिममा रहेका छन् ।' ह्याकर समूह र इरानी सरकारसँग सम्बन्धित समूहले नियमित रुपमा अमेरिकी साइबर नेटवर्कका कमजोरी केलाउँदै इन्टरनेट डिभाइसका सेवा अवरुद्ध पार्ने गरी आक्रमण गर्न सक्छन् । 

पछिल्ला केही महिनामा इरान समर्थित ह्ययाकर समूह सक्रिय भएको र तिनले अनलाइन साइट डिफेसमेन्ट अर्थात वेबसाइटमा भएका सामग्री परिवर्तन गर्ने वा होमपेजमा आफ्नो सन्देश वा अन्य सामग्री राख्न सक्ने भन्दै सचेत गराइएको छ । ह्याकरहरुले डिजिटल प्लाटफर्मबाट चोरिएका संवेदनशील सूचना सार्वजनिक गर्ने अथवा वेबसाइट, सर्भर वा नेटवर्कमा अनधिकृत पहुँच पुर्‍याएर त्यसमा अरुको प्रवेश रोक्ने काम गर्न सक्ने जस्ता काम बढाउन सक्ने भनिएको छ । रोयटर्सका अनुसार इरानी ह्याकिङ समूहले अघिल्लो राष्ट्रपतिय निर्वाचनको पूर्वसन्ध्यामा अमेरिकी निर्वाचनसम्बन्धी वेबसाइट र मिडिया आउटलेटमा निगरानी बढाइरहेको उल्लेख गरेको थियो । 

जारी सूचनामा सन् २०२३ र २०२४ मा पनि इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्सले इजरायली सूचना प्रविधिमा आधारित सेवामा आक्रमण गर्ने गरेको विगत पनि उल्लेख गरिएको छ । इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स  इरानको सैन्य संगठनको एक अंग जस्तै हो । यसलाई सन् २०१९ मा अमेरिकाले विदेशी आतंकवादी संगठनको सूचीमा राखेको थियो । 

इरान र इजरायलले वर्षौंदेखि एकअर्काविरुद्ध साइबर आक्रमण गर्दै आएका छन् । अमेरिकी अधिकारीहरूले इजरायलसँग सम्बन्ध भएका अमेरिकी संगठनहरू यो द्वन्द्वको चपेटामा पर्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।  सन् २०२३ मा इरानले इजरायली शिक्षा र प्रविधि सम्बन्धित नेटवर्कमा साइबर आक्रमण गरेको थियो ।

हालै भएको १२ दिने युद्धका क्रममा इजरायली ह्याकिङ समूहले इरानी बैंकमा साइबर आक्रमण गरेका थियो ।इरानको सरकारी सञ्चारमाध्यम फार्सले साइबर आक्रमणका कारण सेपाह बैंकको सेवा अवरुद्ध भएको बताएको थियो । इरानभरि पेट्रोल पम्पहरूको कारोबारमा बढी प्रयोग हुने यो बैंकको सेवा अवरुद्ध भएपछि त्यसको सोझो असर इन्धन वितरणमा परेको थियो ।

इरानले साइबर आक्रमणको जोखिम रहेको भन्दै युद्धका बेला ह्वाट्सएप अकाउन्ट डिलिट गर्न निर्देशन जारी गरेको थियो । सरकारी टेलिभिजनबाटै नागरिकहरुलाई सुरक्षाका र गोपनियताको सुरक्षाका लागि ह्वाट्सएप डिलिट गर्ने सूचना जारी गरिएको थियो । 

कान्तिपुर संवाददाता

Link copied successfully